१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विकासले निम्त्यायो विनाश

पाँचथरको तुम्बेवा गाउँपालिकामा पहिरोबाट क्षतिग्रस्त सडक। तस्बिरः नागरिक

पाँचथर– पर्याप्त प्राविधिक अध्ययन बेगरै जथाभावी बनाइएका सडक नै अन्ततः पहिरो खस्ने मुख्य कारण बनेका छन्। सडक बनाउने लोभमा जथाभावी पहाड खोतलिएको दुष्परिणाम पहिरोको रुपमा प्रकट भएको हो। यतिबेला पाँचथरमा यस्तै समस्या उत्कर्षमा छ।

‘सडक बनाउनका लागि जथाभावी पाखाभित्ता खोतलेर कमजोर पारियो’, पहिरोले त्रास खेपिरहेका अधिकांश जिल्लावासीको एकैस्वर छ, ‘अहिले त्यही सडक काल बन्ला भन्ने पीर भयो।’ जिल्लामा पछिल्लो समयमा सडक सञ्जाल पर्याप्त विस्तार भएको छ। तर, झरीले ठाउँ–ठाउँमा पहिरो खसेर सबैजसो अवरुद्ध छन्। यसले यात्रा कष्टप्रद त बनाएको छ नै, ज्यानकै जोखिम पनि उच्च पारेको छ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–७ का हेमचन्द्र रेग्मी चार जिल्ला घुमेर मात्रै फिदिम आइपुगे। जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक वर्षाका कारण अवरुद्ध भएपछि उनी ६ नम्बर बुधबारे हुँदै धनकुटा, मोरङको लेटाङबाट झापा र इलामको फन्को मारेर बल्ल सदरमुकाम फिदिम आइपुगेका हुन्।

‘सडक जताततै बिग्रिएको छ। कतै बगेको छ, कतै पहिरो खसेको छ। यसपटक त मुख्य सडक र भित्री गाउँ जाने सडकमा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘सडकहरू भत्किएका छन्।’ यस्तै सास्ती जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले भोग्नुपरेको छ। यहाँका ६० वटै वडाका टोल–टोलसम्म सडक पु¥याइएको छ। तर, केहीबाहेक अधिकांश ग्रामीण सडक सवारीसाधन चल्न सक्ने अवस्थामा छैनन्।

प्राविधिक अध्ययन नगरी जथाभावी बनाइएका सडकहरू क्षतविक्षत भएका छन्। पहाड छियाछिया हुने गरी बनाइएका सडकमा मात्र पहिरो छैन, यसले बस्तीहरूलाई समेत जोखिममा पारिदिएको छ। ठूलो ग्रामीण सडक सञ्जाल निर्माण भए पनि झरीका कारण यहाँका सीमित ठाउँमा मात्र गाडी चलिरहेका छन्। यहाँका आठ स्थानीय तहमध्ये मिक्लाजुङको केन्द्र रवि, फाल्गुनन्दको केन्द्र घुर्बिसे पञ्चमी, तुम्बेवाको केन्द्र मौवा, फालेलुङको केन्द्र थोक्लिम्बा र हिलिहाङको पञ्चमी जाने सडक अवरुद्ध भएका छन्। वर्षा हुने समयसम्म जथाभावी रुपमा स्काइभेटर चलाएर बनाएका सडकमा यतिबेला गाडी कुद्न सकिरहेका छैनन्। ग्राभेल गरिएका बाहेकका सडकमा गाडी कुदाउन नसकिने अवस्था छ। जिल्लामा ग्राभेल सडक मात्र छन्। सडककै कारण पहिरो जाने क्रम बढेको छ।

मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्डमा ठाउँ–ठाउँमा साना ठूला पहिरो खसेर सडक अवरुद्ध छ। च्याङथापु बजारसम्म दुःखले गाडी चले पनि त्यहाँभन्दा माथिको सडक अवरुद्ध रहेको स्थानीयले बताएका छन्।

भूगोल नै त्यस्तो भएकाले समस्या भएको आयोजना प्रमुख अभिमान मुल्मीले बताए। पटक– पटक अवरुद्ध भए पनि च्याङथापुसम्मको सडक खुलाउने काम भएको उनले बताए।

यही लोकमार्ग भएर बनेका धेरै सडक बिग्रिएका छन्। याङवरक गाउँपालिका–३ का वडाध्यक्ष मबिन योङयाका अनुसार मध्यपहाडी मार्ग जसोतसो चले पनि भित्री गाउँ जाने सडकहरू धेरैजसो अवरुद्ध छन्।

फिदिम फालोट सडक खण्डअन्तर्गत फिदिमको पुलभञ्ज्याङभन्दा माथि गाडी चल्न सकेको छैन। रवि–राँके, दशमी–मौवा, रवि–बुधबारे, फिदिम–फालोट, काउले–मेमेङलगायतका महत्त्वपूर्ण सडकसमेत अवरुद्ध छन्। पहाडलाई छियाछिया बनाउँदै टोलटोल पुगेका सडकहरूका कारण सयौँ ठाउँमा अवरोध छ। खोलाहरूमा पुल नहुँदा उत्तिकै समस्या छ। बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान समस्या हुने अवस्था भएको छ।

स्थानीय तह तथा विभिन्न सरकारी निकायले बाक्लो गरी सडक बनाएका छन्। तर, यी सडकहरू यस पटक पनि बर्खामा गाडी चल्न सक्ने अवस्थामा छैनन्।

जथाभावी बनाइएका सडकले जोखिम बढाएको छ। ग्रामीण क्षेत्रमा सडक र सडक आसपासबाट पहिरो खसेको छ। पहिरो बगेर बस्ती तथा घरहरू जोखिममा पर्दैछन्। जिल्लाको उत्तरी याङवरक–२ को विभिन्न ठाउँमा पहिरो जाँदा १४ परिवार विस्थापित भएर पालमुनि बसिरहेका छन्। निर्माण गरिएका सडक आसपासमा पहिरो बढी गएको स्थानीयको भनाइ छ। यहाँको पहिरोले लघुजलविद्युत् आयोजना, झोलुङ्गे पुललाई क्षति पुगेको छ।

यस्तै जोखिम २०७४ सालमा फालेलुङ गाउँपालिकामा भएको थियो। जथाभावी बनाइएको सडकको असरले गर्दा सयौं परिवार विस्थापित भएका थिए। यहाँका अधिकतर पहिरो सडक आसपासमा गएको थियो।

प्रकाशित: २ श्रावण २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App