१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगर केन्द्र आउजाउमा डुंगाकै भर

सिवाईस्थित निर्माणाधीन पुल नजिकै बाँधेर राखिएको डुंगा। तस्बिरः नागरिक

उदयपुर– असार अन्तिम साता आएको बाढी नघटेपछि उदयपुरको चौदण्डीगढी नगरपालिकाका दुई ठाउँमा डुंगा सञ्चालन गरिएको छ।

स्थानीय त्रियुगा नदीले चौदण्डीगढी–६, बेलटारस्थित नगरपालिका केन्द्र आउजाउ गर्न तीनवटा वडाका वासिन्दालाई समस्या छ। ५ नम्बर वडाको सिवाई, सुन्दरपुरको सिवाईमा तथा ९ र १० नम्बरको हडियादेखि बेलटार आउजाउ गर्ने ज्यामिरेमा डुंगा सञ्चालनमा ल्याइएको हो।

त्रियुगामा बाढीको सतह बढेसँगै सुन्दरपुरको व्यापारिक केन्द्र सिवाई, बेल्हा, सुन्दरपुर तथा ९ र १० वडाको हडियावासीलाई बेल्टार आउजाउ गर्न डुंगा सञ्चालनमा ल्याइएको नगर प्रमुख खगेन्द्र राईले बताए।

उनका अनुसार हिउँदमा पानी सुक्ने त्रियुगामा वर्षापछि यातायात अवरुद्ध हुने भएपछि डुंगाको सहारा लिन बाध्य हुनुु परेको हो। ९ वर्षअघि सुरु भएको सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अझै बनिनसकेकाले त्रियुगामा बर्सेनि डुंगा चलाउनु पर्ने बाध्यता छ।

त्यस्तै ९ नम्बर वडाको आधा भाग र १० नम्बर वडावासीलाई आउजाउ गर्न ज्यामिरेस्थित त्रियुगामै अर्को डुंगा सञ्चालनमा ल्याइएको छ। हडिया र सिवाई सुन्दरपुरका स्थानीयलाई नगरको कामकाज गर्न बेलटार आउजाउ गर्ने सडकमा ५–७ फिट पानीको सतह बढेपछि साउन पहिलो सातादेखि नै यातायात सेवा अवरुद्ध भएको हो। डुंगामा आउजाउ गर्न प्रतिव्यक्ति २० रुपैयाँ भाडादर कायम गरिएको वडा कार्यालयले जनाएको छ।

९ वर्षदेखि निर्माणाधीन सिवाई पुलको काम अझै ७५ प्रतिशतभन्दा बढी हुन सकेको छैन। २०६७ असार २३ गते सुरु गरेर २०७० असार २२ गतेभित्र पुल बनाइसक्ने गरी सम्झौता भएको पुलको काम एक वर्षपछि मात्र सम्पन्न हुने सडक कार्यालय गाईघाटले जनाएको छ। कार्यालय प्रमुख पशुपति ज्ञवालीले यस वर्ष सक्ने गरी काम गर्न लगाइए पनि समयमा बजेट अभावका कारण पूरा हुन नसकेको बताए। पुल बनाउने म्याद चार पटक थपिसकेको उनको भनाइ छ।

१३ स्पानको दुई सय ८४ दशमलव ६ मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त पुल बनाउने जिम्मा महालक्ष्मी/लोकप्रिय जेभी कलंकी काठमाडौंले लिएको सडक कार्यालयले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App