१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

पर्सा प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाएको दुई भारतीय र एक नेपाली गाडी। तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय पर्सा

वीरगन्ज - पिबि२२एन १५२७ नम्बरको टाटा जिस्ट कार जाँचका क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो।  अनुसन्धानपछि उक्त नम्बरमा भारतमा स्कुटर दर्ता रहेको फेला प-यो।  अर्को डब्लुबिडी ९६६८ नम्बरको जिप पनि प्रहरीले फेला पारेको छ।  सो गाडी चोरी भयो भनेर भारतमा गाडीधनीले बिमा कम्पनीबाट क्षतिपूर्तिसमेत असुलिसकेको रहस्य खुलेको छ।

निर्वाचित जनप्रतिनिधिदेखि तस्कर, अपराधी, उद्योगी–व्यापारीसम्मले प्रयोग गर्न थालेपछि सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी बढेको छ।  यसरी सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी गर्न पर्सा प्रहरीले विशेष अभियान नै सञ्चालन गरिरहेको छ।  सोही क्रममा यी भारतीय गाडी समातिएका हुन्।

चालु आर्थिक वर्षको १० दिनमा पर्सा प्रहरीले चोरीका समेत गरी १४ वटा भारतीय नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको छ।  ‘एउटा गाडी उता चोरी भयो भनी बिमाको रकम उठाएर यता नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर यता कार चलाइरहेको पनि भेटियो,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले नागरिकलाई भने, ‘विभिन्न खाले अपराध र बेथिति रोक्न अहिले भारतीय नम्बरका सवारीसाधनहरूलाई विद्यमान नियमको दायरामा ल्याउन प्रयास थालेका छौं। ’

एउटा गाडी भारतमा चोरी भयो भनी बिमाको रकम उठाएर नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर कार चलाइरहेको पनि भेटियो।

नियमअनुसार भन्सारमा प्रज्ञापन भरेर भित्रिनुपर्ने भारतीय नम्बरका सवारीसाधन राजस्व छली सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भएपछि सुरक्षा सतर्कतास्वरूप नियन्त्रण गर्नुपरेको प्रहरीको तर्क छ। स्थानीय नेताहरूले भने प्रहरीको यो अभियानलाई रुचाएका छैनन्।  ‘विगतमा अपहरण, गोली प्रहार, काठमाडौंसम्म लागुऔषध ओसारपसार तथा हातहतियार ओसारपसार, तस्करीजस्ता घटनाहरूमा भारतीय नम्बरका गाडीहरू प्रयोग भएको हामीसँग विगतको रेकर्ड छ,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘भारतमा सवारीसाधनको चोरीका घटना बढेपछि त्यताका सुरक्षा संयन्त्रले समेत हामीसँग यसमा निगरानी राख्न आग्रह गरेका छन्। ’

सीमा आरपार सुरक्षामा भारतीय सुरक्षा निकायले नेपाल प्रहरीलाई सहयोग गर्ने गरेको छ।  सीमा आरपार सुरक्षा समन्वय अनुसार पनि अहिले पर्सामा प्रहरीले भारतीय नम्बरका सवारीसाधनको मनोमानी नियन्त्रण गर्न थालेको हो।  भारतीय सवारीसाधनको नेपालतिर बिगबिगी हुनुपछाडि वीरगन्ज भन्सार कार्यालयका कर्मचारीहरूको कमजोरी पाइएको छ।

यसै क्रममा एउटा गाडी बिहान साढे सात बजे नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हाताभित्र पु¥याएको दुई घण्टापछि नौ बजेर २७ मिनेटमा भन्सार प्रज्ञापन–पत्र बनाएको कागज लिएर गाडीधनी आइपुगे।  तर वीरगन्ज भन्सारका अधिकारीले यस्तो सम्भव नरहेको बताएका छन्।  सो विषयमा छानबिन सुरु गरिएको प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले बताए।  ‘नौ बजेर २७ मिनेटमा प्रज्ञापन काटेको देखिन्छ तर त्यसअघि नै सो गाडी समातेको प्रहरीको दाबी छ,’ भण्डारीले भने, ‘तर गाडीधनीले प्रज्ञापन काटिसकेपछिको समयमा प्रहरीले गाडी समातेको दाबी गरेका छन्।  यसको वास्तविकताबारे हामीले छानबिन थालेका छौं। ’

पर्साको ग्रामीण नाकातिर अलौं, पर्सौनी, भिस्वा, जानकीटोला, ठोरी र बाराको मटिअर्वा र सिम्रौनगढमा भारतीय सवारीसाधन प्रवेशका लागि अस्थायी पैठारीको व्यवस्था हुनुपर्ने सर्वसाधारण तथा स्थानीय अगुवाहरूको माग रहेको छ।  त्यो नभईकन प्रहरीले जाँचमा कडाइ गरेको भन्दै उनीहरूले असन्तोषसमेत व्यक्त गरेका छन्।  ‘स्थानीय स्तरबाट मैले विरोधको सामना पनि गर्नुपरेको छ,’ प्रहरी उपरीक्षक राठौंरले भने, ‘जनताकै सुरक्षाका लागि हो भनी हामी बुझाउन प्रयास गर्दैछौं। ’

भारतीय सवारीसाधन भन्सारबाट प्रवेश निस्सा लिएर सहरी क्षेत्रमा आउन सक्ने व्यवस्था रहेको छ।  त्यस किसिमले विशेष प्रवेश निस्सा लिएर आएका गाडीमा निगरानी गरिरहेको प्रहरीको भनाइ छ।  प्रहरीका अनुसार पाँच सय भारतीय सानासवारी भित्रिँदा करिब सयले मात्र अस्थायी पैठारी गराएर पाँच सय रूपैयाँ राजश्व तिरेर आउने गरेका छन्।  बाँकी राजश्व नतिरी भित्रिँदा देशलाई आर्थिक नोक्सानीसमेत भइरहेको नियन्त्रणमा खटेका प्रहरीहरूको भनाइ छ।

यसैबीच घण्टाघरमा जाँच गर्ने क्रममा  प्रहरीले नेपालमै दर्ता रहेको ना१च २३५५ नम्बरको जिप नियन्त्रणमा लिएको छ।  जाँच गर्ने क्रममा सवारी दर्ता किताबमा विलिस कम्पनी उल्लेख भएको तर गाडी महिन्द्रा थार भएको फेला प¥यो।  उपलब्ध कागजात र गाडीको स्वरूप नमिलेकाले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले बताए।

यस आर्थिक वर्षको डेढ हप्तामा नियन्त्रणमा लिइएका गाडीको करिब एक करोड ४० लाख रुपैयाँ मूल्य आँकलन गरिएको छ।  अनुसन्धान चलाउन आवश्यक देखिएका गाडीलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने गरेको छ।

प्रकाशित: १७ श्रावण २०७६ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App