१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक महिनामा एक अर्ब तीन करोड राजस्व संकलन

रसुवा – रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

यो साउन महिनाको लक्ष्यभन्दा १२०.२५ प्रतिशत बढी हो। कार्यालयले साउन महिनामा ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ लक्ष्य राखेको थियो। गत वर्ष यही अवधिमा २६ करोड चार लाख ७७ हजार रुपयाँ राजस्व संकलन गरेको थियो।

नाकामा सडक अवरुद्ध नभएका कारण राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘गत वर्ष सडक अवरुद्ध हुँदा साउन र भदौमा राजस्व संकलन घटेको थियो,’ उनले भने, ‘यसपटक सडक अवरुद्ध नभएका कारण राजस्व वृद्धि भएको हो।’    रसुवागढी भन्सार कार्यालयले यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

रसुवागढी नाकाबाट रेडिमेड सामग्री, इलेक्ट्रोनिक सामग्री र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भइरहेको छ। सामग्रीको आयात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

रसुवागढी नाकाबाट सामग्रीको आयात बढेको र भन्सार मूल्यांकनमा वृद्धि भएसँगै राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत खड्काले बताए। राजस्व बढ्नुमा सरकारले नीति परिवर्तन हुनु, सामग्रीको मूल्यांकनको पार्ट बढ्नु, विदेशी मुद्राको भाउ बढ्नु र विकास निर्माणका सामग्रीको आयात बढ्नु हो।

आर्थिक वर्ष २०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आर्थिक वर्ष २०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आथिर्क वर्ष २०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामान, मैदा, चिउरालगायतका सामग्री निर्यात भइरहेको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App