१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपचार खाेज्न प्रदेशबाहिर

सुनसान अवस्थामा बझाङ जिल्ला अस्पताल। तस्बिर : जगत/नागरिक

धनगढी - गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

उनी मात्रै होइन, सुदूरपश्चिमका बिरामी धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश ५ को कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज या भारतका लखनउ, पलिया, बरेली, सीतारगन्ज जाने गरेका छन्। उपचारका लागि धनगढीलाई अन्तिम गन्तव्य मानेर पहाडबाट आए पनि बाहिरै रेफर गरिँदा समस्यामा पर्ने गरेको डोटी मान्नाकापडीका रामचन्द्र जोशीले बताए। ‘पहाडबाट राम्रो उपचार पाइन्छ भनेर धनगढी आइन्छ,’ उनले भने, ‘यहाँ आउँदा पनि भारतका लखनउ, बरेलीलगायत ठाउँतिर रेफर गरिन्छ या त कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमै पठाइन्छ।’ थोरै पैसा र आफन्तको सहयोगका लागि धनगढी आउने अधिकांश बिरामी धनगढीबाटै रेफर गरिँदा बाहिर जानुपर्ने समस्याले पिरोलिने गरेको उनको भनाइ छ। ‘धनगढीमा उपचार पाउँदा कमसेकम आफन्तहरुको सहयोग पाइन्छ,’ उनले भने, ‘धनगढीबाहिर पठाइयो भने त साह्रै दुःख पाइन्छ, आफन्त कोही हुँदैनन्, थप आर्थिक भार पनि बेहोर्नुपर्छ। त्योभन्दा बढी त तरिका नबुझ्दा झन्झटमा फस्नुपर्ने बाध्यता छ।’

बझाङ सदरमुकाम चैनपुरका नौ वर्षीय विशाल खत्री गत हप्ता खेल्दाखेल्दै छिमेकीको छतबाट खसे। उनको दुवै हातमा चोट लाग्यो। अन्य स्वास्थ्य अवस्था सामान्य भए पनि उनको उपचार जिल्ला अस्पताल सिमखेतमा हुन सकेन। त्यहाँ नहुने भएपछि बुबा कवि खत्रीले एम्बुलेन्स रिजर्भ गरेर धनगढीस्थित एक निजी अस्पतालमा लगे। जिल्ला अस्पतालमा सबै सेवा पाइने भए पनि आवश्यक उपकरण र चिकित्सक अभावका कारण उनले चर्को खर्च बेहोरेर धनगढीमा उपचारका लागि छोरालाई लग्नुपरेको हो। ‘छोरालाई जिल्ला अस्पताल लैजाँदा समयमा डाक्टर नभेटिएपछि धनगढी लैजानुप¥यो,’ बुबा कविले भने, ‘घरआँगनमै भएको अस्पताल छाडेर महँगोमा उपचार गर्न धनगढी पुग्नुप¥यो।’ जिल्ला अस्पतालले सुविधा नदिँदा पाँच सय रुपैयाँमा हुने उपचारका लागि ३५ हजार रुपैयाँ खर्चपरेको गुनासो उनको छ।

उनी मात्रै होइन, बिरामी हुनेबित्तिकै जोकोही पनि ऋण काढेरै धनगढी पुग्छन्। त्यहाँ पनि उपचार सम्भव नहुँदा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लाग्ने गरेको केदारस्यु गाउँपालिका–१ बझाङका मानबहादुर बोहराले बताए। ‘हाम्रो जिल्लामा त उपचार नै पाइँदैन, त्यो पनि सामान्य उपचारका लागि बिरामीलाई धनगढी पु¥याए पनि कोहलपुर या त भारतको लखनउ रेफर गरिन्छ,’ उनले भने। बझाङ सदरमुकाम चैनपुरस्थित जिल्ला अस्पतालमा एक डाक्टरको पालो कुरेर उपचारका लागि बस्दा बिरामीलाई थप पीडा हुने गरेको उनले सुनाए। बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको सात महिना बढी भइसकेको छ। ‘न डाक्टर छन्, न त सामान्य दुखाइमा खाने सिटामोल नै छ,’ बोहराले भने, ‘यस्तो अवस्थामा हामीले गाउँघरमै सहजै उपचार कसरी पाउने ?’

