१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाघ बचाउन स्थानीय सरकारको चासो

चितवन - गत आर्थिक वर्ष (आव)मा चितवन राष्ट्रिय निकुञ्जमा चारवटा भाले र दुईवटा पोथी र लिंग पहिचान भएका दुई गरी आठवटा बाघ मरेका थिए। तीमध्ये आमाबाट छुट्टिन पुग्दा खान नपाई मरेको डमरु (बच्चा)समेत रहेको छ। मरेका बाघमध्ये दुईवटालाई विषादीले असर गरेको र दुईवटामा संक्रमण भएको पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

यस्तै एउटा घाइते बाघ पानी ट्यांकीमा गएर मरेको र एउटा खानाका लागि अर्को बाघसँग लडाइँ गर्दा मरेको पाइएको उनले बताए। एउटा बाघको भने मर्नुको कारण आकलन गर्न सकिएको छैन। सो आवमा निकुुञ्ज क्षेत्रमा बाघको आक्रमणमा परी तीनजनाले ज्यान गुमाएका छन्। आहारको खोजीमा बाघ निकुञ्जबाट बाहिर निस्कने र धनजनको क्षति गर्ने भएकाले मानिस र वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ।

चितवनका सातवटा स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका निकुञ्जसँग जोडिएका छैनन्। चितवन निकुञ्जले चितवनसँगै मकवानपुर, पर्सा र नवलपरासीको भूभागसमेत समेटेको छ। निकुञ्जलाई प्रदेश २, ३ र ४ को साझा निकुञ्ज भएको उनी बताउँछन्।

वन्यजन्तु र मानिसको द्वन्द्व कायम रहेको समयमा बाघ दिवसको अवसरमा सोमबार चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका चितवन, नवलपरासी र पर्साका जनप्रतिनिधीसँग अन्तत्र्रिmया गरिएको छ। सन् २००९ को गणनामा नेपालमा १ सय २१ वटा बाघ रहेकामा चितवन निकुञ्जमा मात्र ९१ वटा रहेका थिए। सन् २०१३ मा १ सय ९८ वटा बाघ रहेकामा चितवन निकुञ्जमा मात्र १ सय २० वटा पाइएका थिए। २०१८ को गणनामा देशमा २ सय ३५ वटा बाघ पुग्दा निकुञ्जमा भने घटेर ९३ वटा भेटिएको तथ्यांक रहेको छ। सन् २०१० देखि विश्व बाघ दिवस मनाउन थालिएको हो। सो अवसरमा नेपालमा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राखिएको थियो।

बाघको प्रमुख बासस्थान मानिएको निकुञ्जमा बाघको संख्यामा कमी देखिनु चुनौतीको विषय रहेको भन्दै स्थानीय जनप्रतिनिधिले बाघ बचाउन चासो व्यक्त गरेका छन्। माडी नगरपालिकाका मेयर ठाकुर ढकाल वन्यजन्तु खानेकुरा र आहाराकै खोजीमा वनबाहिर निस्कने भएकाले वनमा बासस्थान र आहारा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन्। वन्यजन्तुलाई वनमै राख्नसके मानिस र वन्यजन्तुको द्वन्द्व कम भएर जाने र वन्यजन्तुप्रति मानिसको मोह बढ्ने उनले बताए। माडी वन्यजन्तुबाट बढी प्रभावित स्थानीय तहअन्तर्गत पर्दछ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बाघ संरक्षण गर्दा पर्यटकीय गतिविधि बढ्ने भएकाले आर्थिक गतिविधिसमेत वृद्धि हुने बताउँछिन्। उनले संरक्षण र पर्यटनलाई सँगसँगै जोडेर लैजाउनुपर्ने बताइन्। ‘संरक्षणले पर्यटन बढाउँछ, पर्यटनले गरिबी घटाउँछ,’ उनी भन्छिन्, ‘यसले वातावरण संरक्षण हुन्छ, त्यसैले पर्यटनमा आकर्षित गर्न संरक्षण गर्नु सबैको दायित्व हो।’ संरक्षणलाई पर्यापर्यटनसँगै जोड्दा कावासोतीको अमलटारीवासीको जीवनमा धेरै परिवर्तन आएको कावासोती नगरपालिकाका उपममेयर प्रेमशंकर मर्दनिया थारू बताउँछन्। मानिस र वन्यजन्तुको द्वन्द्व बढ्दा तहसनहस भएको वन स्थानीयकै सक्रियतामा हरियालीसमेत बनेको उनले बताए।

निकुञ्जमा रहेको २० प्रतिशत घाँसे मैदान घटेर १२ प्रतिशतमा झरेको छ। यसले पनि बाघको आहारा प्रजातिलाई समस्या भएको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्। ‘गत वर्ष निकुञ्जभित्र ४० वटा क्यामेरा राखेर ट्र्यापिङ गर्दा ३० वटामा बाघ भेटिएको छ,’ उनी भन्छन्, ‘निकुञ्जमा बाघ घट्यो भनेर जुन चिन्ता गरिएको छ, हामी बाघको संख्या बढाउन सक्छौं, त्यति धेरै चिन्ता गर्नु आवश्यक छैन।’ निकुञ्ज क्षेत्रमा त्यस्तो महामारी रोग नै लागेर बाघ नमरेको उनले प्रस्ट पारे। बासस्थानको गुणस्तर बढाउन र आहारा प्रजातिमा ध्यान दिइएको उनले बताए।

निकुञ्जको बाघ निकुञ्जमा मात्र नबसी पर्सा र भारतमा समेत पुग्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछाने बताउँछन्। अघिल्लो वर्ष गरिएको बाघ गणनामा चितवनमा भेटिएका बाघमध्ये ५० वटा पोथी र ३० वटा भाले रहेको उनले जानकारी दिए। अरूको भने लिंग पहिचान गर्न नसकिएको उनले बताए।

पोथीको संख्या धेरै रहेकाले बाघको संख्या बढाउन पुग्दो पोथी रहेको उनको दाबी छ। ९५ प्रतिशत बाघहरू मानिसको सम्पर्कमा समेत आउन नचाहने उनी बताउँछन्। ५ प्रतिशत बाघले मात्र मानिस र पशुधनमा क्षति पु¥याएको आफूले अध्ययनका क्रममा पाएको उनले बताए। त्यस्ता बाघबारे समयमै निगरानी गरी नियन्त्रणमा लिनसके धनजनको क्षति हुनबाट रोक्न सकिन्छ। अहिले चितवन निकुञ्जमा बाघ अटाउन सक्ने क्षमताबारेसमेत अध्ययन भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १४ श्रावण २०७६ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App