१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारु साट्न कूटनीतिक पहल

काठमाडौं- भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको छ। राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट संकलन हुने ५ सय र हजार दरका करिब ३ करोड भारु साटिदिन आरबिआईलाई बुधबार पत्राचार गरेकोे जानकारी विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुुंगानाले दिए।

'भारतमा ५ सय र हजार दरका भारु नोट चलनचल्तीमा रोक लगाइएपछि त्यसको असर हामीलाई पर्नु स्वाभाविक हो,' ढुंगानाले भने, 'त्यही भएर हामीकहाँ संकलन हुने ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेका हौं।'

उनका अनुसार, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावासलाई पनि ५ सय र हजारका नोट साट्ने व्यवस्थाका लागि पहल गरिदिन बुधबारै पत्राचार गरिएको छ। 'आरबिआईको जवाफ नआएसम्म ५ सय र हजार दरका भारु नोट सटहीमा बन्देज लगाइएको छ,' उनले भने, 'बैंक तथा वित्तीय संस्थासँग भएको पाँच सय र हजारका भारु नोट संकलन भइरहेको छ। उनीहरूलाई पाँच सय र हजार दरका नोट खरिद–बिक्री तथा सटही नगर्न पनि परिपत्र जारी गरिसकेका छौं।'

राष्ट्र बैंक, विदेशी विनिमय व्यवथापन विभागले बुधबार आफ्ना बैंकिङ तथा सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, मनि चेन्जर तथा अन्य निकायलाई परिपत्र जारी गर्दै पाँच सय र हजार दरका भारतीय नोट सटही नगर्न भनेको छ। 'भारत सरकार तथा भारतीय रिजर्भ बैंकले ५ सय र हजार दरका भारतीय नोट ९ नोभेम्बर (बुधबार) देखि चलनचल्तीबाट हटाउने भएको हुँदा ती दरका नोट खरिद–बिक्री तथा सटही नगर्नू/नगराउनू हुन विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १२ लेे दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ,' विभागको परिपत्रमा उल्लेख छ।

राष्ट्र बैंकले २०७२ साउन ४ गते जारी गरेको परिपत्र संख्या ६४२ को दफा ६ को खण्ड 'क' को उपखण्ड 'अ' र 'आ' लाई बुधबारदेखि खारेज गरिएको जनाएको छ।

केन्द्रीय बैंकले भारतबाट सय दरका नोट ल्याउने भएकाले पनि नेपालमा ५ सय र हजार दरका भारतीय नोट ठूलो परिमाणमा नभएको ढुंगाानाले बताए। 'भारतबाट सय दरका भारु नोट ल्याउने हो,' उनले भने, '५ सय र हजार दरका नोट यहीँ संकलन (कलेक्सन) हुने हुन्।'

बैंकहरूलाई भारतीय मुद्रा मौज्दातको जानकारी पठाउन राष्ट्र बैंकले बुधबार बिहानै सूचना पठाएकोमा २० वटाले नभएको जानकारी गराएका छन्।

नेपालमा २५ हजार भारुसम्म ५ सय र हजार दरका नोट सटही गर्न पाउने व्यवस्था छ। सय दरका नोट साटिने भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा ५ सय र हजार दरका नोट नभएको अनुमान केन्द्रीय बैंकको छ। तर, ठूला दरका नोट भारतमा लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।

'भारतले तत्कालै नेपालमा मौज्दात भारतीय नोट साटिदिइहाल्छ भन्ने निश्चित भइसकेको छैन, भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि ती दरका नोट सटहीमा प्रतिबन्ध लगाइएको हो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'आरबिआईले नोट नसाट्ने निर्णय गर्‍यो भने ती कागजको खोस्टोमा परिणत हुनेछन्।'

भारतले चासो देखाएर नेपालमा रहेको नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग रहेका भारतीय मुद्रा थोरै मात्रामा साटिदिन सक्नेछ। करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउनेगरी प्रतिबन्ध फुकुवा गरेको थियो। 

'भारतको नोटमा उसैको अधिकार हुन्छ,' केन्द्रीय बैंकका ती अधिकारीले भने, 'नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले साटिदिएन भने त्यतिबेला केही गर्न सकिँदैन?'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै बुधबार राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको भारत सरकारले बताएको छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App