१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वर्षाले सर्लाहीका किसान हर्षित

मुसलधारे वर्षाबीच हरिवन बजारमा छाता ओडेर गफिँदै सर्वसाधारण। तस्बिर : टंक/नागरिक

सर्लाही – बुधबारको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपछिको वर्षाले उखु, मकै, तरकारी लगायत बालीलाई निकै राहत पुगेको किसानले बताएका छन्। लामो खडेरीका कारण सुकेर सखाप हुने अवस्थामा रहेको उखुलाई ढिलै भए पनि परेको आकाशे पानीले निकै राहत पुगेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। ‘उखु सुकेर सखाप हुने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘यो पानीले निकै राहत महसुस भएको छ।’

त्यस्तै परबल, बोडी लगायत तरकारी बाली समेत खडेरीले खाएर दुःखी बनेका किसानलाई बुधबारको वर्षाले हर्षित बनाएको छ। मंगलबार रातिदेखि नै हल्का भइरहेको वर्षाले बुधबार बिहान मुसलधारे रुप धारण गरेको छ। असार बित्न लाग्दा समेत धान रोपाइँ गर्न नपाएका किसानमा मुसलधारे वर्षाले आस जगाएको छ। खेतमा राखेको ब्याड छिप्पिने तथा सुक्न समेत थालिसकेको अवस्थामा मुसलधारे वर्षा भएपछि धान रोपाइँ हुनेमा किसान आशावादी बनेका छन्।

बागमती सिचाइँ आयोजनाले समेत केही अघिसम्म नहरमा पानी नछाडेका कारण किसान पीडित बन्दै आएका थिए। सर्लाहीमा ४० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुन्छ। २५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ।

प्रकाशित: २६ असार २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App