१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पीडित आशैआशमा, दातालाई ठाँउमा पुर्‍याउनै समस्या

मंगलबार सर्लाहीको डुमरियामा बागमती सेवा समाजले दिएको राहत सामग्री लैजाने तरखरमा स्थानीय वृद्धा। तस्बिरः टंक/नागरिक

सर्लाही– दुई साताअघि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनैतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै पनि सामान्य राहत समेत पुग्न नसकेको हो।

तीन दिनअघि विभिन्न दातृ संस्थाबाट प्राप्त चामल, दाललगायत खाद्यान्न, ओड्ने त्रिपाल ओछ्याउने म्याट लगायत राहत सामग्री लिएर बागमती सेवा समाज नेपाल हरिवन नामक गैरसरकारी संस्था धनकौल गाउँपालिका पुगेको थियो। बाढीबाट प्रभावित महिनाथपुर गाउँमा वितरण गर्नका लागि उक्त राहत सामग्री बोकेर गएको बागमतीको टोलीले बाँड्नै सकेन। दुई दिनपछि बल्लतल्ल प्रहरी सुरक्षा घेरामा सामान वितरण भयो।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह र ४ नं. वडाका अध्यक्ष चुनचुन भन्ने भोजेन्द्र राय यादवबीच राहत वितरण गर्ने विषयमा विवाद हुँदा केही दिन सामग्री बाँडन नसकिएको बागमती सेवा समाजका गजेन्द्र साहले जानकारी दिए। कांग्रेसबाट जितेका गाउँपालिका अध्यक्ष रामआश्रय साह तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट जितेका वडा अध्यक्ष भोजेन्द्रले राहत आफूले बाँड्न पाउनुपर्ने जिकिरका कारण ढिलाई भएको थियो।

त्यस्तै बलरा नगरपालिका वडा नं. १ मा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पनि आफन्तलाई बाँडिएको भन्दै सयौं पीडित स्थानीयले दुई दिनसम्म मेयर अभय सिंहको घरमा रहेको नगरपालिका कार्यालयको सम्पर्क कार्यालयमा घेराउ गरे। बलरामा मेयर सिंहले राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित हुन् भने वडा नं. १ का वडाध्यक्ष सन्तोष सिंह कांग्रेसबाट विजयी भएका हुन्।

‘पीडितको लिष्ट नै तीन थरी भएकाले राहत वितरणमा कठिनाई भइरहेको छ’, सर्लाहीमा सूरुदेखि राहत वितरणमा क्रियाशिल बागमती सेवा समाजका निरज भण्डारीले भने, ‘स्थानीय तहका प्रमुखले एउटा लिष्ट, वडा अध्यक्षले अर्को लिष्ट अनि प्रहरीेको छुट्टै लिष्ट हुँदा लक्ष्य अनुसार सबै ठाउँमा राहत बाँड्न सकिएको छैन।’ संस्थाले मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय गढैया डुमरियामा एक सेट भाँडावर्तन, बाल्टिन तथा निकै राम्रो एकथान त्रिपाल सहितको राहत सामग्री वितरण ग¥यो। अत्यन्त पीडित त्यसमा पनि दलित, अपांग लगायत छानेर १५० परिवारलाई मात्र पुग्ने राहत सामग्री लिएर गएको संस्थाको टोलीलाई झण्डै दुई घण्टा स्थानीयले नियन्त्रणमा लिएका थिए। ईलाका प्रहरी कार्यालय भित्रै हजारौं स्थानीय पसेर राहत सामग्री आफूले पनि पाउनुपर्ने माग राखेको तर पछि प्रहरीले निकै सम्झाई बुझाई गरेपछि साँझ राहत वितरण गरेर फर्किएको भण्डारीले बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत पनि पीडितको नाम संकलनमा स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुबीच मतभिन्नता देखिएको बताउँछन्। ‘वास्तविक पीडितहरुको घरघरमा पुगेर विस्तृत सर्भे विवरण संकलन जारी छ’, प्रजिअ राउतले भने, ‘वडा अध्यक्षको नेतृत्वमा प्रहरी, रेडक्रस, विभिन्न राजनैतिक दलका नेता, वडा सचिव लगायतको टोली विवरण संकलनमा हिड्नुपर्नेमा कतिपय ठाउँमा वडा अध्यक्षज्यूहरुले सहयोग नगर्दा ढिलाई भएको गुनासो आएको छ।’

धनकौल गाउँपालिका–३, हरकठवाको ढापटोलबासी दुई साता पुग्न लाग्दा समेत बागमतीको बाँधमै त्रिपाल तथा प्लाष्टिक ओडेर बसिरहेका छन्। गाउँमा मनुष्मारा नदीको बाढी पसेपछि असार २६ गतेदेखि ६२ परिवार घर छाडेर बागमती नदीको बाँधमा आश्रय लिएका थिए। हाल पानी सुकेपछि भने झण्डै ३५ परिवार घरमा सरेपनि अझै २५ भन्दा बढी परिवार बाँधमै बसिरहेका छन्। कतिपयको त घर नै लडेका कारण बाँधमा त्रिपाल ओडेर बस्नुको विकल्प छैन। त्यस्तै बाढी र डुबानले सबैभन्दा बढी क्षति पु-याएको महिनाथपुर गाउँका सयौं परिवार अझै पनि छिमेकी, आफन्त तथा स्थानीय विद्यालयमा आश्रीत छन् । अन्य दर्जनौं गाउँहरुमा राहत नै पुग्न सकेको छैन।

प्रहरीको प्रारम्भिक तथ्यांक अनुसार सर्लाहीमा २५ हजार घरभित्र पानी पसेको थियो। २४ सय भन्दा बढी घर पूर्ण रुपले क्षति हुँदा १२ हजार ८४ जना सर्वसाधारण विस्तापित भएका छन् भने पाँचहजार ५०० घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्यांक छ।

पीडितले पूर्ण सर्भे विवरण संकलन कार्य सम्पन्न नभएकाले सरकारी निकायबाट राहत त पाएका छैनन् नै गैर सरकारी क्षेत्रबाट आउने राहत सामग्री समेत स्थानीय तहका प्रमुख, वडाअध्यक्ष र राजनैतिक दलका नेताहरुले आ–आफ्ना पक्षीय मान्छेको लिष्ट मात्र उपलब्ध गराउँदा प्रभावकारी ढंगले वितरण हुन सकेको छैन।
 

प्रकाशित: ८ श्रावण २०७६ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App