१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्खामा भेलपहिरोले बर्बादी

दक्षिण ललितपुरमा पहिरो गएका सडक अवलोकन गर्दै दलका नेता र जनप्रतिनिधि ।

ललितपुर - काठमाडौं उपत्यकाको ‘कर्णाली’ भनेर चिनिने ललितपुरको दक्षिणी भेकमा पर्ने बागमती गाउँपालिकाका बासिन्दा हिउँदमा सडक खोल्दा ज्यादै हर्षित देखिन्थे।  गाउँघरमा मोटरबाटो पुगेपछि अब विकास हुन्छ भनेर ढुक्क थिए स्थानीय।  शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सामाजिक सुरक्षाका दृष्टिकोणमा पनि दक्षिण ललितपुर निकै पछाडि छ।  यहाँका गोटीखेल, प्युटार, बुखेल, मानिखेल, आस्राङ र ठूलादुर्लुङ विकट क्षेत्र हुन्।

हिउँदमा सडक खोल्दा खुसी भएका विकट क्षेत्रका स्थानीय बर्खा सुरु भएसँगै दुखी देखिन्छन्।  उनीहरूको खुसी अहिले पीडामा परिणत भएको छ।  गाउँले घर–घरमै किन मोटरबाटो पु¥यायौैं भनेर पछुताउन थालेका छन्।  हिउँदमा खोलेका सबैजसो सडकमा यतिबेला पहिरो गएको छ।  मोटरबाटोमा गएको पहिरोले गोरेटो–घोडेटो पनि पुरिदिएको छ।  पहिरोसँगैको भेलबाढीले भर्खरै रोपेको कलिलो धान र अन्य तरकारीका बिरुवा पुरेको छ।  सबैतिर पहिरो खसेपछि सहरसँगको सम्बन्ध टुटेजस्तै भएको आस्राङका श्यामसुन्दर तिम्लिसिनाले बताए।  उनी भन्छन्, ‘दक्षिण ललितपुरमा मोटरबाटोका कारण पहिरो जाने क्रम बढेको छ। 

मोटरबाटोको भितो खसेर हिँड्ने बाटै छैन।  मन्त्री र सांसद पनि सहरमै बस्छन्।  गाउँको दुःख गाउँलेले मात्रै भोग्नुपर्ने बाध्यता छ। ’ पहिरोले बागमती गाउँपालिका–६ मा पर्ने आश्राङ छिर्ने मोटरबाटो पुरिएको छ।  धानखेत बागमतीको बाढीले पुरेको छ।  ‘बाढीले हजारौं क्विन्टल धान तथा मकै आउने खेत बगाइदिएको छ, असारभरको मेहेनतको फल खेर गएको छ,’ स्थानीय कृष्ण बलले भने, ‘अब धान रोप्ने सिजन पनि गइसकेको छ।  यसपालि यस क्षेत्रका किसानलाई मोटरबाटोकै कारण झरेको पहिरो र भेलले पीडा दियो। ’ उनका अनुसार ललितपुरलाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो रुट कान्तिलोकपथ फराकिलो पार्न डोजर चलाएका कारण ठाउँठाउँमा पहिरो गएको हो।  भेलपहिरोले अन्नबाली पुरिएको छ, गिम्दीमा घर पुरिएको छ।  ६ दशकपछि बनेको कान्तिलोकपथ सडक पनि जोखिमपूर्ण रहेको बलले बताए।

बागमती गाउँपालिकाकै पर्यटकीय क्षेत्र बाँझगाउँ–चमेरेगुफा जोड्ने सडकको अवस्था पनि बेहाल छ।  डोजरले खनेको सडकमा अहिले पहिरैपहिरो छ।  मोटरबाटो बन्द भएपछि सदरमुकाम आउजाउ गर्न निकै असहज भइरहेको स्थानीय निरुमाया तामाङले बताइन्।  उनले मगरगाउँ, बाँजगाउँ, हुलाक भन्ज्याङ क्षेत्रमा पनि पहिरो गएको बताइन्।  ‘पहिरोले बगाएर ल्याएको ग्राभेल माटो र भेलले खोला र गहिरो क्षेत्रमा पर्ने धानबाली सबै पुरिदिएको छ,’ उनले सुनाइन्, ‘गाउँ–गाउँ जोड्ने पुराना गोरेटा पनि पुरिएका छन्, पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ। ’

आधा बाटोबाटै फर्किए नेता
दक्षिण ललितपुरका गाउँ–गाउँमा बर्खायाममा पुग्न कठिन छ।  गाउँघरसम्म पुग्न पानी नपरेको मौका छोप्नुपर्छ।  गाउँका सडकमा गाडी गुड्ने अवस्था नभएपछि स्थानीय आश्राङदेखि बास बसेर तीन दिन हिँडेर सदरमुकाम लगनखेल आउँछन्।  गाउँमा सबैतिर पहिरो गएको र पहिरोमा परी स्थानीयको मृत्युसमेत भएपछि राजनीतिक दलका नेताहरु साताअघि त्यहाँ पुगे।  ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, लालकुमारी पुन, बागमती गाउँपालिका अध्यक्ष, नेकपा जिल्ला इन्चार्ज हरि दहाल, जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय भक्तपुरका रत्नेश्वर श्रेष्ठलगायत गिम्दीसम्म पुगेर फर्किए। 

गुनासो संकलन र ग्रामीण जनजीवन बुझ्न गएका आफूहरू सडकको अवस्था कमजोर भएका कारण आधाबाटोबाटै फर्किएको प्रदेश सांसद सन्जेलले बताए।  उनले ठाउँ–ठाउँमा पहिरो गएका कारण गाउँ–गाउँमा पुग्न सक्ने अवस्था नरहेको बताए।  ‘दक्षिण ललितपुर सबैतिरबाट हेपिएको छ, एक नेता वा सांसद तातिएर मात्रै हुँदैन, सबै मिलेर दक्षिण ललितपुरको विकासमा लागियो भने मात्रै त्यहाँका जनताले अलि राहत महसुस गर्न सक्छन्,’ उनले भने।

असार अन्तिम साताको बाढीले ललितपुरमा ६ जनाको ज्यान लिएको थियो।  बागमती गाउँपालिका–७ गिम्दी, प्युटार, ठूलादुर्लुङ, गोटीखेललगायत क्षेत्रमा बाढीपहिरो गएको थियो।  बाढीका कारण महांकाल गाउँपालिका–६, ठूलादुर्लुङमा बागमतीको बाढी पस्दा ९ घरपरिवार विस्थापित भए।  वडाध्यक्ष रामकृष्ण आचार्यले विस्थापितलाई अहिले बासको व्यवस्था गरिसकिएको जानकारी दिए

बागमतीको कटान दक्षिण ललितपुरमा

बागमती नदीको रुटभित्र ललितपुरका माल्टा, गिम्दी, प्युटार, आस्राङ पर्छन्।  बगमती हिँड्ने क्षेत्र साँघुरो पारिँदै गएकाले अहिले यसले बर्खामा विनाश निम्त्याउन थालेको छ।  हिँउदमा ढलमतीजस्तै देखिने बागमतीले बर्खामा विनाश निम्त्याउन थालेको प्युटारका हरि तिम्लिसिनाले बताए।  श्रीनारायण मावि गिम्दीका शिक्षक अमिरकुमार थापाले बर्खाका बेला उर्लिएर खेत कटान गर्ने बागमती हिउँदका बेला ढलमय हुने गरेको बताए।

प्रकाशित: २० श्रावण २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App