१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो त्रिशूली थ्री ‘ए’को ६० मेगावाट राष्ट्रिय प्रणालीमा

रसुवा – माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको सबै ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

शुक्रबार बिहान साढे ९ बजे यो आयोजनाको ३० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो। ३० मेगावाट यसअघि नै जोडिएको थियो। आयोजना प्रमुख फडिन्द्रराज जोशीले अब आयोजनाबाट उत्पादित सबै ६० मोगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए।

यो क्षमतासहित अब राष्ट्रिय ग्रिडमा एक हजार तीन सय २५ मेगावाट विद्युत् पुगेको छ। ‘आजदेखि हामीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेर प्रणालीमा जोडेका छौं,’ उनले भने, ‘अब विभिन्न परीक्षण सकिएपछि व्यवसायिक रूपमा उत्पादन गर्नेछौं।’ अबको एक महिनामा आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नेछ।

आयोजनाका अनुसार टोटल लोड रिजेक्सन, टनेलको मनिटरिङ, इफिसेन्सी, हाई भोल्टेज लगायत परीक्षण गरिनेछ। यी सबै परीक्षण सफल भएमा आयोजनाले टेकिङ ओभर सर्टिफिकेट दिनेछ।

आयोजनाले अहिले दोस्रो युनिटको परीक्षण उत्पादन गरिरहेको छ। परीक्षण उत्पादनको अवधि ७२ घन्टा हुन्छ। विद्युत् उत्पादन, सटडाउन तथा आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे बैठक बसेर टुंगो लगाइने आयोजना प्रमुख जोशीले बताए।

पहिलो युनिटको परीक्षण गरिएको सवा दुई महिनापछि दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरेको छ। परीक्षण उत्पादन सफल भएमा आयोजनाले दुवै युनिटबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ।

६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावट बिजुली गत जेठ ३ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। आयोजना  पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान दिनेछ। दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो।

आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुबा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरेको हो। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सिजिजिसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ साल वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपयाँ खर्च भएको छ। आयोजनाबाट उत्पादित बिजुली त्रिशूली थ्रीबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ। यसमा पावर हाउस (सिम्ले) देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App