१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

नवलपुरस्थित सर्पदंश उपचार केन्द्र तथा तोडफोडबाट क्षति पुगेको आईसीयुको मोनिटर। तस्बिरः टंक/नागरिक

सर्लाही–उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ। सर्पदंशको बिगबिगी हुने मौसममा जनकपुर र वीरगंजबीचमा एकमात्र सुविधा सम्पन्न उपचार केन्द्र बन्द हुँदा त्यस्ता बिरामी  उपचारका लागि ढाढा जानुपर्ने बाध्यतामा परेका छन्।

जिल्लाकै हरिवन नगरपालिका–९, नयाँरोड निवासी पुष्कर बुढाथोकीकी साढे २ वर्षीया छोरी सम्पदाको उपचार हुँदाहुँदै मृत्यु भएपछि गत असार २३ गते सोमबार राती अस्पतालमा तोडफोड भएको थियो। साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्र ल्याइएकोमा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्त एवं स्थानीयले अस्पतालको भेन्टिलेटर, आइसियूलगायतका उपकरण एवं भवनको झ्यालका सिसाहरु फुटाइदिएका थिए। आफन्त एवं स्थानीयले स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेका कारण उपचारमा लापरबाही भएकाले बालिकाले ज्यान गुमाउनु परेको भन्दै अस्पतालमा तोडफोड गरेका हुन्।

गत जेठमा मात्र ल्याएर जडान गरिएको आईसीयु एवं भेन्टिलेटर लगायत उपकरण सञ्चालन गर्न नमिल्ने गरी तोडफोड भएपछि अस्पताल सञ्चालन गर्न नसकिएको व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए। ‘तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेको छ, निकै दुःख गरेर भेण्टिलेटर तथा आईसीयु जडान गरिएको थियो’, अध्यक्ष काफ्लेले भने, ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि समेत कुटपिट भएपछि उपचार सेवा बन्द गर्न बाध्य भएका छौं।’ सर्पले २ ठाउँमा टोकेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरेपनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले दाबी गरे।

सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्य चौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको ५ लाख गरी ३५ लाख रुपैंया खर्च गरेर आईसीयू एवं भेण्टिलेटर जडान गरिएको थियो।

मंगलबार बिहानै मात्रै ५ जना सर्पदंशका बिरामी फर्कनु परेको अस्पताल व्यवस्थापनले जनाएको छ। अस्पतालले मंगलबार बिहानै सूचना प्रकाशित गरी उपचार सेवा बन्द भएको जानकारी गराएको छ। अध्यक्ष काफ्लेले अस्पतालमा उचित सुरक्षा व्यवस्थासहित क्षति भएका उपकरणको वैकल्पिक व्यवस्था समेत मिलाउन प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला समक्ष आग्रह गरेका छन्।

सर्पदंशबाट बालकको मृत्यु
यसैबीच जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका–२, खैर्वा निवासी एक बालकको सर्पदंशबाट मृत्यु भएको छ। घरमा खेलिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि रौतहटको गौरतर्फ लैंजादै गर्दा स्थानीय शङ्कर साहका १० वर्षीय छोरा चन्दनको बाटैमा मृत्यु भएको हो। बालकलाई उपचारका लागि रौतहटको गौरतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको हो। महिना दिनयता जिल्लास्थित मलंगवा, कौडेना, हरिवन, घारीबथान र रामनगरमा सर्पले डसेर पाँच जनाको मृत्यु भइसकेको छ।

छानविन समिति गठन
नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बालिकाको मृत्यु एवं अस्पतालमा तोडफोड घटना छानविन गर्न बिहीबार समिति गठन भएको छ। घटनाबारे सत्यतथ्य बुझी दोषीलाई कारवाही गर्न छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

लालबन्दी नगरपालिकामा भएको सर्वपक्षिय छलफलबाट पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। सदरमकाम मलंगवा स्थित जिल्ला अस्पताल मलंगवाका डा. रुपेश यादवको संयोजकत्वमा गठन गरिएको समितिमा ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दीपककुमार आचार्य, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, सर्पदंश उपचार केन्द्रका अध्यक्ष बोधराज काफ्ले र मृतक बालिकाको आफन्तको तर्फबाट ईश्वर कार्की सदस्य रहेका छन्। समितिले घटनाको छानबिन गरी एक साताभित्र प्रमुख जिल्ला अधिकारी राउतसमक्ष प्रतिवेदन बुझाउने र घटनामा दोषी देखिएकालाई कारवाही गर्ने निर्णय भएको छ।

प्रकाशित: २६ असार २०७६ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App