२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

काफल चरीको भोज

ऋषिराम पाण्डे

वसन्त ऋतु आएको यसपटक काफल चरीले ढिलो मात्र थाहा पाई। साथीहरू काफल पाक्यो ! काफल पाक्यो ! भनी मीठो स्वरमा गाउन आनन्दित भएको पनि बल्ल उसले चाल पाई। उसले आफ्नो जोडी भाले चरासँग भनी, ‘अब वसन्त लागिसकेछ। हामी कहिले जाने वन घुम्न ?’ काफल चराका दम्पती वसन्त ऋतु लाग्नासाथ कुनकुन वनमा काफल पाक्न थाले ? वनका कुनकुन रुखमा लटरम्म काफल फलेका छन् ? घुमीफिरी हेर्थे। अनि लटरम्म पाकेका रुखमा आफ्ना हुर्काउला बचेरालाई पनि लैजान्थे र पेटभरि काफल खाएर रमाइलो गर्थे।

यस वर्ष पनि त्यसैगरी काफल चरीका दम्पती वनतिर घुम्न निस्के। दिनभरि काफल खाँदै साथीहरूसँग हाइहेलो गर्दै वन घुमिरहे। बेलुकीपख बचेराका लागि केही काफल लिएर गुँडमा फर्के। पहिलो दिन मीठो काफल खान पाएर बचेराहरू पनि खुब खुसी भए।

राति दम्पती चरा एक आपसमा कुरा गर्न थाले।  ‘हेर बुढी, यस वर्ष वनमा काफल धेरै फलेका रहेछन्। त्यसैले हाम्रा छिमेकी साथीहरूलाई पनि बोलाएर काफलको भोज खुवाएर रमाइलो गर्नुपर्छ है !’ भाले चराले भन्यो। भोज खुवाउने र रमाइलो गर्ने कुरामा पोथी चरा किन पछि हट्थी र ? उसले उत्तिखेर नै समर्थन जनाई।

भोलिपल्टदेखि नै भालेपोथी दुवै मिलेर मीठामीठा काफल टिपेर जम्मा गर्न थाले। वरिपरिका छिमेकी चराहरूलाई भोजको निमन्त्रणा पनि दिए। भोज खाने दिन कहिले आउला भन्दै बचेराहरू औँला गन्न थाले। तोकिएको दिनमा निम्तो मान्न चिबे, जुरेली, तित्रो,  धोबिनी, ढुकुर, भँगेरो, भद्राई, मैना, लामपुच्छ«े, सारौँ, सुगा जस्ता धेरै चराहरू जम्मा भए। रङ्गीचङ्गी चराहरूले चउरै बडो रमाइलो देखियो। सबै चरालाई अनौठो र नयाँ अनुभव भइरहेको थियो। खुसी पनि लागिरहेको थियो।

निम्तारु चराहरूलाई स्वागत गर्दै काफल चरा दम्पतीले वृद्ध लामपुच्छ«े चरालाई भोजको उद्घाटन गर्न आग्रह गरे। अन्य चराहरू थपडी बजाउन थाले। लगत्तै सबै चराहरू खुसीका साथ गाउँदैनाच्दै भोजको मजा लिन थाले। यसै अवसरमा वृद्ध लामपुच्छे«ले खुसी व्यक्त गर्दै भन्यो, ‘प्यारा साथीहरू ! हामीले इतिहासमै आज नयाँ अनुभव गरिरहेका छौँ। रमाइलो दिनको थालनी गरेका छौँ। यो नयाँ कामका लागि दम्पती काफल चरालाई मुरीमुरी धन्यवाद छ।’

त्यसरी नै अन्य चराहरूले पनि काफल चराको प्रशंसा गरे।आउने वर्षहरूमा यसरी नै पालैपालो भोजको आयोजना गर्ने सल्लाह गरे। अर्काे वर्ष जुरेलीले भोज गर्ने जिम्मा लियो। अरू चराहरूले परर ताली बजाए। धेरै चराहरूको रमाइलो भेटघाट र भोज देखेर जङ्गलका अन्य जनावरहरू स्याल, जरायो, खरायो, दुम्सी, मृग, बाँदर, चितुवा आपसमा हेराहेर गर्न थाले।

प्रकाशित: ३२ श्रावण २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App