१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सौराहाका हात्तीलाई सबैको माया

हात्ती दिवसको अवसरमा हात्तीलाई मनपर्ने खानेकुरा खुवाइँदै। तस्विर ः सविता÷नागरिक

चितवन - हात्तीले सौराहालाई विश्वसामु चिनाएको छ।  सौराहाको पर्यापर्यटनमा हात्तीको महत्व धेरै छ।  हात्ती चढेर गरिने घुमघाम (हात्ती सफारी) कै लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक अत्यधिक मात्रामा सौराहा आउँछन्।  तसर्थ हात्तीलाई सोमबार सौराहामा विशेष माया दिइएको छ।

‘विश्व हात्ती दिवस’को अवसरमा सौराहामा हात्ती सफारीमा प्रयोग गरिने हात्तीहरूलाई बाघमारा सामुदायिक वनको चउरमा जम्मा गरियो।  समूहमा राखेर भाग लगाएर हात्तीका मनपर्ने खानेकुरा खुवाइयो।  रत्ननगर नगरपालिकाका मेयर नारायण वनले धानलाई घाँसमा डल्लो पारेर बनाइएको हात्तीको प्रिय खानेकुरा कुची पुजाकली र अनारकलीलाई खुवाए। 

हात्तीलाई दिइएका खानेकुरामा कुचीसँगै बन्दा, फर्सी, स्याउ, केरा, काँक्रो, सक्खर राखिएको थियो।  सौराहा घुम्न आएका विदेशी र स्वदेशी पर्यटकले पनि आफ्नै हातले हात्तीलाई खानेकुरा खुवाएर रमाइलो गरे।  यसरी सामूहिक रूपमा एकै पटक धेरै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउने काम हरेक वर्ष हात्ती महोत्सवमा गरिने हात्तीको वनभोजमा गरिन्छ।  हात्ती दिवसको दिन त्यसैको झल्को दिने गरी हात्तीलाई माया गरेर खानेकुरा खुवाइएको हो।

विश्व हात्ती दिवस सन् २०१२ मा क्नानडाबाट सुरु गरिएको हो।  विश्वमा अहिले आठौं पटक मनाइँदै गरिएको दिवस नेपालमा भने पहिलो पटक मनाइएको बाघमारा सामुदायिक वन अध्यक्ष जितु तामाङ बताउँछन्।  सौराहामा गरिने हात्ती सफारी बाघमारा सामुदायिक वनमा गरिन्छ।  वनमा २०५३ सालको भदौ २२ गते सोनाकली हात्तीबाट पहिलो पटक हात्ती सफारी गर्न थालिएको उनले जानकारी दिए।

  त्यसको भोलिपल्ट पाँचवटा हात्तीबाट सफारी थालिएको थियो। ‘बाघमारा सामुदायिक वन हात्तीका कारणले अहिले संसार प्रसिद्ध बनेको छ, हात्तीले गर्दा नै आर्थिक आम्दानी बढेको छ,’ उनी भन्छन्, ‘पर्यापर्यटन सञ्चालनमा सहयोगसँगै सामुदायिक वनको मुख्य आर्थिक स्रोत नै हात्ती सफारीबाट आउने शुल्कबापतको रकम रहेको छ। ’ संसारमा पाइने दुई प्रकारका हात्ती अफ्रिकी र एसियालीमध्ये एसियाली हात्तीलाई सफारीमा प्रयोग गर्ने गरिएको छ।

नेपाली जंगलमा करीब दुई सयको संख्यामा हात्ती रहेका छन्।  जंगली र घरपालुवा गरी करीब पाँच सयको संख्यामा हात्ती रहेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए।  चितवनमा निजी स्तरबाट मात्र करिब एक सयको संख्यामा हात्ती पालिएका छन्।  ८० वटा हात्ती सौराहा क्षेत्रमा मात्र रहेका छन्।  व्यवसायीले हात्ती पाल्नुभन्दा अगाडि भारतबाट भाडामा ल्याएर समेत हात्ती सफारी गर्ने गरिएको थियो।  ‘चितवनको पर्यटन नै हात्तीमा निर्भर छ,’ उनी भन्छन्, ‘सफारी पर्यटनलाई व्यवस्थित गर्न एक दशक अघिदेखि सहकारीमार्फत काम गर्दै आएका छौं।

राष्ट्रिय प्रकृति संररक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछाने अहिले जंगली हात्तीसमेत संकटमा परेको बताउँछन्।  जंगली हात्ती कम्तीमा एक सय किलोमिटरदेखि दुई हजार किलोमिटरको सेरोफेरोमा ओहोरदोहोर गर्ने गर्छ।  पछिल्लो १० वर्षमा मानवीय कारणले नेपालमा १५ वटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App