१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

काठमाडौं - हलिउडको सुपरहिरो फिल्म ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायना संसारभर शान्ति स्थापना गर्न लागिपरेकी छन्। स्वयम्भूमा खुकुरी समातेर शान्त स्वभावमा बसेकी ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायनाको डिजिटल प्रिन्टका क्यानभासहरू बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा झुन्ड्याइएका छन्। नेपाली सांस्कृतिक सम्पदाको परिचय दिँदै उनका डिजिटल प्रिन्ट पुरुष सुपरहिरोको भीडमा अलग देखिएको छ। कलाकार सन्नी शाक्यको ‘टोयग्राफी’ शीर्षकको एकल कला प्रदर्शनी बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ। नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदाहरूमा हलिउड सुपरहिरो फिल्मका चर्चित पात्रहरूलाई नेपाली भेषभूषामा प्रस्तुत गरेर तयार गरिएको ५३ वटा डिजिटल प्रिन्टका क्यानभासहरू प्रदर्शनीमा राखिएका छन्। सुपरम्यान, स्पाइडरम्यान, हल्क, वन्डर वुमन र बार्बी गर्ल लगायत सुपरहिरो पात्रहरू डिजिटल फोटोहरूमा नेपाली जीवनशैली समावेश गरिएको छ।

कलाकार शाक्यले वन्डर वुमन, बार्बी गर्ल र हल्कलाई नेवारी संस्कृतिमा ‘वन्डर कान्छी’, ‘बार्बी मैंचा’ र ‘हल्कबहादुर’ का रुपमा देखाएका छन्। करिव नौ महिना लगाएर उनले डिजिटल प्रिन्टका क्यानभासहरू तयार गरेका छन्। उनले बसन्तपुर, स्वयम्भू, पाटन, भक्तपुर र पशुपति क्षेत्रलाई क्यानभासको पृष्ठभूमि बनाएका छन्। हलिउडका सुपरहिरो र अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तिहरूलाई नेपाली पृष्ठभूमिमार्फत प्रस्तुत गरेको हुँ। दर्शकलाई आकर्षित गर्ने यस्ता पात्रहरूलाई नेपालीपन दिन खोजेको हुनाले नेपालको संस्कृति र सम्पदाहरूलाई समावेश गरेको छु,’ उनले भने।

प्रर्दशनीमा ‘भिजिट नेपाल २०२०’, ‘हाइ ए एम मोना’, ‘दशैं आयो’, ‘सि चुज सुपरम्यान’, ‘हल्क्स् ट्याजिडी’, ‘वन्डर कान्छी वन्डरिङ अराउन्ड स्वयम्भू’, ‘क्याप्टेन अमेरिक एट पशुपति’, ‘स्पाइडरम्यान ः फार फ्रम होम’ र ‘सिंहदरवारमा गुठी आन्दोलन’ लगायत शीर्षकका डिजिटल प्रिन्ट राखिएका छन्।
‘सुपरहिरोहरूको खेलौनालाई आकर्षित बनाउन रंग थपेर विभिन्न सांस्कृतिक र प्राकृतिक सम्पदा क्षेत्रमा लगेर नेपालीपन दिने भेषभूषासहित फोटो खिचेर डिजिटल प्रिन्टलाई क्यानभासमा उतारिएको थियो,’ कलाकार शाक्यले भने, ‘नेपालीपन बोकेको सन्देशमूलक भाव क्यानभासमा समावेश छन्।’

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोदेखि लियोनल मेस्सीसम्मका डिजिटल फोटोहरूलाई नेपालको पृष्ठभूमिमा जोडेर गुठी विधेयक, माइतीघर मण्डलाो जुलुस, भूकम्पपछि क्षतिग्रस्त सम्पदा, त्रिभुवन विश्वविद्यालय, पोखराको फेवाताल र प्रदूर्षणमाथि व्यंग्य गर्दै प्रस्तुत गरिएको छ। नेपालको राष्ट्रिय झण्डाको डिजिटल प्रिन्टलाई उनले एकता र राष्ट्रियतासँग जोडेका छन्। ‘ नेपालको राष्ट्रिय झण्डाले एकताको सन्देश दिएको छ। नेपालीहरूलाई एक हुन आग्रह स्वरुप यो कलालाई प्राथमिकताको साथ तयार गरेको हुँ,’ उनले भने, ‘नेपालीहरूबीच आत्मीय भाव बढाउन भविष्यमा नेपालका विभिन्न समुदायलाई समेट्ने गरी काम गर्ने योजना बनाएको छु।’  प्रदर्शनी आगामी साउन ८ सम्म चल्नेछ।

प्रकाशित: २ श्रावण २०७६ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App