१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

वीरगन्ज सुक्खा बन्दरगाहमा आयातित कन्टेनर । तस्विरः रितेश/नागरिक

वीरगंज–देशको प्रमुख नाका वीरगन्जमा याततायत तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक माल समान रोकिएको छ। राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने समान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन। त्यसैैगरी वीरगन्जका उद्योगहरुमा तयार भएका मालसमान पनि निकासी हुन नपाएको उद्योगीहरुले बताएका छन्।

वीरगन्ज उद्योग बाािण्ज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाका अनुसार यहाँका व्यवसायीहरुले साउन १ गते बुधवार अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि वीरगन्जबाहिर सामान पठाउन पाएका छैनन्। मालवाहक साधनहरु भाडामा नपाएर उनीहरुको सामान वीरगन्जकै गोदाममा थन्किएर बसेको छ। वीरगन्जबाट स्वदेसी नम्बरको एउटा पनि लरी, ट्रक, प्लेटफर्म ट्रक वा टेलरमा मालसमान ओसारपसार हुन पाएको छैन। सरकारले लागु गरेको ‘भेइकल कन्साइन्मेन्ट ट्र्या्किङ सिस्टम’ (भीसीटीएस ) प्रणाली र ढुवानी व्यवसायमा सरकारले गत जेठ १५ को बजेटमार्फत लगाएको मुल्य अभिबृद्धी कर (भिएटी)ले गर्दा देशभरका यातायात तथा ढुवानी व्यवसायीसँगै वीरगन्जमा समेत ढुवानी व्यवसायी आन्दोलित छन्।

‘ढुवानी व्यवसाय सम्बद्ध संघ संघसंस्थाहरुले यो आन्दोलन घोषणा गरेका होइनन्, ढुवानी व्यवसायीहरु स्वतः स्फुर्त रुपमा आन्दोलित भएको अवस्था हो, ढुवानी कहिले खुल्नेमा कुनै ठेगान देखिदैन,’ ट्रान्सपोर्ट एशोसिएशन पर्साका अध्यक्ष बालकृष्ण बस्नेतले भने, ‘सरकारले हालै लागू गरेको व्यवस्था अव्यावहारिक भन्दै ढुवानी ब्यवसायिले आन्दोलन गरेका हुन्। ढुवानीमा मुल्य अभिबृद्धी कर (भ्याट) लागु भएको छ, अब भन्नु ढुवानी व्यवसायी खरिदकर्ता पनि होइनन, विक्रीकर्ता पनि होइनन् भ्याट कसरी दिउँ भन्ने सबैको भनाई छ।’ उनका अनुसार ढुवानी ब्यवसायीको भनाईमा भिसिटिएस पनि अव्यावहारिक छ। ‘वीरगन्जमा डाटा इन्ट्रि व्यवहारमा लागु गर्न कठिनाई छ, नेपालका धेरै ठाउँ जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ कसरी होला?’ उनले प्रश्न गरे।

आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई नै भीसीटीएसका बारेमा कसरी अनलाइन डाटा इन्ट्री गर्ने भन्नेबारे पर्याप्त जानकारी नभएको ढुवानी ब्यवसायी बताउँछन्। यस्तोमा यो लागु गर्न सहज नभएको उनीहरुले प्रतिक्रिया दिए। भीसीटीएसको नियम अनुसार ढुवानी व्यवसायीमा गल्ती भेंटिएमा कडा जरिवानाको प्रावधानले ढुवानी ब्यवसायी आत्तिएका हुन। ढुवानी व्यवसायीको आन्दोलनका कारण बुधवारयता वीरगन्जबाट नेपाली नम्बरका मालबाहक ट्रक तथा अन्य सवारीसाधन चलेका छैनन्। वीरगन्ज भन्सार र आइसिपीमा आएका सयौं गाडी निस्किन पाएका छैनन्। भारतीय नम्बरका मालवाहक गाडीमा आउने समान भने रोकिएको छैन। ‘डेढ २ सय गाडी आज पनि निस्किएका छन्, दैनिक निस्कि रहेको, हामी कहाँ आउने प्रायः भारतीय गाडी हुन्छन्, ती गाडीमा अवरोध छैन,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले भने।

सुक्खा बन्दरगाहमा भने २० फिट इकाइमा एक हजार २ सय भर्ती कन्टेनर थन्किन पुगेको सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका बरिष्ठ अधिकृत अनिमेश कुमारले बताए। ‘त्यस्तै साढे चार सय खाली कन्टेनर फिर्ता पठाउनका लागि ल्याउन बाँकी छ,,’ उनले भने, ‘हामी कहाँ चालिस हजार टन आयातित फलाम पनि थन्किएको छ।’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले आगामी आइतबारसम्म निकास निस्किने आशा गरेका छन्। ‘निकास निस्किएन भने समस्या हुन्छ, उद्योगहरुबाट मालसामान जान पाएको छैन, अब कच्चा पदार्थहरुको पनि अभाव बढ्दै जाने देखिन्छ,’ केडियाले भने, ‘सुक्खा बन्दरगाहबाट कन्टेनर ढुवानी सुचारु भएन भने उता कोलकताबाट रेक आउन समस्या हुन्छ, कन्टेनर रोकिँदा एक पटक फेरि डिटेन्सन (बिलम्ब शुल्क)को मार पर्ने छ।’
 

प्रकाशित: ४ श्रावण २०७६ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App