१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मत्ताको घाँटीमा रेडियो कलर, ढोईको खोजी जारी

जंगलछेउको उखुबारीमा बेहोस भएर लडेको हात्तीमा रेडियो कलर जडान गरिँदै। तस्बिर: टंक/नागरिक

सर्लाही - सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको एउटा मत्ता (भाले हात्ती) लाई बेहोस बनाएर रेडियो कलर जडान गरिएको छ। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित लाहुरेटोलनजिकै जंगलमा आइतबार बिहान त्यसको घाँटीमा रेडियो कलर झुन्ड्याइएको हो। दुई सातादेखि दुई हात्ती (मत्ता र ढोई एकएकवटा) ले ईश्वरपुरका विभिन्न बस्तीमा पसेर घर भत्काउने एवं बालीनालीमा क्षति पु¥याउँदै आएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत माधवप्रसाद देवले जानकारी दिए। ढोई (पोथी हात्ती) ‘हात्तीको लोकेसन थाहा पाउन रेडियो कलर जडान गरिएको हो,’ उनले भने, ‘अब सो भाले हात्ती कहाँ छ भनेर निगरानी गर्न सकिने भएको छ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट खटिएको चिकित्सकसहितको हात्ती विशेषज्ञको टोलीले डाट विधिबाट बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरेको हो। सो उपकरण जडानपछि निकुञ्जदेखि वन कार्यालयलगायतमा हात्तीको लोकेसन थाहा हुने वन अधिकृत देवले जानकारी दिए। विशेषज्ञको टोलीले बिहानपख बस्तीनजिक आएको मौका छोपेर टाढैबाट हात्तीलाई डाट विधिअनुसार राइफलबाट बेहोस हुने औषधि दिएको थियो। डाट गरेलगत्तै सो हात्ती बेहोस भएको र घाँटीमा रेडियो कलर उपकरण जडान गरिएको वन अधिकृत देवले जानकारी दिए।

केहीबेरका लागि बेहोस पारिएको हात्ती ब्युँतिएपछि जंगलतर्फ नै लागेको छ। बेहोस बनाइएको हात्ती ब्युँतिएपछि झनै उन्मक्त हुने भएकाले वन क्षेत्रआसपासका बासिन्दालाई सचेत हुनसमेत डिभिजन वन कार्यालयले आग्रह गरेको छ। ‘बेहोस बनाएर रेडियो कलर जडान गरेपछि उठेको हात्ती अझै बढी उत्ताउलो हुने गर्दछ,’ वन अधिकृत देवले भने, ‘उन्माद कम हुने औषधिसमेत दिएका छौं, तथापि स्थानीय बासिन्दाले सचेत हुनु जरुरी छ।’ दुई सातादेखि आतंक मच्चाउने मत्ता र ढोई गरी दुई हात्ती रहेको र मत्तामा पनि पनि रेडियो कलर जडान गर्न चिकित्सक एवं विशेषज्ञको टोली जंगल क्षेत्रमै दिनभर खटिएको बताइएको छ।

जोडी हात्तीले दुई सातायता दुई दर्जनभन्दा बढी घर भत्काइसकेको तथा बालीनालीमा समेत क्षति पु¥याएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए। उनका अनुसार हात्ती आतंकका कारण परियोजनाछेउछाउ घर भएका सर्वसाधारणले रातभर सुत्न पाएका छैनन्। गत मंसिर १५ देखि तीन महिनासम्म ईश्वरपुर क्षेत्रकै विभिन्न गाउँमा हात्तीको अर्को समूहले आतंक मच्चाउँदा स्थानीय वाक्कदिक्क भएका थिए। दुई सातायता सो जोडी हात्ती आएपछि उनीहरू पुनः त्रसित बनेका छन्। गत पुसदेखि नै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, ईश्वरपुर नगरपालिकालगायतले आतंक मच्चाइरहेका हात्ती नियन्त्रण गर्न वन मन्त्रालय, राष्ट्रिय निकुञ्जहरूमा लिखित एवं मौखिक आग्रह गरिरहेका थिए।

प्रकाशित: १३ श्रावण २०७६ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App