१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

इलाका प्रहरी कार्यालय हरकठवाको जीर्ण भवन। तस्बिर: टंक/नागरिक

सर्लाही - जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्।  दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

त्यस्तै अकासेपानी छिरेर माथिल्लो तला आहाल हुने गरेको इलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी नायब निरीक्षक मोहन कटुवालले जानकारी दिए।  ‘अलि ठूलो हुरीबतास चल्न सुरु गर्नेबित्तिकै हामी सबैजना कार्यालय भवनबाहिर गोलघरमा बस्ने गरेका छौं,’ कटुवालले भने, ‘सामान्य हुरीबतासमै घर हल्लिने गरेको छ, निकै ठूलो हुरीबतास आउँदा भने त घरले थिच्ने डरले सुरक्षाकर्मीले वर्षौंदेखि यस्तै गर्ने गरेका रहेछन्। ’

पानी पर्दा कोठाभरि पानी नै पानी भएर बिजोग हुने गरेको कटुवालले गुनासो गरे।  ‘अबिरल वर्षा हुँदा त कोठाभित्रकै सामान बचाउन पनि गाह्रो हुन्छ,’ उनले भने, ‘छतबाट जताततै पानी चुहिने गरेको छ। ’ २०५८ सालमा तत्कालीन माओवादीले विस्फोट गराउँदा सो भवनको छत प्वाल परेको र अन्य क्षति पुगेपछि स्थानीयले चन्दा उठाएर सामान्य पुनर्निर्माण गरेको स्थानीय सञ्जीव सिंहले जानकारी दिए।  ‘माओवादीले भवन पड्काएपछि इलाका प्रहरी कार्यालय अन्तै सर्ने त्रासले गाउँले मिलेर रातारात चन्दा संकलन गरी २०६० सालतिरै पहिलो तला मर्मतसम्भार गर्दै त्यसैमा दोस्रो तलासमेत थपेका थियौं,’ सिंहले भने, ‘लगत इस्टिमेटविना स्थानीय मिस्त्रीहरूले आप्mनै ढंगले निर्माण गरेको पिलरविनाको तथा पातलो ढलान रहेकाले भवन असुरक्षित बन्न पुग्यो। ’ आम सर्वसाधारणलाई सुरक्षा दिने सुरक्षाकर्मी बस्ने भवन नै असुरक्षित हुनु विडम्बना भएको सिंहले बताए।

झन्डै पाँच कट्ठा क्षेत्रफल ओगटेको कार्यालयको कम्पाउन्ड वाल भने गुणस्तरीय छ।  केही वर्षअघि सांसद डा. अमरेशकुमार सिंहले आप्mनो निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बाक्लै पिलर राखेर चार फिट अग्लो कम्पाउन्ड वाल निर्माण गरिदिएका हुन्।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले सुरक्षाकर्मी बस्ने भवन जीर्ण हुँदा निकै कठिनाइ भोग्नु परिरहेको बताए।  ‘जिल्लाका धेरै युनिटका भवन जीर्ण छन्,’ उनले भने, ‘जीर्ण भवन हुँदा सुरक्षाकर्मीले निकै कठिनाइ भोग्नु परिरहेको छ। ’

हरकठवा, गोरखकाली, नारायणपुर, पर्सा, फुलजोर, धरहरा, राजघाटलगायत विभिन्न युनिट बसेका भवन कतै काठका त कतै पक्की भए पनि जीर्ण भइसकेकाले छिट्टै पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।  ‘यस वर्ष भवन नै नभएका मोहनपुर, हरिपूर्वा र सिसौटमा हाम्रै सिफारिसअनुसार नयाँ भवन निर्माण प्रक्रिया सुरु हुँदै छ,’ उनले भने, ‘अब जीर्ण भवन पनि पुनर्निर्माणका लागि माथिल्लो निकायमा पहल गर्दै छौं। ’ सर्लाहीमा इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरी ५५ वटा युनिट रहेका छन्।

प्रकाशित: २४ श्रावण २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App