१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाईघाट–फोसिन्टार सडक सुचारु

उदयपुर– पहाडी जिल्ला खोटाङलाई राजधानी र अन्य सहरसँग जोड्ने गाईघाट–दिक्तेल सडक वर्षाले अवरुद्ध भएको दुईसातापछि खुलेको छ। असार अन्तिम सातादेखि परेको साताव्यापी अविरल वर्षाका कारण दर्जन बढी ठाउँमा पहिरो गएर अवरुद्ध भएको सडक मंगलबारदेखि सुचारु भएको हो।

लगातारको वर्षाले गाईघाट–साउने–रानीबास–छामलिङ–अँधेरी–जल्केनी–पोखरी–फोक्सिन्टार खण्डको ५३ किलोमिटर सडकमध्ये रानीबास–फोक्सिन्टार खण्डमै दर्जन ठाँउ गएको साना–ठूला पहिरोले यातायात आउजाउ रोकिएको थियो। रानीबास–अँधेरी खण्डमा गएको अँधेरी खोलानजिकैको पहिरोले सडक पुरिएपछि असार २८ गतेदेखि रोकिएको यातायात आवागमन ३ दिन मर्मत गरेपछि सुचारु भएको थियो। तर, फेरि परेको वर्षाले गाईघाटदेखि ४३ किलोमिटर टाढा जल्केनीमा खसेको लामो पहिरोले सातादिनपछि पुनः यातायात अवरुद्ध हुन पुगेको थियो।

अवरुद्ध सडक सुचारु गर्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले मर्मत गरेपछि सोमबारदेखि सडक सुचारु भएको कार्यालय प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। डिई ज्ञवालीका अनुसार लगातार ७ दिन मर्मत गरेर पहिरो पन्छाउँदै सडक सफा गरेपछि यातायात सुचारु हुनसक्ने भएको हो।

‘अविरल वर्षाले अँधेरीमा ठूलो पहिरो गएपछि असार अन्तिमदेखि यातायात अवरुद्ध हुन पुगेको सडक ३/४ दिन लगातार मर्मत गरेर सुचारु गराएका थियौं’ सडक मर्मत गरेर कार्यालय फर्केका ज्ञवालीले भने ‘लगत्तै २ किलोमिटर पर जल्केनीमा अर्को पहिरो गएर फेरि आवागमन रोकियो। एकसाता लामो रातदिनको मर्मतपछि आजदेखि गाडी चल्ने भएको छ।’ पहिले तत्काल सडक सुचारु गर्नेगरी सामान्य मर्मत गरिएकोमा पुनः पहिरोले पुरेर यातायात अवरुद्ध भएकाले यसपटक केही समय अवरोध नहुनेगरी मर्मत गरिएको उनले बताएका छन्।

गाईघाट–फोक्सिन्टार सडक अवरुद्ध भएसँगै उदयपुरतर्फ रौतामाई, लिमचुङबुङका १३ वटा वडाबासी स्थानीयलाई सदरमुकाम आउजाउ गर्न समस्या परेको थियो। त्यस्तै दिक्तेलसम्म आउजाउ गर्ने मुख्य नाका सोही सडक भएकाले खोटाङबासीलाई यसले थप पीडा दिएको सडक कार्यालयले जनाएको  छ। फोक्सिन्टारसम्म सडक सुचारु भए पनि ९ किलोमिटर टाढा रसुवा र १५ किलोमिटर टाढा भडाँरेघाटस्थित सुनकोसीका दुईवटा झोलुङ्गे पुल भएर खोटाङ सदरमुकाम दिक्तेललगायत विभिन्न स्थानीयतह पुग्न सहज भएको छ। तर, फोक्सिन्टारदेखि रसुवा र भँडारेघाटमा रहेका पुल पुग्न पनि आधदर्जन बढी ठाउँ सडक पहिरो गएर पुरिनुका साथै भत्केका कारण घण्टौं लगाएर पैदल यात्रा गर्न बाध्य हुनु परेको रसुवाका दिपक राईले बताए। उनका अनुसार फोक्सिन्टारदेखि रसुवा आउन अढाई घण्टा र भडारेघाट पुग्न थप डेढ घण्टा हिड्नुपर्छ। फोक्सिन्टार, रसुवा र भडारेघाट चनौटे पुगेपछि कोसी पारितर्फ खोटाङ र वारितर्फ रौतामाई र लिमचुङबुङका विभिन्न वडा पुग्न घण्टौं पैदल हिड्नुपर्ने अर्को समस्या छ।

स्थानीयले तत्काल सडक मर्मत गरेर यातायात सुचारु गर्न आग्रह गरे पनि तत्काल मर्मत गर्नसक्ने अवस्था नभएको जनप्रतिनिधिले बताएका छन्। फोक्सिन्टारसम्म सडक सुचारु भए पनि त्यससँग जोडेर खनिएका गाउँ जाने कच्ची सडकहरु चिनै नरहने गरी पहिराले भत्काएकाले एक/डेढ महिना सडक सुचारु हुने छाँटकाँट नरहेको रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए। सडक भत्केका कारण गाउँपालिका केन्द्र भुट्टार पुग्न र सदरमुकाम गाईघाट आउजाउ दुवै ठाउँ पुग्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाई छ। तर, मर्मत कार्य भने सुरु भईसकेको उनले बताए।

उता लिमचुङबुङ गाउँपालिकाका सबै आन्तरिक सडक भत्केर कामै नलाग्ने भएकाले सदरमुकाम र वडा–गाउँपालिका केन्द्र आउजाउ गर्न ठप्प भएको छ। छिटो आउजाउ सहज बनाउन बीच बीचबाट मर्मत कार्य सुरु भईसकेको भए पनि महिनादिनयता सडक सुचारु हुन सक्ने स्थिति नरहेको बताइएको छ। तर, स्तरोन्नति मर्मत कार्यमा लाग्दै गर्दा वर्षा भएकाले भत्केको सडकको बीच बीचमा ३ वटा स्काभेटर थुनिएकाले त्यसैले सडक मर्मत गर्न थालेको गाउँपालिका अध्यक्ष मेजर राईले बताएका छन्।  

सातादिन मर्मतपछि कामचलाउ सुचारु भएको फोक्सिन्टार नजिकैको सडकमा यात्रुबाहक गाडी। तस्विर/महेश्वर

 

प्रकाशित: २२ श्रावण २०७६ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App