१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चौकी आक्रमणका दोषीलाई प्रहरी संरक्षणको आरोप

वीरगन्ज - गत पुस ३ गते पर्साको जगरनाथपु गाउँपालिकामा पर्ने भारतीय सीमानजिकको पाँडेपुर चौकीमा डिजेल तस्कर समूहको आक्रमण जिल्लाको लागि असमान्य थियो। घटनाले गर्दा सो क्षेत्र तीन दिन तनावग्रस्त बन्यो। प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर फरार रहेका अभियुक्त गाउँमा खुलेआम घुमिरहेको भन्दै घटनाको ७ महिनापछि सो गाउँका स्थानीय सोमबार सदरमुकाम वीरगन्ज आइपुगेर पत्रकार सम्मेलन गरेका छन्। खबर गर्दासमेत आरोपीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको स्थानीयको आरोप छ।

नेपालबाट भारततिर डिजेल तस्करी गर्दै गरेको अवस्थामा त्यतिबेला प्रहरीले नियन्त्रणमा लिन खोज्दा सीमा आरपारका तेल तस्करले आक्रमण गरेका थिए। घटनामा दुईजना प्रहरी सहायक निरीक्षक सहित चारजना प्रहरी गम्भीर घाइते भएका थिए। तेल तस्करले प्रहरीको साथमा रहेको राइफल बन्दुक र पेस्तोल पनि लुटेर भागेका थिए। उग्र बनेको अवस्था शान्त गर्न अरु प्रहरी इकाइबाट पठाइएको प्रहरी बलसमेत अपुग हुँदा जिल्लाबाट नै प्रहरी टोली खटाइएको थियो। मध्यस्तकर्ताको पहलमा अर्को दिन लुटिएका बन्दुक फिर्ता भयो। उक्त घटनामा संलग्न २९ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेपछि उनीहरू गाउँ छाडेर फरार भएका थिए।

२९ जनामध्ये पाँडेपुरका ६ जना आफैं पर्सा जिल्ला अदालतमा हाजिर भएपछि अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका थिए। बाँकी २३ जना फरार भई भारतको विभिन्न ठाउँमा ७ महिनादेखि लुकीछिपी बस्दै आएका थिए। तीमध्ये ५ जना दुई हप्ताअघि गाउँ फर्किएका छन्। स्थानीयका अनुसार यसबारे प्रहरीलाई खबर गर्दा पनि उनीहरु पक्राउ परेका छैनन्। दुई हप्तापहिले भारतबाट गाउँ फर्किएका फरार आरोपीले प्रहरीलाई खबर गरेको भन्दै ज्यान मार्ने धम्कीसमेत दिँदै आएको स्थानीय नसरुल्लाह गद्दीले बताए। वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरी गद्दीसहितकाले यस्तो बताए। उनीहरूका अनुसार घटनामा संलग्न भई फरार भएका पाँडेपुरकै भुलाइ राउत गद्दी, फताब राउत गद्दी , अलीअहमद राउत गद्दी, लालबाबु राउत गद्दी र रजिस् राउत गद्दी अहिले गाउँमा आएर धम्की दिँदै हिँडेका छन्।

‘उनीहरूले हामीलाई मार्ने धम्की दिँदै हिँडेका छन्, ’पत्रकार सम्मेलनमा नसरुल्लाहले भने, ‘यसबारेमा मैले प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई भेटेरै जानकारी गराइसकेको छु, अहिलेसम्म उनीहरू पक्राउ भने परेका छैनन ।’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको बताए। फरारमध्ये केही अभियुक्त गाउँ फर्किएको भन्ने खबर आएपछि उनीहरूलाई पक्रन प्रहरी खटाइसकेको उनको दाबी छ।

प्रकाशित: ३ भाद्र २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App