१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अार्इएसकाे कब्जाबाट मुक्त हुँदै मोसुल सहर

बगदाद– विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेको इराकको मोसुल सहरको बाहिरी इलाकामा इराकी विशेष सुरक्षा फौज प्रवेश गरेको छ । दुई वर्षयता आइएसको कब्जामा रहेको सहरमा सरकारी सेना पहिलो पटक छिर्न सफल भएको हो ।

प्रति आतंकवाद हेर्ने निकायका फौजले पूर्वी क्षेत्रमा हमला थालेको केही घण्टापछि गगजालीस्थित आइएसको नियन्त्रणमा रहेको सरकारी टेलिभिजनको भवनलाई आफ्नो कब्जामा लिएका छन् । मोसुल सहरलाई विद्रोही समूहले सन् २०१४ को जुन महिनादेखि आफ्नो नियन्त्रणमा लिएको थियो ।

सरकारका प्रवक्ता सबाह अल नुमानले सरकारी सेनाले घर घरमा पुगेर लडाइँ गर्ने जानकारी गराएका छन् । देशको उत्तरमा अवस्थित मसुललाई आइएसको गढ मानिने गरेको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल सहरभित्र आइएसका ३ देखि ५ हजार विद्रोही लडाकुहरु रहेको ठानिएको बताएका छन् ।

सन् २०१४ को जुन महिनामा मोसुल सहर प्रवेश गरेका ती लडाकुहरुसँग अब आत्मसमर्पण गर्नु वा मारिनु बाहेक अन्य विकल्प नरहेको प्रधानमन्त्री अबादीले बताए ।

आइएसको बलियो पकड रहेको उक्त सहरबाट उनीहरुलाई हटाउनका लागि दुईसाता यता भएका आक्रमणमा इराकको सुरक्षा फौज, कुर्द लडाकुहरु, सिया मिलिसिया गरी ५० हजार लडाकुहरु सहभागी छन् ।

मोसुल सहरभित्र प्रवेश गर्न खोजिरहेका सरकारी फौज विद्रोहीले प्रहार गरेका रकेट, मोर्टार र बन्दुक हमलाको निशानामा परेका थिए ।

प्रति आतंकवाद हेर्ने निकाय सिटिएसले मोसुल सहरको बाहिरी इलाकामा कब्जा गर्न बाँकी रहेको अन्तिम गाउँ बाज्वाअलाई सोमबार सखारै आफ्नो नियन्त्रणमा लिएको थियो । त्यहाँबाट नै उनीहरु गगजालीको औद्योगिक क्षेत्रमा प्रवेश गरेका हुन् । ती फौजलाई लक्षित गर्दै विद्रोहीहरुले पटकपटक आक्रमणको प्रयास गरेका थिए । उक्त क्षेत्रमा दिनभरी एकदमै हिंसात्मक भिडन्तहरु भएका थिए ।

अमेरिकी सेनाका प्रवक्ता जान डोरियनले आइएस लडाकुका सामु आत्मसमर्पणको विकल्प नभएको बताएका छन् । उनले भने, ‘उनीहरु लडे भने मारिन्छन्, भागे भने पकडाउ खान्छन् वा मारिन्छन् । बेलैमा आत्मसमर्पण गरे  उनीहरुको भलाई हुन्छ । उनीहरुले मोसुलका जनताका साथ जति ज्यादती गरेका छन् त्यो सम्झेर पनि इराकी सेनाले उनीहरुलाई यहाँ चैनले बस्न दिँदैनन् ।’

तर मोसुलमा लडाइँ चलिरहँदा संयुक्त राष्ट्रसंघले भने त्यहाँ बसोबास गरिरहेका १५ लाख मानिसको सुरक्षाको बारेमा चिन्ता गरिरहेको छ । संघले आइएस लडाकुले आम नागरिकलाई ढाल बनाएको र अस्विकार गर्ने धेरैको हत्या गरेको बताएको छ ।

प्रकाशित: १८ कार्तिक २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App