सरकारले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ४० प्रकारका औषधि निःशुल्क दिने भने पनि बझाङको जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र र ४५ स्वास्थ्य चौकीमा निःशुल्क पाइने त्यस्ता कुनै औषधि बिरामीले पाउन सकेका छैनन्। त्यस्तै डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालबाट स्तरोन्नति गरेर डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवासहित उपचार पाइने भन्दै प्रचारप्रसार भयो। डडेल्धुरा अस्पतालमा चिकित्सकले दिने सेवासुविधा तत्कालै पाइने भनेर जति प्रचारप्रसार गरिए पनि सामान्य उपचारका लागि समेत औषधि पाउन सकस छ यहाँ।

संघीय सरकारको मातहतमा रहनेगरी गत फागुनमा उपक्षेत्रीय अस्पतालबाट डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरिएको भनिए पनि अहिलेसम्म के–कति जनशक्ति रहने भन्ने टुंगो लाग्न नसक्दा बिरामीले उपचारै पाउन सकेका छैनन्। सय शड्ढयाको उपक्षेत्रीय अस्पतालमा एक सय नौ जना स्वास्थ्यकर्मी रहने व्यवस्था थियो। तर हाल आएर विशेष विशेषज्ञ सेवासहितको डडेल्धुरा अस्पताल बनाइए पनि पर्याप्त जनशक्ति नहुँदा बिरामीले सहजै उपचार पाउन सकेका छैनन्। ‘अस्पतालमा के–कति चिकित्सक दरबन्दी छ, त्यो थाहै छैन,’ अस्पतालका मेडिकल सुपरटेन्डेन्ट जितेन्द्र कँडेलले भने, ‘चिकित्सक नहुँदा बिरामीलाई अस्पतालबाट बाहिर रेफर गर्नुपरेको छ।’ उनले थपे, ‘हामी थप उपचारका लागि यहाँबाट धनगढी पठाउँछौं, धनगढीले कहाँ पठाउँछ थाहा भएन।’ पहाडी जिल्लामा रोड ट्राफिक एक्सिडेन्ट हुने र त्यस्ता केसमा टाउकोमा धेरै चोट लाग्ने प्रकृतिका, टाउकोसम्बन्धी न्युरो केस आजका दिनसम्म सम्भव नभएको उनको भनाइ छ। उनले भने, ‘उपकरण र आवश्यक चिकित्सक नहुँदा सडक दुर्घटनाका केसमा त हामी हातै हाल्दैनौं।’ बैतडीस्थित जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले समयमै उपचार पाउन सकेका छैनन्। बिरामीलाई अत्यधिक रोगले च्यापेपछि मात्रै उपचारका लागि कर्जा सापट गरेर प्रदेश बाहिरका ठूला अस्पतालमा जाने गरेका छन्। कतिपय बिरामीलाई रोगले च्यापिसकेपछि उपचार सम्भव नभएपछि अकालमै ज्यान गुमाउनुपरेको बैतडीका नन्दराज भट्टले बताए। उनले भने, ‘हाम्रो जिल्लामा बिरामीले सामान्य उपचार पनि पाउन सकेका छैनन्।’ उनले बिरामीले थप उपचारका लागि भारतका ठूला सहरमा जानुपर्ने बाध्यता रहेको सुनाए। सुदूरपश्चिमका दार्चुला, बाजुरा, अछाम र डोटीमा पनि उपचारका लागि उस्तै समस्या रहेको छ।(पुष्पराज जोशी/कैलाली, जगत खड्का/बझाङ, बिरा गडाल/बैतडी र पुष्कर भण्डारी/डडेल्धुराको सहयोगमा)

प्रकाशित: २६ असार २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App