१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीको दुर्गममा बल्ल बिजुली

सर्लाही - सर्लाहीलाई तराईको सुगम जिल्ला मानिन्छ। तर यही जिल्लाभित्र दुर्गम भनेर परिचित साबिकको नारायणखोला गाविस छ। अहिले लालबन्दी नगरपालिका–१४ मा पर्ने सो ठाउँमा बल्ल बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले शनिबार साँझबाट नारायणखोलामा विद्युत् आपूर्ति गरेको हो। बिजुली पुगेसँगै स्थानीय खुसीले फुरुंग छन्।

पूर्व–पश्चिम राजमार्गबाट लखन्देही खोलैखोला भएर झन्डै १५ किलोमिटर यात्रा गरेपछि नारायणखोला गाउँ पुगिन्छ। वर्षायाममा लखन्देहीमा बाढी आउँदा सडक अवरुद्ध हुने भएकाले जिल्लासँग नारायणखोलावासीको सम्पर्क विच्छेदजत्तिकै हुन्छ। बिजुली पुगेपछि नारायणखोलाका ४ सयभन्दा बढी घरधुरी लाभान्वित हुने नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख विजय महतोले जानकारी दिए। महतोका अनुसार पहिलो चरणमा सत्रकट्ठा, घुमाउने र मोटरदोभानसम्म बिजुली पु¥याइएको छ। विद्युतीकरणका लागि लाबन्दी नगरपालिका, प्रदेशसभा सदस्य बेची लुंगेलीको तराई–मधेस क्षेत्र विकास कार्यक्रम तथा प्राधिकरणको संयुक्त खर्च भएको महतोले जानकारी दिए। ‘११ हजार केभीए लाइनका लागि विद्युत प्राधिकरणले ८० लाख खर्च गरेको छ,’ महतोले भने, ‘गाउँमा थप विद्युतीकरणका लागि प्रदेश सांसद बेची लुंगेलीको तराई–मधेस विकास कार्यक्रमबाट १० लाख तथा लालबन्दी नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको छ।’

अधिकांश नारायणखोलावासीले लामो समयदेखि टुकी बत्ती र केहीले सोलार बत्तीको प्रयोग गदैृ आएका थिए। टुकीबत्ती र सोलारका भरमा रहँदै आएका नारायणखोलावासीलाई विद्युतीकरणले ठूलो राहत दिएको स्थानीय रोशन दोङले जानकारी दिए। ‘अहिलेसम्म टुकी बत्तीका भरमा थियौं,’ उनले भने, ‘बिजुली आएपछि अब भने गाउँ नै झलमल्ल भएको छ, केही दिनमा मिटरसमेत जोडेर घर–घरमा बत्ती बाल्छौं।’ बिजुली बत्ती बलेको खुसियालीमा कतिपय गाउँले शनिबार रातभर नसुतेर रमाइलो गरेको स्थानीयले बताए।

स्थानीयवासीबाट घरमा बत्ती बाल्न विद्युत् मिटर माग भएको र केही दिनभित्रै मिटर उपलब्ध गराइने प्राधिकरण प्रमुख महतोले जानकारी दिए। जिल्लावासी पूर्वऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले नारायणखोलामा बिजुली पुग्नु सराहानीय कार्य भएको बताए। ‘म ऊर्जा राज्यमन्त्री हुँदैखेरि विद्युतीकरणको योजना राखेको थिएँ,’ श्रेष्ठले भने, ‘सबैको सहयोग अनि समन्वयमा आज नारायणखोलामा बिजुली पुग्दा अत्यन्त खुसी लागेको छ।’

प्रकाशित: २६ असार २०७६ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App