१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोसाइँकुण्ड पुगे नाै हजार तीर्थयात्री

रसुवा - जनैपूर्णिमाको अवसरमा नौ हजार तीर्थयात्रीले गोसाइँकुण्ड मेला भरेका छन्। १० दिनसम्म चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ। सोही तथ्यांकअनुसार धुन्चे हुँदै ८ हजार २ सय ४, सुन्दरीजल हुँदै ८ सय ८६ र उर्लेनी हुँदै ७७ जना गोसाइँकुण्ड गएका छन्। ती तीर्थयात्रीमध्ये ४४ जना विदेशी हुन्। पछिल्लो समय गोसाइँकुण्डमा बाह्रै महिना तीर्थयात्री आउने क्रममा वृद्धि भएकाले मेलाकै बेला भने पहिलेको तुलनामा तीर्थयात्री घटेको स्थानीयको बताइएको छ।

छुट्टै व्यवस्था नगरिने भएकाले मेलामा तीर्थयात्री कम आउने गरेका स्थानीय होटल व्यवसायी निसान गजुरेलले बताए। मेलाको समयलाई लक्ष्य गरेर विभिन्न प्याकेज ल्याउन सके तीर्थयात्रीको आगमन बढ्न सक्ने उनको भनाइ छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिले यो वर्ष १५ हजार तीर्थयात्री आउने अनुमान गरेको थियो। उनका अनुसार यसपटक सडकखण्ड अवरुद्ध पनि नभएको, पदमार्ग सुरक्षित रहेको र कम वर्षाका कारण तीर्थयात्रीको संख्या बढ्ने अनुमान गरिएको थियो।

चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ।

मेलाको बेलामा बढी भीडभाड हुने र अन्य समयमा सहज हुँदा मेलामा भन्दा अरू समयमा तीर्थयात्री बढी आउने गरेको समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। यसपटक तीर्थयात्रीलाई खान तथा बस्न ७० वटा थर्पु निर्माण गरिएको थियो। धार्मिकस्थल गोसाइँकुण्ड जान धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्न तीनवटा मुख्य बाटा छन्।

काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो सबैभन्दा बढी चल्तीमा देखिन्छ। काठमाडौंबाट धुन्चेसम्म गाडीमा पुग्न सकिन्छ सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै गोसाइँकुण्डसम्म पैदलयात्रा गर्न सकिन्छ।

त्यसैगरी काठमाडौं–सुन्दरीजल/हेलम्बु–ठाडेपाटीको बाटो पनि यात्रुले प्रयोग गर्दै आएका छन्। धेरै कम यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनै पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन। कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन्।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूलधाराको उत्पत्ति भई त्यसैको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको किंवदन्ती पाइन्छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App