१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सामाजिक अभियन्ता कुमारको भलिबलमा इन्ट्री : एसियन च्याम्पियनशीप ‘क्या गरे है’ भन्ने बनाउने

काठमाडौं– नेपालमा पहिलोपटक एसियन सेन्ट्रल जोन (मध्य एसिया) भलिबल च्याम्पियनशीप प्रतियोगिता आयोजना हुँदैछ। यहीँ साउन २५ गतेदेखि भदौ ८ गतेसम्मका लागि तय भएको प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाल भलिबल संघले उपाध्यक्ष मनोनित ग-यो। गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी निवासी कुमारराज सुवेदीलाई संघले एक महिनाअघि १ वर्षे कार्यकालका लागि उपाध्यक्ष पदमा मनोनित गरेको थियो।

लायन्स क्लबका पूर्वगभर्नर समेत रहेका सामाजिक अभियन्ता सुवेदीबाट संघले थुप्रै अपेक्षा राखेको छ। मुख्यतः मध्य एसिया च्याम्पियनशीपलाई सफलताका साथ सम्पन्न गर्ने नै हो। यो कुरा बुझेका सुवेदी पनि पद सम्हालेकै दिनदेखि सक्रिय भएका छन्। उनी ‘स्पोन्सर’ खोज्नेदेखि आफैं आर्थिक सहयोग गर्नसम्म लागेका छन्। 

‘एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशीप आइरहेको छ। यो नेपालका लागि ठूलो गौरवको कुरा हो’, उनी भन्छन्, ‘४३ वर्षमा पहिलोपटक नेपालमा हुँदैछ। यसलाई सफल बनाउन मेरो भूमिका रहन्छ।’

‘हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ।’

यो खेलका अतिरिक्त उनी भलिबललाई स्कुल कलेज र स्थानीय तहसँग जोड्ने अभियान सुरु गर्नुपर्ने पक्षमा छन्। आफ्ना योजना सार्वजनिक गर्दै सुवेदी भन्छन्, ‘एबीसी सफल बनाउन राम्रो योगदान गर्छु।भलिबल संघको संस्थागत विस्तारका लागि काम गर्ने तथा संघसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवलाई भलिबलको विकासमा लगाउनेछु।’

उपाध्यक्ष सुवेदीले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनशीपलाई सफल बनाउन आफ्नो सामाजिक नेटवर्क परिचालन गरेर प्रायोजक खोज्ने काम थालेका छन्। त्यसैगरी व्यक्तिगत रुपमा १ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

‘हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको यो प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ’, उनले भने, ‘जिम्मेवारी बोध गरेर सबै नेपाली लाग्नुपर्छ।’

कुमारको अर्काे योजना भनेको भलिबललाई स्थानीय सरकारसँग जोड्ने। उनी भन्छन्, ‘नगरपालिका र गाउँपालिकाहरुसँग बजेट छ, अधिकार छ। स्थानीय सरकार हो। उनीहरुलाई पनि केही गरौं भन्नेछ। यसलाई भलिबलको विकास र विस्तार अभियानसँग जोड्नुपर्छ। भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसलाई तल्लो तहसम्म पुर्याउनुपर्छ। हरेक नेपालीलाई जोड्नुपर्छ।’ 

‘म भलिबल खेलाडी होइन’

उपाध्यक्ष सुवेदीले आफू व्यवसायिक खेलाडी नभएको पनि स्पष्ट पारे। ‘म भलिबलको व्यवसायिक खेलाडी त होइन। स्कुलबाट छुटेपछि स्थानीय रुपमा खेलिन्थ्यो। त्यतिखेर भलिबल काठमाडौंसहित देशभर लोकप्रिय खेल थियो। जोरपाटी युवा क्लबबाट भलिबल खेलाइन्थ्यो’, उनी सम्झिन्छन्, ‘दाइहरु खेलेको देखेर खेलिन्थ्यो। त्यतिखेर क्लबले दिगम्बर बोहराजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरेर धेरै टुर्नामेन्ट खेल्यो।’

