१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बजारमा तीज केन्द्रित नयाँ डिजाइन

काठमाडौं - हिन्दू नारीहरूको पर्वको रूपमा परिचित तीज नजिकिँदै जाँदा दर खाने सुरू भइसकेको छ । यसलाई केन्द्रित गरेर राजधानी वरपर रहेको विभिन्न बुटिकहरूले नयाँ फेसनको ट्रेन्डअनुसारको ड्रेस तयार गरिरहेका छन् । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएसँगै नयाँ–नयाँ डिजाइनको ड्रेस बुटिकमा राख्न थालेका छन् ।

टंगालस्थित दीपा क्रियसनकी डिजाइनर दीपा गौतम तीजलाई केन्द्रित गरेर साडी, ब्लाउज र लेहेंगाका नयाँ डिजाइन बजारमा ल्याउन व्यस्त छिन् । ‘तीजलाई केन्द्रित गरेर ड्रेस किन्न आउने ग्राहकहरूको रोजाइमा रातो साडी धेरै पर्ने गरेको छ । रातोका विभिन्न प्रकारका रंगलाई प्राथमिकतामा राखेर नयाँ डिजाइनका साडी, लेहेंगा र कुर्ताको सेट तयार गरिरहेका छौं,’ उनले भनिन् । उनका अनुसार तीजमा साडी, लेहेंगा र कुर्ता सुरवालको बिक्री धेरै हुने गरेको छ ।

विवाहित महिलाले रातोबाहेक सुन्तला, कलेजी, रानी र गुलाफी मनपराउने उनले बताइन् । बदलिँदो समयसँगै महिलाहरूको रोजाइ फरक हुँदै गएको छ । ‘बजारमा हलुका खालको साडीहरूको माग बढेको छ ,’ उनले भनिन् ।

मृगतृष्णा फेसन हाउसकी डिजाइनर तिर्सना गुरुङलाई तीजमा ग्राहकको मागअनुसारका ड्रेस तयार भ्याइनभ्याइ भएको छ । ‘ग्राहकहरू तीजलाई केन्द्रित गरेर लेहेंगा र कुर्ताको सेट किन्न आइरहेका छन् । तुलनात्मक रूपमा साडी किन्न आउनेहरू कम छन् । साडी किन्नेमा सिम्पल डिजाइन रुचाउने धेरै ग्राहक छन्,’ उनी भन्छिन्, ‘भद्दा रंगको तुलनामा ग्राहकहरूको रोजाइमा सिम्पल रंगका ड्रेसहरू परेका छन् ।’

हाँस्य कलाकार दीपाश्री निरौला पछिल्लो समय गाई जात्राको कार्यक्रमको रिहर्सलमा व्यस्त छिन् । उनलाई दर खाने कार्यक्रममा सहभागी हुने चटारो उत्तिकै छ । तीजलाई केन्द्रित गरेर उनले कुर्ताको सेट, साडी र वान पिसको जोह गरिसकेकी छिन् ।

‘मुन्द्रेको कमेडी क्लब’ले उनको तीजको ड्रेसहरूको जोह गरिदिएको हो । ‘तीजलाई केन्द्रित गरेर आयोजना हुने दर खाने कार्यक्रमहरूमा पोहोरसम्म कुर्ता सेटमा देखिएको थिए । यस पटक कुर्ताको सेट, साडी र वान पिसको जोह ‘मुन्द्रेको कमेडी क्लब’ ले गरिदिएको छ । सम्भवतः यसपटक आयोजना हुने तीज र दर खाने कार्यक्रमहरूमा तिनै ड्रेसहरू लगाउनेछु ।’ तीजमा रातो साडी मनपर्ने भएपनि कुर्ता सुरवाल सजिलो हुने अनुभव उनले सुनाइन् ।

 

प्रकाशित: २६ श्रावण २०७६ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App