१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

वीरगन्ज - पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘भाथा धाम’ भनिने दुग्धेश्वरनाथ महादेवको मेलामा दर्शनार्थीको भिड बाक्लिएको छ।  साउन महिनाभर लाग्ने सो मेलामा खासगरी साउने सोमबार भक्तजनको विशेष घुइँचो हुने गरेको छ।  सो मेलामा दर्शनार्थीको उपस्थिति बढेको मेला समितिका विगा महतोले जानकारी दिए।

चुरे पहाडको डाँडामाथि स्थित दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न बारा र पर्साबाट मात्र नभई भारतको बिहारबाट समेत दर्शनार्थी ओइरिने गरेका छन्।  चुरेको फेदी र चारकोसे झाडीबीचको घाँसेमैदानको फाँटमा लाग्ने मेलामा भारतीय दर्शनार्थीको आकर्षण बढ्दो रहेको दर्शनार्थी दीपक तिवारी बताउँछन्।

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाण नभए पनि स्थानीय आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको बताउँछन्।  जनश्रुतिअनुसार निकै अगाडि ‘गोठालाहरूले यो पवित्र स्थान पत्ता लगाएको’ मानिन्छ।  कथाअनुसार पर्साका रैथाने थारू गोठालाले चुरेको डाँडामा विश्राम गरिरहँदा त्यसमध्ये एकजनाले त्यहाँ रहेको सेतो रंगको ढुंगा महादेवको शिवलिंग भएको सपना देखे।  उतिबेला जंगली जनावरबाट आफूलाई र पशुधनलाई जोगाउन झुन्डमै जंगलमा गाईभैंसी लिएर पस्ने चलन थियो।  उनले अरू गोठालालाई सपनाको कुरा सुनाए।  उनीहरू सामूहिक रूपमा डाँडामाथि पुगे।  सेतो शिवलिंग आकारको ढुंगाबाट दूध बगेको देखे।  उनीहरूले त्यहाँ पूजा गरेर फर्किए र त्यसपछि दर्शनका लागि जान थालिएको हो।  पहिले काठको मन्दिर बन्यो।  त्यो पुरानो आकर्षक मन्दिर भत्काएर अहिले त्यहाँ पक्की मन्दिर बनाइएको छ।

त्यहाँ पुगेर साउने झरीमा रुझेपछि दर्शनार्थी आनन्द मान्ने गर्छन्।  स्थानीय चलनअनुसारको नाँच, परम्परागत बाजा, भजनकीर्तन र चारैतिर वनभोजको माहोलले यहाँको रमझम बढाएको हुन्छ।  तर यस मेलाको व्यवस्थापनमा कसैले चासो नदिएको केही स्थानीय बताउँछन्।  ‘योजनाविहीन रूपमै विकसित भएको भाथामा भगवान् दुग्धेश्वर माहादेवको दर्शनका लागि हरेक वर्ष भिड बढिरहेको छ।  यसमा ७० प्रतिशत भारत बिहारका दर्शनार्थी हुन्छन्,’ सोनवर्षाका प्रकाश थारूले भने, ‘उनीहरूलाई यहाँको जंगल र पहाडको मनोरम दृश्यले समेत आकर्षित गर्ने गरेको छ।

’ पर्या–पर्यटनको दृष्टिकोणले नेपालकै प्रमुखमध्येको गन्तव्य बनाउन सकिने सामाजिक अभियानकर्ता तबरेज अहमद बताउँछन्।  ‘यस ठाउँको विकासका लागि रामभौरी भाथासँग आफैंमा प्रचुर साम्भाव्यता छ,’ निकुञ्जनजिक रंगपुरका पत्रकार केसी लामिछानेले भने, ‘स्थानीय समुदाय यस अवधारणासँग काम गर्न तयार छ, एउटा बृहत् योजना सरकारी स्तरबाटै बन्नुपर्छ। ’ पर्यटन प्रवर्धनका लागि आवाज उठाउँदै आएका र हाल नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष लामिछानेले मेलाको व्यवस्थापनमा सरकारी योजना बन्नुपर्नेमा जोड दिए।

रेलिङ भत्किएर १३ घाइते
यसैबीच पर्सा निकुञ्जभित्रको दुग्धेश्वर महादेव मन्दिर जानका लागि बनेको सिँढीको रेलिङ भत्किँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ।  सोमबार बिहान ७ बजे मन्दिर जान सिँँढीमा उक्लिँदै गरेका दर्शनार्थीको भिडभाडले डाँडामा सिँढीसँगै बनेको रेलिङ भाँचिएको थियो।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार घाइतेमध्ये सामान्य चोट लागेका १० जनालाई मेलास्थित स्वास्थ्य शिविरमै उपचार गरिएको छ भने तीनजनालाई वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App