१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्साका दुई युवक बेपत्ता, अपहरणको आशंका

वीरगन्ज - एक दिनको अन्तरमा पर्साका दुईजना युवक अपहरणमा परेका छन्।  विन्दवासिनी गाउँपालिका–४ मधवलका २८ वर्षीय उपनिवेश चौरसिया र वीरगन्ज महानगरपालिका–१६ इनर्वाका ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनीहरूका पबिताएका छन्।  प्रहरीले खोजतलास र अनुसन्धान गरिरहेको छ।

नेपाल तरुण दलको जिल्ला सदस्यसमेत रहेका उपनिवेशलाई मंगलबार दिउँसो दुई बजेतिर वीरगन्जको घण्टाघर चोकबाट उनकै गाउँका दुईजनाले जबर्जस्ती मोटरसाइकलमा चढाएर भारततर्फ लगेको परिवारजनले बताएका छन्।  वडाध्यक्ष अनुज चौरसियाका अनुसार उपनिवेशलाई गाउँकै उत्तम तिवारी र इजराउलले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लगेका थिए।  तिवारी र इजराउलले उपनिवेशलाई मंगलबार राति रक्सौलको श्याम होटलमा राखेको सूचना पाएपछि बुधबार बिहान सीमा प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुमन सिंहसहितको टोलीले खोजी गरेको थियो।  टोलीसँगै आफू पनि उक्त होटलमा गएर खोजतलास गर्दा उनीहरू फेला नपरेको वडाध्यक्ष चौरसियाले बताए।  उपनिवेशको अवस्था यो समाचार तयार पार्दासम्म थाहा हुनसकेको छैन।

त्यस्तै सोमबार बिहान वीरगन्ज महानगरपालिका–६ इनर्वाका ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनको परिवारजनले जनाएको छ।  बिहान पाँच बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यही दिन बिहानदेखि अपहरणमा परेको बताइन्छ।  परिवारका अनुसार नमाज पढेर फर्किने बेलामा अरमानलाई फोन गरेर कसैले बोलाएको र उनी त्यसपछि घर फर्किएका छैनन्।  मंगलबार बिहान आठ बजेतिर अरमानले आफ्नै मोबाइलबाट दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए अपहरणकारीले मार्ने धम्की दिएको बताएको परिवारको भनाइ छ।  परिवारका अनुसार त्यसपछि अरमानको मोबाइल लगातार स्विच अफ छ।  फोन आएलगत्तै अरमानका परिवारले घटनाबारे प्रहरीलाई खबर गरेका छन्।

पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले दुईजना युवक सम्पर्कविहीन भएको सूचना प्रहरीलाई प्राप्त भएको र उनीहरुको तदारुकतासाथ खोजी सुरु गरिएको बताए।  ‘अपहरण हो वा होइन भन्न सक्ने अवस्था अहिले छैन,’ प्रहरी नायब उपरीक्षक शर्माले भने, ‘अनुसन्धानको समयमा गलत सूचना प्रवाह भएमा त्यसले समेत असर पार्छ।  त्यस कारणले अहिले केही नभनौं।’

प्रकाशित: १६ श्रावण २०७६ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App