१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो सान्जेनको ८२ प्रतिशत भौतिक प्रगति

माथिल्लो सान्जेन जलविद्युत आयोजना। तस्बिर : नागरिक

रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजना निर्माणले गति लिएको छ। आयोजनामा कुनै पनि अवरोध नभएको र पर्याप्त रूपमा आवश्यक सामग्री तथा कामदार रहेका कारण कामले गति लिएको हो। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको ८२ प्रतिशत भौतिक प्रगति भएको छ।

२०७६ असोजमा परीक्षण उत्पादन गर्ने गरी आयोजनाले काम अघि बढाएको छ। अहिले आयोजनामा पेनस्टक हाल्ने र पावर हाउसमा ढलान गर्ने काम चलिरहेको छ। तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न गर्ने गरी काम पहिलो गरिरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताए।

आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो। १४.८ मेगावट क्षमताको  आयोजनाको चार सय ७४ मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा दुई सय मिटर पाइप राखिएको छ। पेनस्टक पाइप राख्ने काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको पछिल्लो पटक थपिएको म्यादअनुसार २०७६ असोजमा उत्पादन सुरु गरिसक्नु पर्नेछ। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ।

सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

आयोजनाको सिभिलतर्फ ८२, इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ।

एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ। अहिले फाउन्डेसन खन्ने काम भइरहेको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए। प्रसारण लाइन निर्माणका लागि ठेकेदार मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग २०७४ वैशाख २४ गते ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: १३ श्रावण २०७६ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App