१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सागका लागि कुस्ती प्रशिक्षण प्रारम्भ

मकवानपुर - नेपालमा हुने १३औं साग खेलकुद प्रतियोगिताका लागि कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौमा हुने कुस्ती प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोट गर्न प्रशिक्षण सुरु गरिएको हो।

पहिलो चरण दुई महिना हुने प्रशिक्षणको आइतबार नेपाल कुस्ती संघका उपाध्यक्ष एवं मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उद्घाटन गरे। उद्घाटन गरेपछि उनले कुस्तीमा नेपाल स्वर्णपदकविहीन रहेको भन्दै आफ्नै भूमिमा हुने प्रतियोगिताबाट स्वर्णसहित अन्य पदक जित्ने लक्ष्य लिएर प्रशिक्षण लिन खेलाडीहरूलाई आग्रह गरे।
नेपाल कुस्ती संघको आयोजनामा हेटौंडा उपमहानगरपालिका ४ स्थित कभर्ड हलमा दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुष गरी ४० जना कुस्तीबाज खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। महिला र पुरुषको १० वटा तौलसमूहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्तीका मुख्य प्रशिक्षक ब्रह्मदेवप्रसाद यादवले बताए।

पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिस्पर्धा गराई प्रथम हुने खेलाडीलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरिने यादवले बताए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामा, नेपाल मुस्लिम संघका कोषाध्यक्ष जब्स मिया अन्सारी, केन्द्रीय सदस्य सानु लामा, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १३ श्रावण २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App