१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा बाढीले बगाएर २ को मृत्यु, दर्जनौं घाइते, सयौं विस्थापित

उदयपुर– साता दिनयताको अविरल वर्षाले उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ। जिल्लाको बेलका नगरपालिका १ तपेश्वरीका तारा श्रेष्ठको त्रियुगा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन्। शनिवार त्रियुगामा बाँधिएको पुरानो बाँध फुटेर घर डुबाएसँगै हराईरहेका श्रेष्ठ आइतबार खेतमा मृत फेला परेको स्थानीयको भनाइ छ।

खेतमा पानी घटेपछि मृत भेटिएको शव पहिचान गर्ने क्रममा श्रेष्ठको भएको जानकारी स्थानीयले प्रहरी चौकी भागलपुरलाई दिएका छन्। उनको शव चौकी र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले सर्जमिन मुचुल्का गरी पोष्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।

अघिल्लो दिन लामाखोलाले बगाएर बेपत्ता भएका चौदण्डीगढी नगरपालिका ४ बसाहाका ३५ वर्षीय मनकुमार तामाङको शव आइतबार भेटिएको छ। शनिबार विहान लामाखोलाको बाढीले कुकुर बगाएपछि बचाउन जाँदा बाढीमा फसेका तामाङको शव घट्नास्थलदेखि १ किलोमिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उदयपुरगढी गाउँपालिकाकै ४ नं. वडा डुम्रेका कुलबहादुर लो तामाङको गोठ बगाउनुका साथै पहिराेले किचेर गम्भीर घाइते बनाएको छ। पहिरोले गोठ बगाउदा गाउँ भैसी बगाउन लागेपछि बचाउन जाँदा पहिरोको ढुंगा लागेर दुवै खुट्टा भाँचिएर घाइते हुन पुगेको वडाध्यक्ष रामबहादुर घले मगरले बताए। वडाध्यक्ष मगरका अनुसार स्वास्थ्यचौकी उदयपुरगढीमा उपचार गराउन लगिएका उनको त्यहाँ उपचार संभव नभए पनि सडक भत्केका कारण सदरमुकाम गाईघाट र कटारीसम्म जान नसकेर तामाङको उपचार हुन सकिरहेको छैन।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार शनिबार दिउसो स्थानीय वैद्यनाथ खोला थुनिने गरी खसेको पहिरोसँगै उदयपुरगढी गाउँपालिका ६ दनुवारबेंसीस्थित धप्परका ४ घर दलित परिवारको घर गोठ सबै बगाएको छ। मान्छे भने सबै घरबाहिर भएकाले बच्न सफल भएका छन्। धप्पर पहाडै खसेर त्यहाँ रहेका राजन सार्की, नरबहादुर सार्की, मैते सार्की  र मदन सार्कीको घर, गोठ, बस्तुभाउ र अन्नपातलगायत घरभित्र रहेका सबै जिन्सी घरसँगै बगाएर पहिरोले पुरेको गाउँपालिकाका सूचना अधिकारी गुणराज श्रेष्ठले बताए। उनका अनुसार चारैजना पीडित परिवारलाई नेपालटारस्थित विद्यालयमा सुरक्षित राखेर गाउँपालिकाले खानेबस्ने व्यवस्था मिलाएको छ।

जिल्लाका ८ वटै स्थानीयतहका विभिन्न वडाहरुमा थुप्रै घरटहरा पहिरोले बगाएर सयौंलाई सुकुम्बासीमा परिणत गरिदिएको अनुमान गरिएको छ। प्रमुख जिल्ला अधिकारी ध्रुब श्रेष्ठले धेरैठाउँमा  पहिरो र कटानले धनमालको नष्ट भएको जानकारी आइरहेको भए पनि यकिन तथ्यांक लिन केही दिन कुर्नुपर्ने बताए। यकिन क्षतिको विवरण संकलन भइरहेको र घरवारविहीन हुनेको संख्या डरलाग्दो हुनसक्ने अनुमान सिडिओ खड्काको छ।

लिमचुङबुङ गाउँपालिकामा ५० घरभन्दा बढीको घर गोठ पहिरोले पुरेर सुकुम्बासी बनाएको प्राराम्भिक जानकारी आएको छ। प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार चालु आर्थिकवर्ष खनिएका सडक र पुराना सडक सबै पहिरोले भत्काएर आन्तरिक र सदरमुकाम आउजाउ गर्न ठप्प भएको छ। त्यस्तै ताप्ली गाउँपालिकामा गएको पहिरोले २३ घरधुरी विस्थापित भएर सुकुम्बासी बन्न पुगेको अध्यक्ष उद्धवसिंह थापाले बताएका छन्। उता रौतामाई गाउँपालिकामा दर्जन बढीको घर गोठ पहिरोले पुरको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताएका छन्।

त्रियुगा, कटारी, बेलाका र चौदण्डीगढी नगरपालिकाका समथर भेगमा डुबान, कटान र पहाडी भेगमा पहिरोको समस्या विकराल रहेको जनाइएको छ। विपतमा परेका सबैलाई स्थानीयतहहरुले आफै प्रारम्भिक राहत वितरण गर्दै सुरक्षित बसोबास र खानपानको व्यवस्था मिलाइरहेका छन्। जनप्रतिनिधिहरुको साथमा स्थानीय उद्योग बाणिज्य संघ र छिमेकीहरले पनि पीडितहरुको दुःखमा पल्हम लगाईरहेको खवर प्राप्त भएको छ।

प्रकाशित: २९ असार २०७६ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App