१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन

लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा उत्रिएका प्रदर्शनकारी र उपस्थित सर्वसाधारण । तस्बिरः नागरिक ।

चितवन - जिल्ला प्रहरी कार्यालय चितवनअघि शनिबार पनि बिहानैदेखि रवि लामिछानेका समर्थकहरू प्रदर्शनमा उत्रिए । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकर्ता र प्रहरी बीच पटक–पटक झडप भएको छ । प्रदर्शनकारटाउन प्रहरीले लाठी प्रहारसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । बिहान करिब ११ बजेतिर प्रहरीलाई परीक्षाको ड्युटीमा छाडेर फर्कंदै गरेको जिल्ला प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए ।

चौबिसकोठीबाट अस्पताल रोड हुँदै कार्यालय फर्किंदै गरेको ना१ज १२७१ नम्बरको गाडीमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट गाडीको सिसा चर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रहरीको गाडीमा तोडफोड भएपछि प्रहरीले लाठी प्रहार गरेर भीडलाई हटाएको थियो । भीड हटाउन प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । त्यस समय एक महिला असईसमेत सामान्य घाइते भएको कोइरालाले बताए ।

‘प्रहरीको गाडीमा ढुंगा प्रहार भएपछि सामान्य बल प्रयोग गरेर भीडलाई हटाएका थियौं,’ उनले भने, ‘दिनभरि प्रदर्शन भइरहेको छ, प्रहरीले संयमता अपनाएको छ । दिउँसो साढे चार बजेतिर पनि प्रदर्शनकारी प्रहरी कार्यालय नजिक आउन खोजेपछि र प्रहरीमाथि ढुंगा प्रहार गरेपछि ढाल ठटाएर प्रदर्शनकारीलाई लखेटिएको प्रवक्ता कोइराला बताउँछन् । लामिछानेका समर्थकले लामिछानेको रिहाइको माग गर्दै दिनभरजसो, प्रहरी कार्यालय, अस्पताल रोड, चौबिसकोठीमा प्रदर्शन गरेका थिए । चौबिसकोठीमा लामिछानेको समर्थन र रिहाइको माग गर्दै प्रदर्शनकारीले आमसभासमेत गरेका थिए । आमसभाको क्रममा केहीबेर सवारी आवागमनमा अवरोध भएको थियो ।

यस्तै, पत्रकार शालिकराम पुडासैनीको पक्षमा समेत प्रदर्शन गरिएको छ । शनिबार बिहान चौबिसकोठीमा पुडासैनीको न्यायका लागि भन्दै प्रदर्शन भएको छ । घटनाको अनुसन्धानलाई प्रभावित हुने गतिविधि भएको भन्दै निष्पक्ष छानबिनको मागसहित प्रदर्शन गरिएको हो । छानबिन गर्न देउ, अपराधलाई राजनीतीकरण नगरौं, पुडासैनीले न्याय पाउनैपर्छ, दोषीलाई कारबाही गर लगायत माग लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित होटेल कंगारुमा साउन २० गते राति मृत फेला परेका थिए । आत्महत्या गरे भनिएका पत्रकार पुडासैनीको मृत्यु हुनुअघि उनको मोबाइलमा रेकर्ड गरिएको भिडियो बुधबार सार्वजनिक भएको थियो । भिडियोमा अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलका कारण आफूले मर्नुपरेको मृतक पुडासैनीले बताएका छन् । पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले रवि लामिछानेसहित तीनैजनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

तीनैजनालाई बिहिबार काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पुडासैनीको मोबाइलमा भेटिएको भिडियो प्रहरी प्रधान कार्यालयको डिजिटल फ्लोरेन्सिक ल्याबबाट जाँच गरेको रिपोर्ट चितवन प्रहरीले प्राप्त गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट लिन प्रहरी कार्यालयको टोली काठमाडौं गएको प्रवक्ता कोइराला बताउँछन् । प्रदर्शनकारीलाई शुक्रबार जसरी प्रहरी कार्यालयको गेटमै आएर विरोध गर्न भने शनिबार प्रहरीले दिएन । शान्ति, सुरक्षा कायम गर्न कार्यालयले ठूलो संख्यामा प्रहरी खटाएको छ ।

प्रकाशित: १ भाद्र २०७६ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App