१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

उदयपुरमा गत वर्षभन्दा १३० प्रतिशतभन्दा बढी राजस्व

कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुर। तस्बिरः महेश्वर/नागरिक

उदयपुर–उदयपुरमा आर्थिक वर्ष ०७५/७६ मा राजस्व संकलनमा उत्साहजनक वृद्धि भएको छ। गाईघाटस्थित करदाता सेवा कार्यालयका अनुसार ०७४/७५ भन्दा राजस्व संकलन १ सय ३० प्रतिशत बढी संकलन भएको छ।

कर अधिकृत सुमन बुढाथोकीका अनुसार ०७५/७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैयाँ ६५ पैसा राजस्व संकलन भएको छ। यो परिमाण गत वर्षभन्दा १३ करोड २५ लाख हाराहारी बढी हो। ०७४/७५ मा ३० करोेड ६५ लाख १७ हजार २ सय ४५ रुपैयाँ ९७ पैसा संकलन भएको थियो। दुई वर्षबीचको राजस्व संकलन तुलना गर्दा अघिल्लो वर्षभन्दा ०७५/७६ मा उत्साहजनक वृद्धि भएको बुढाथोकीले बताए।

कर कार्यालयका अनुसार यो अंकको संकलित राजस्वमा मूल्य अभिवृद्धि कर (भ्याट), स्थायी लेखा नं. (प्यान), अन्तशुल्क, बहाल कर, व्याज कर, स्वास्थ्य सेवा शुल्क र शिक्षा सेवा शुल्कसमेत समावेश गरिएको छ। आयकर सबैभन्दा बढी २१ करोड १८ लाख ९० हजार ८ सय २२ रुपैयाँ ३४ पैसा संकलन भएको छ। दोस्रो ठूलो अंक भ्याटवापत १७ करोड ८२ लाख १७ हजार ६ सय ५७ रुपैयाँ संकलन भएको छ भने ३ करोड ५ लाख ९६ हजार ४ सय ६१ रुपैयाँ अन्तशुल्कवापत संकलन भएको बुढाथोकीले बताएका छन्।

बहाल कर पनि उल्लेख्य उठेको छ। १ करोड ३५ लाख ८६ हजार ८ सय ८ रुपैयाँ ११ पैसा बहाल करबाट संकलन भएको कार्यालयले जनाएको छ। त्यस्तै व्याज कर २७ लाख ७१ हजार ८७ रुपैयाँ ३९ पैसा उठेको छ भने १६ लाख ७९ हजार ८ सय ७९ रुपैयाँ शिक्षा सेवा कर संकलन भएको छ। ०७५/७६ मा स्वास्थ्य सेवा करवापत २ लाख ७० हजार ६ सय ५७ रुपैयाँ संकलन भएको छ।

कर कार्यालयले संकलन गर्ने राजस्व सबै करजन्य भएको अधिकृत बुढाथोकीले बताए। गैरकरजन्य राजस्व पनि जिल्लामा १३ करोड हाराहारी संकलन भएको उनले बताएका छन्। गैरकरजन्य राजस्व अदालत, प्रशासन, प्रहरी, ट्राफिक र वनलगायत विभिन्न सरकारी कार्यालयमार्फत संकलन भएर कोष तथा लेखा नियन्त्रक कार्यालयमा जम्मा हुने उनले बताए।

कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरले ०७५/७६ मा ५७ करोड ७८ लाख ६ हजार २ सय ११ रुपैयाँ ४७ पैसा राजस्व संकलन भएको जनाएको छ। जसमध्ये संघतर्फ ४९ करोड ६२ लाख १३ हजार ८ सय ३४ रुपैयाँ छ भने प्रदेशतर्फ ८ करोड १५ लाख ९२ हजार ३ सय ७६ रुपैयाँ राजस्व संकलन भएको प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले बताएका छन्।

ट्राफिक कारबाहीबाट करोड
उदयपुरमा सवारी उल्लंघन र दुर्घटनाबाट मात्र झण्डै १ करोड राजस्व संकलन भएको छ। ०७५/७६ मा विभिन्न मितिमा विभिन्न सवारी नियम उल्लंघनबाट ९४ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो राजस्व परिमाण अघिल्लो आर्थिकवर्ष ०७४/०७५ मा भन्दा १२ लाख ४१ हजार ५ सय रुपंैयाले बढी हो। जिल्ला ट्राफिक इन्चार्ज सई दिनेशकुमार चौधरीका अनुसार वर्षभरी सवारी नियम उल्लंघन गर्ने १४ हजार २ सय ९५ सवारी साधनमाथि कारबाही गर्दा सो परिमाणको राजस्व संकलन भएको हो। ट्राफिक कारबाहीमा सबभन्दा बढी टिफर, ट्रक र मोटरसाइकल चालक परेका छन्। वर्षको अन्त्य असारमा मात्र १ हजार ३ सय ९५ सवारी साधन कारबाहीमा परेर ८ लाख ८९ हजार ५ सय रुपैयाँ राजस्व उठेको सई चौधरीले बताए।

गएको भदौमा सबभन्दा कम ८ सय ५० सवारीमाथिको कारबाहीबाट ५ लाख १७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। वर्षभरी ३ हजार ९ सय ५६ वटा मोटरसाइकल कारबाहीमा परेका छन् भने २ हजार ६ सय २७ जिप/कार/कारबाहीमा परेका छन्। ७ सय ७५ वटा यात्रुबाहक बस पनि वर्षभरीमा कारबाहीको भागीदार हुँदा १ हजार ५ सय ६३ वटा ट्याक्टरमाथि राजस्व असुलीको ट्राफिक डण्डा वर्षिएको छ।
उदयपुरमा ०७४/७५ मा ११ हजार ५ सय १४ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको आरोपमा जरिवाना तिराइएका थिए। जसबाट ८१ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित: ११ श्रावण २०७६ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App