१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कल नै आउँदैन ‘किसान कल सेन्टरमा’

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बन्द रहेको किसान कल सेन्टरको कार्यालय। तस्बिर : सविता/नागरिक

चितवन – किसानलाई विश्वविद्यालयसँग जोड्न कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले किसान कल सेन्टर स्थापना गरेको छ। कृषि मन्त्रालयसँगको सहकार्यमा विश्वविद्यालयको स्थापना दिवस पारेर गत वर्षको असार ३ गते कल सेन्टर खोलिएको हो। विश्वविद्यालय स्थापनापछिका उपलब्धिमध्येमा किसान कल सेन्टरलाई पनि प्रमुख उपलब्धिमा राखिएको भए पनि कल सेन्टर किसानको पहुँचमा पुग्न सकेको छैन।

कृषि उत्पादन र पशुपालन गर्दा आइपर्ने समस्या समाधानका लागि किसानले फोनमार्फत सम्पर्क गरेर विज्ञसँग राय, सल्लाह लिन सकून् भनेर कल सेन्टर स्थापना गरिएको हो। जसका लागि पैसा नलाग्ने फोन नम्बरमा फोन गरेर किसानले समस्या सुनाउन पाउने व्यवस्था गरिएको छ। निःशुल्क फोन गरेर विषय विज्ञबाट राय, सल्लाह पाइने कल सेन्टरमा किसानको फोन नै आउँदैनन्। कल सेन्टर स्थापना भएको एक वर्षको अवधिमा एक सय किसानको फोन आएको अनुमान कल सेन्टर हेर्दै आइरहेका विश्वविद्यालय उपप्राध्यापक रामहरि तिमिल्सिनाको छ।

कल सेन्टर स्थापना गरेको केही समय किसानको फोन आए पनि पछि भने आउन छाडेको उनी बताउँछन्। यस वर्ष पनि स्थापना दिवसको अवसरमा विश्वविद्यालयमा कृषि मेला हुँदा केही किसानको फोन आएको उनले बताए। ‘कहिलेकाहीं मात्र फोन आउँछ। अहिले फोन आउने दर छैन,’ उनी भन्छन्, ‘कहिले दिनभरि पनि आउँदैन। कहिले फोन आउँदा पनि नउठ्ने पनि हुन्छ।’ किसान कल सेन्टरकै लागि भनेर विश्वविद्यालयले कर्मचारीको व्यवस्था गरेको छैन। विश्वविद्यालयमा भएका अनुसन्धान र कृषि प्रविधिको प्रसार विषयमा प्राध्यापन गर्दै आएको भएर कल सेन्टर उनीसँग जोडिएको हो।

विश्वविद्यालयका प्राध्यापक, स्नातकोत्तर अध्ययनरत विद्यार्थी, कर्मचारी अनुकूल हुँदा कल सेन्टरमा बस्छन्। आधिकारिक कर्मचारीको व्यवस्था नभएकाले धेरैजसो समय कल सेन्टर बन्द हुन्छ। विश्वविद्यालयको अडियो, भिजुअल मिडिया रुममा कल सेन्टर राखिएको छ। विश्वविद्यालयमा कल सेन्टर कसरी बनाउन सकिन्छ भनेर नमुनाका रूपमा सुरु गरिएकाले एक वर्षको अवधि नाघे पनि अहिले परीक्षणमै रहेको उपप्राध्यापक तिमिल्सिना बताउँछन्। विश्वविद्यालय नै कृषि पढाउने, अनुसन्धान गर्ने र अध्ययन अनुसन्धानबाट पत्ता लागेका महत्वपूर्ण जानकारी प्रचारप्रसार गर्ने उद्देश्यका साथ १० वर्षअघि स्थापना भएको हो।

अध्ययन र अनुसन्धानबाट पत्ता लागेका जानकारी किसानसम्म पु-याउने र किसानले भोग्दै आएका समस्या छलफल गरेर समाधान गर्न सकिने भएकाले कल सेन्टरलाई कृषि प्रचारप्रसारको प्रमुख माध्यम मानिए पनि किसानले उपयोग गरेर फाइदा लिन सकेका छैनन्। कहिले कति किसानले फोन गरे र कति किसानलाई राय–सल्लाह दिइयो भन्ने यकिन तथ्यांकसमेत कल सेन्टरमा छैन। सञ्चालनको एक वर्षको अनुभवलाई समेटेर त्यसलाई अघि बढाउन प्राथमिकता दिनुपर्ने विषयलाई समावेश गरेर अवधारणापत्रसमेत तयार गरिएको छ।

फोन उठाउने, किसानले सोधेको कुरा विज्ञलाई भन्ने र किसानलाई समस्या समाधानको उपाय, सुझाव जानकारी दिन सफ्टवेयर विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै कृषि मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको उनले जानकारी दिए। कल सेन्टरको कार्यलाई व्यवस्थित र द्रुत बनाउन कर्मचारी व्यवस्थापन, विश्वविद्यालयका विभिन्न विभागबीच इन्टरकनेक्सनसहितको नेटवर्किङ आवश्यक रहेको उनी बताउँछन्। 

विश्वविद्यालयमा आबद्ध विज्ञ, वैज्ञानिक र विद्यार्थी मिलेर किसानका समस्या समाधानका लागि आवश्यक उपाय र सुझाव दिने अवधारणाअनुसार स्थापना भएको कल सेन्टरलाई व्यवस्थित गरेर लैजाने तयारीमा विश्वविद्यालय रहेको विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा. मनराज कोलाक्षपती बताउँछन्। कल सेन्टरको स्तरोन्नति गर्न कृषि मन्त्रालयसँग समन्वय गरेर सेन्टरको प्रभाकारिता बढाइने उनले बताए। कल सेन्टरको नम्बर १६६०५६५२७२७ रहेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App