२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई गजुरेलकोे सुझाव, 'असुरक्षा भए सैनिक मुख्यालयमा डेरा सार'

काठमाडौं – नेकपा (क्रान्तिकारी–माओवादी) का नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सैनिक मुख्यालमा बस्न सुझाव दिएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा गजुरेलले भने, ‘बालुवाटारको हेडक्वार्टर सुरक्षित नभए प्रधानमन्त्री ओली भद्रकालीस्थित सेनाको हेडक्वार्टरमा गएर बसे हुन्छ तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुँदैन्। यो गलत छ।’ उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई असुरक्षा भए सुरक्षाकर्मी थप्न पनि सुझाव दिए।

गजुरेलले ओली नेतृत्वको सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको पनि बताए। उनले सरकार र विप्लव समूहबीचको वार्तालाई लिएर नेपाली जनता द्विविधामा रहेको बताए। ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ। दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्य आएका छन्। तर, जनता भने पूरै कन्फ्युजनमा छन्,’ उनले भने।

गजुरेलले भीडन्त हुँदै गए देश आन्तरिक गृहयुद्धमा फस्ने खतरा पनि औंल्याए। ‘अहिलेको परिस्थिति ल्याउनका लागि ओलीजीको सरकार जिम्मेवार छ,’ उनले भने, ‘उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत हो। प्रतिबन्ध लगाउनु हुँदैनथियो। संविधानमा पनि यो कुरा निषेध गरिएको छ।’

गजुरेलले ‘इन्काउन्टर’का नाममा सरकारले निहत्था जनता र फरक राजनीतिक आस्था बोकेका मानिसलाई मारिरहेको आरोप पनि लगाए। उनले सरकारले अचाक्ली कर वृद्धि गरेको आरोप पनि लगाए। ‘अब त जन्मिन र मर्न पनि डराउनुपर्ने भयो। जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो,’ गजुरेलले भने। साढे तेत्तीस केजी सुन प्रकरणमा सरकारले अहिलेसम्म एकजनालाई पनि कारबाही गर्न नसकेको भन्दै उनले जनताले त्यो सुन गृहमन्त्रीसँग भन्नेखालको अनुमान गर्न थालिसकेको बताए।

उनले ओली सरकार बनेपछि भू–माफियाहरु सलबलाएको र देशका महŒवपूर्ण ठाउँका जग्गा निजीकरण गर्ने काम भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीको सरकारी निवासको जग्गा नै व्यक्तिका नाममा बनाइसकेछन्। पशुपतिनाथको साढे सत्र सय रोपनी जग्गा पनि व्यक्तिका नाममा बनाउने काम भएको छ। तर, सरकार बेखबर छ,’ उनले भने। फरक प्रसंगमा उनले नेपाल इन्डो–प्यासिफिक स्ट्राटेजीमा सहभागी भइसकेको बताए।

प्रकाशित: ४ श्रावण २०७६ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App