१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक मर्मत

धुन्चे स्याफ्रु सडकखण्डको खोपाङ भीरमा सोयलिङको काम गरिँदै

रसुवा - सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरी रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु गरिएको छ। सो सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएकाले मर्मत सुरु गरिएको हो।

शनिबार सडक मर्मत गर्न नौ जना सशस्त्र प्रहरी र पाँचजना डिभिजनका कर्मचारी परिचालन गरिएको थियो। यसका लागि गोसाइँकुण्ड गाउँपालिकाले एउटा ट्रक उपलब्ध गराएको थियो।

गत साउन २१ गतेदेखि मर्मत सुरु गरिएको भने पनि हालसम्म सडकका कुनै पनि स्थानका खाल्डा पुरिएका छैनन्। जिल्लामा सडक डिभिजन कार्यालय नहुँदा प्रभावकारी रूपमा काम हुन नसकेको गुनासो आएको छ।

हिउँदको समयमा काम नगर्ने र वर्षाको समयमा मात्रै काम गर्ने प्रचलन अहिले पनि दोहोरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले धेरै बिग्रिएको ठाउँमा मात्रै सुरक्षाकर्मी परिचालन गरेर काम गरिने बताए। बाँकी ठाउँमा सडक डिभिजन कार्यालयले आफैंले गर्ने उनको भनाइ छ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक भए पनि संघीय सरकारबाट न्यून बजेट आउँदा आवश्यक ठाउँमा पनि सडक सुधारको काम गर्न नसकिएको डिभिजन प्रमुख नीरज शाक्यले बताए। सडक मर्मतका लागि कामदार नपाउनु अर्को समस्या रहेको उनले जानकारी दिए।

जिल्लामा दैनिक ज्याला एक हजार रुपैयाँभन्दा कम नभएको र सोअनुसार ज्याला दिन नसकिने कार्यालयले जनाएको छ। स्याउबारी स्याफ्रु सडकखण्डमा दर्जनौं खाल्डा परेका छन्। शनिबार खोपाङ भीरको उकालोमा १५ मिटर रक सोयलिङ गरिएको छ। सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक डिभिजनका कर्मचारीसहित करिब ३० जना खटाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

स्याउबारी, राम्चे, मूलखर्क तथा खोपाङ भीरमा सवारी सञ्चालन गर्न नसकिएको चालक प्रेम बुलुनले बताए। ‘यी खण्डमा सवारी उक्लन नसक्दा दैनिक रूपमा धकेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि सबैको ध्यान जानुपर्छ।’

 

प्रकाशित: २ भाद्र २०७६ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App