१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टहरामा पढाइ बिथोलियो

रसुवाको डाँडागाउँ उमाविका विद्यार्थी

रसुवा– ‘घरबाट विद्यालय त गयो तर सधैं होहल्लामा पढाइ सकिन्छ,’ सरिता भन्छिन्, ‘अर्को कक्षामा पढाएको प्रस्टै सुनिन्छ, सरले पढाएकै बुझिन्न ।’

डाँडागाउँ उच्च माध्यमिक विद्यालय कक्षा ९ की सरिता ढकाल भूकम्पपछि विद्यालयमा राम्रो वातावरण नभएकामा चिन्तित छन् । भूकम्पले विद्यालय भत्काएपछि अस्थायी टहरामा उनको पढाइ बिथोलिएको छ । ‘साँगुरो अस्थायी टहरामा ४१ जना मुस्किलले अट्छन्, यताउता फर्कनसम्म मिल्दैन । अर्को कक्षाबाट आउने आवाजले पढाएको पनि राम्रोसँग सुनिँदैन,’ उनले भनिन् ।

‘अर्को कक्षाबाट पढाउने शिक्षकलाई एकछिन पख्नुस् म पढाउँदै छु भन्न मिलेन, पढाउन खोज्यो चारैतिरको होहल्ला हुन्छ’

भूकम्पपछि अस्थायी सिकाइ केन्द्रबाट विद्यालय सञ्चालन गर्नुपर्दा समस्या भइरहेको अंग्रेजी शिक्षक दशबहादुर शिवभक्ति बताउँछन् । ‘अंग्रेजी पढाउन पनि विद्यार्थीलाई गाह्रो भइरहेको छ,’ उनले भने, ‘अर्को कक्षाबाट पढाउने शिक्षकलाई एकछिन पख्नुस् म पढाउँदै छु भन्न पनि मिलेन । पढाउन खोज्यो चारैतिरको होहल्ला हुन्छ । बोर्डमा लेखेर जेनतेन पढाइरहेका छौं । अब केही समयपछि विद्यालय बनेपछि सहज होला ।’

सरिता पछि विज्ञान पढ्न चाहन्छिन् । तर, अहिले उनले विज्ञानको प्रयोगात्मक कक्षा लिन पाएकी छैनन् । ‘साइन्स पढ्ने सपना थियो, विद्यालयमा प्रयोगात्मक कक्षा नहुँदा घाटा हुने भयो,’ उनले भनिन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययरत शर्मिला तामाङको रुचिको विषय पनि विज्ञान हो, तर प्रयोगात्मक उपकरण नहुँदा उनी पनि विरक्तिएकी छिन् ।

विज्ञान प्रयोगशालाका सामान भूकम्पले ध्वस्त भएपछि विद्यार्थीको सिकाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरे बताउँछन् । ‘कक्षा ९ र १० का विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको छ,’ उनले भने, ‘गत वर्ष प्रवेशिका परीक्षा दिने विद्यार्थीलाई प्रयोगात्मक कक्षाबिनै परीक्षा दिन लगाइयो ।’

प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसक्दा पछि विज्ञान पढ्न चाहने विद्यार्थीलाई समस्या पर्ने उनको चिन्ता छ । ‘विज्ञानमा हुने सामान्य प्रयोगात्मक कक्षा दिन सके पनि उच्च शिक्षाका लागि विद्यार्थीलाई ठूलो आधार हुन्छ । दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर पानी बन्छ भनेर देखाउन सकियो भने न सिकाइ व्यावहारिक हुने हो,’ उनले भने ।

विद्यालय भवन नबन्दा र प्रयोगात्मक उपकरण नष्ट हुँदा डाँडागाउँ माविसँगै रसुवाका धेरै बालबालिकाको पढाइ प्रभावित बनेको छ । ‘भूकम्पअघि ढुक्क भएर पढिन्थ्यो, अहिले त्यस्तो अवस्था छैन,’ डाँडागाउँमै कक्षा ९ मा अध्ययनरत अनुज तामाङ भन्छन्, ‘घरमा गएर पढ्न बस्दा पनि बुझिँदैन, स्कुलमा हो–हल्लाले पूरै कक्षा बिथोलिन्छ, अब कहाँ गएर पढ्नू ?’डाँडागाउँका विद्यालय पुनर्निर्माण गर्ने जिम्मा जर्मन सहयोगअन्र्तगत जिआइजेडले पाएको छ । तर, डेढ वर्षसम्म पुनर्निर्माण नहुँदा विद्यार्थी टहरामै कष्टकर रुपमा पढ्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालय रसुवाको तथ्यांक अनुसार जिल्लाभर ९९ प्रतिशत विद्यालय भूकम्पले क्षतविक्षत छन् । सबै ठाउँमा हाल अस्थायी सिकाइ केन्द्रबाट पढाइ भइरहेको छ ।

विद्यालय भवन बन्न नसक्दा यहाँ टहरामा पढ्ने विद्यार्थीको अवस्था दयनीय छ । पानी पर्दा टहराभित्र पानी पसेर विद्यार्थी निथ्रुक्कै हुन्छन् भने घाम लाग्दा खलखली पसिनासँग बालबालिका पढन् बाध्य छन् ।


 

प्रकाशित: १८ कार्तिक २०७३ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App