भलिबलमा जोरपाटी क्लब उपत्यकामै उत्कृष्ट थियो, जसका कारण यो खेलमा कुमारको नजाँनिदो किसिमले लगाव भएछ। तर, उनी आफूलाई खेलाडी होइन भन्छन्। ‘खेलकुदको विकासमा लाग्नुपर्छ भन्ने मेरो भावना थियो’, उनी भन्छन्, ‘यसलाई सम्बोधन हुनेगरी भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले उपाध्यक्ष पदमा प्रस्ताव गर्नुभयो। मैले स्वीकार गरे।’
‘संघमा मनोनित हुने भएपछि भलिबलका माध्यमबाट देशको सेवा गर्ने, भलिबल संघलाई सहयोग गर्ने, माथि उठाउने, विकास र विस्तारको लागि भूमिका खेल्ने अवसर पाएको ठाने’, उनले सुनाए, ‘भलिबलको विकास तथा विस्तारमा इमान्दारीपूर्वक, सकारात्मक सोंच राखेर सक्दो योगदान गर्छु भन्ने मेरो भित्री दृढता छ।’आफू अहिले भलिबलको सबल र दुर्बल पक्षको अध्ययन गरिरहेको र कमजोरीहरु सुधार्न प्रयत्न गर्ने सुवेदीको भनाई छ। 

राजनीतिभन्दा सामाजिक कार्यमा बढी सक्रिय

जोरपाटीको चामुण्डा माध्यामिक विद्यालयबाट ४३ सालमा एसएलसी पास गरेर युवा उमेरमै राजनीतिमा लागेका सुवेदी २०५४ सालपछि भने पूर्ण रुपमा सामाजिक कार्यतिर अग्रसर भए।   

२०४८ सालदेखि नै एम्नेस्टी इन्टरनेशनलमार्फत मानवअधिकारको आन्दोलनमा सक्रिय कुमार राजनीतिक छाडेर लायन्स क्लबमा जोडिए। लायन्स जोरपाटी चार्टरको संस्थापक सभापति कुमार पछि गएर गर्भनर नै बने। उनले गर्भनर हुँँदा श्रीलंकामा मेल्विन जोन्स फेलोसिप अवार्ड पनि पाए। यो बीचमा उनी एम्नेस्टी छाडेर कृष्ण पहाडीको मानअधिकार तथा शान्ति समाजमा लागेर जिल्ला सभापतिदेखि केन्द्रीय महासचिवसम्म बने। उनले एम्नेस्टीको नेपाल संयोजक बनेर सुडानको जातीय गृहयुद्धका बेला काम गरेका थिए। 

उनी अहिले पनि विभिन्न संस्थामा आबद्ध छन्। उनी भन्छन्, ‘जब संकट पर्छ अनि मलाई खोज्छन्।’ चक्र स्मृति पाठशालाको विव्यस अध्यक्ष रहेका कुमारकै नेतृत्वमा ५३ वर्षपछि चामुण्डा माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ। उनी भन्छन्, ‘मेरो जीवनकालमा धेरै संस्थामा योगदान गरे, अब भलिबललाई उचाईमा पुर्याउन कोसिस गर्छु।’ सामाजिक अभियानमा संलग्न हुँदा उनी धेरैपटक प्रहरी हिरासतमा समेत बसे। 

उनले हालसालै गिनिज वर्ल्र्ड रेकर्डमा ‘लंगेस्ट म्याराथन स्पीच’ मा नेपालको नाम खेलाउन भूमिका खेलेका थिए। सुवेदीकै पहलमा ‘लंगेस्ट म्याराथन स्पीच’ मा अनन्तराम केसीले वर्ल्ड रेकर्ड राखेका थिए। 

आफूले संसघसंस्थामा लागेर अरुलाई दुःखपीडा, चोट दिनु अधर्म (पाप) हो, अरुको परोपकार गर्नु धर्म हो भन्ने कुरा आत्मसात गरेको र मानवतावाद, मानवअधिकार, शान्ति र अहिंसा लागि आफ्नो जीवन नै समर्पित गरेको सुवेदीको भनाई छ। 

प्रकाशित: २३ श्रावण २०७६ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App