१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बर्सेनि रुवाउँछ तमोरले

ताप्लेजुङको दोभान बजार नजिकबाट तमोर नदी। तस्बिरः गिरिराज/नागरिक

पाँचथर– हिउँदमा निलो र शान्त बग्ने तमोर नदीसँग गाँसिएर अनेकन सम्झना र बिम्बहरू पाइन्छ। तर, जब बर्खा लाग्छ, यही शान्त नदी धेरैको आँसुको कारक बन्छ। यसपटक पनि यही क्रमले निरन्तरता पायो।

हरेक वर्ष तमोरले बगाएर धेरैको ज्यान जाने गर्छ। कोेही बेपत्ता हुन्छन् त कसैकोे शव भेटिन्छ। पुल नहुँदा फड्के तर्दा या खोलाबाटै तर्दा बगाएको पुरानो सम्झना गाउँलेसँग छ। यतिबेला पुल बनेको छ तैपनि तमोरले बगाउने क्रम रोकिएको छैन। खोला तर्दा, माछा मार्न जाँदा, केटाकेटी खेल्न जाँदा तमोरले बगाउने गरेको छ। तमोरले पूर्वी पहाडका चार जिल्लाका विभिन्न ठाउँबाट बगाएको छ। कतिको शव भेटिन्छ त कति बेपत्ता बन्छन्। साउनको पहिलो साता नै तमोरले ६ जनालाई बगाइसकेको छ।

गत आइतबार धनकुटाको धनकुटा नगरपालिका–८ याक्चनाटारमा एकै परिवारका तीन बालबालिकलाई तमोरले बगाएर बेपत्ता बनायो। उनीहरू खोजी कार्य भइरहे पनि अझै भेटिएको छैन। अर्काको अधियाँ कमाउँदै आएको खेतमा काम गर्न गएका बेला तीन जना नानीहरूलाई खोलाले बगाएको थियो। १० वर्षीय सन्दीप राई, ७ वर्षीया सलिना राई र ६ वर्षीय सञ्जिला राईलाई तमोर नदीले बगाएर बेपत्ता बनाएपछि बुबा आमा शंखबहादुर र श्रीमती रामेश्वरी पीडाको आँसु बगाइरहेका छन्। उनीहरूको काख नै रित्तिएको छ।

पाउना गएको बेला माछा मार्न तमोर जादा पाँचथरको हिलिहाङ गाउँपालिका–५ का २१ वर्षीय सन्दीप सेवा र १९ वर्षीय जीवन सुहाङ नक्कले घाटको तेह्रथुमतिरको क्षेत्रबाट बगेर बेपत्ता छन्। सोमबार चार जना माछा मार्न गएकोमा दुई जनालाई बगाएको थियो। आसपासमा ठूलो क्षति नपु¥याए नि बर्खामा निकै ठूलो बहावले तमोर नदी बग्छ। लेकमा पानी परेर बाढी आएको औलमा पत्तो नहुँदा समस्या हुने गर्छ।

तमोर नदीले आघिल्लो आर्थिक वर्ष (आव २०७५/०७६) देखि चालु आर्थिक वर्षको असारको पहिलो सातासम्ममा तमोर नदीले २० जनालाई बगाएको तथ्यांक प्रहरीसँग छ। चालु आर्थिक वर्षको सुरुआतमै धनकुटा र तेह्रथुममा गरी पाँच जनलाई बगाइसकेको छ।

पाँचथरमा आर्थिक वर्ष २०७४/०७५ मा २ र २०७५/०७६ मा आठ जनलाई तमोरले बगाएको तथ्यांक रहेको छ। यस्तै ताप्लेजुङमा आव २०७३/०७४ मा ५, २०७४/०७५ मा १ र २०७५/०७६ मा २ जनालाई बगाएको छ। यस्तै धनकुटमा अघिल्लो आर्थिक वर्षमा ४ र चालु आर्थिक वर्षमा ३ जनालाई बगाएको छ। यस्तै तेह्रथुममा २०७४÷०७५ मा २ र चालु आर्थिक वर्षमा ३ जनालाई बगाएको छ।

तमोर आसपासमा खेती गर्ने, माछा मार्न जाने, पौडी खेल्ने तथा हेलचेक्र्याइँ गर्नेहरूलाई बगाउने गरेको स्थानीय बताउँछन्। सानो सानो कुरामा सचेत हुनुपर्ने देखिएको धनकुटाका प्रहरी प्रमुख एसपी सुदर्शन कोइराला बताउँछन्। बाढी आएर बगाउने ठूलै जोखिम भने नदेखिएको उनको भनाइ छ।

बगेका मध्ये कतिपयको शव भेटिन्छ भने कतिपय बेपत्ता नै हुन्छन्। तमोर तटीय क्षेत्र धेरैजसो सुख्खा क्षेत्र पर्छ। नदी आसपासमा कममात्र बस्ती छ। तर पनि बगाउने क्रम भने रोकिएको देखिँदैन। मानवीय सचेतनाले दुर्घटना जोगाउन सक्ने भएकाले यसतर्फ पनि ध्यान जानु आवश्यक रहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापा बताउँछन्।

बर्खामा तमोरमा निकै ठूलो बाढी आउने गर्छ। मानवीय र अन्य ठूलो भौतिक क्षति हुनेगरी २०३४ सालपछि तमोरमा ठूलो बाढी नआएको यस क्षेत्रका अग्रज बताउँछन्।

प्रकाशित: १२ श्रावण २०७६ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App