१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

वासिङटन–  राष्ट्रपति चुनावको प्रचारका क्रममा हिलारी क्लिन्टनलाई एउटा प्रश्नले लगातार पिछा गरिरहेको छ । यो प्रश्न गुगलमा पनि हजारौं पटक खोजिएको छ । धेरै अमेरिकीसँगै विश्वकै चासोमा रहेको सो प्रश्न हो, ‘यदि हिलारी राष्ट्रपति भइन् भने उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई के भनेर सम्बोधन गर्ने ?’

दुनियाँको दृष्टान्त हेर्ने हो पनि बिल क्लिन्टनको सम्भावित भूमिकाका बारेमा किटान गरेर भन्न सक्ने अवस्था छैन । जर्मन र हालसालै ब्रिटेनमा पनि कार्यकारी प्रमुख महिला भएका छन् । जर्मन चान्सलर  एंगेला मर्केलका पति योआखिम जाउअर जर्मनमा आफ्नै नामले परिचित छन् । यस्तै ब्रिटेनकी प्रधानमन्त्री टेरेजा मेका पति फिलिप जान पनि आफ्नै नामले बोलाइन्छन् ।

जर्मनमा जस्तै ब्रिटेनमा पनि निर्वाचित प्रमुखका जीवनसाथीका लागि बेग्दै पद छैनन् । तर अमेरिकाको ह्वाइट हाउसमा बस्नेकी संगीनीलाई परम्परागत रुममा नै ‘फस्ट लेडी’ भनिने गरिएको छ । तर महिला नै राष्ट्रपति हुँदा के भन्ने ? धेरैको चासो बनेको छ ।

यसअघि अमेरिकामा कहिलैपनि महिला राष्ट्रपति भएका छैनन् । तर अमेरिकाका थुप्रै राज्यमा महिला गर्भनर निर्वाचित भएका छन् र उनीहरुका पतिलाई आधिकारिक रुपमा ‘फस्ट जेन्टलमेन’ भनिने गरेको छ । अमेरिकामा अहिले ६ वटा राज्यमा यस्ता ‘फस्ट जेन्टलमेन’ रहेको बताइएको छ । डेमोक्रेटिकको राष्ट्रिय सम्मेलनको समयमा बिल क्लिन्टनको भाषणपछि माथिको प्रश्न सामाजिक सञ्जालमा ट्रेंड भइरहेको थियो ।

गुगलमा समेत यसको जवाफ खुबै खोज्ने प्रयास गरिएको थियो । तर धेरैले ‘फस्ट लेडी’ जति राम्रो सुनिन्छ ‘फस्ट जेन्टलमेन’ उति राम्रो नसुनिने भन्दै विकल्प खोज्न आग्रह गरेका थिए । तर केहीले भने क्लिन्टनको मोनिका कान्डको उल्लेख गर्दै उनलाई ‘फस्ट ड्युड’ वा ‘फस्ट व्वाई’ भन्न सुझाव दिएका थिए ।

अघिल्लो वर्षको जिमी किमलेको शोमा हिलारीले सोही प्रश्नको उत्तर दिँदै यसको जवाफ खोज्नु पर्ने कुरामा जोड दिएकी थिइन् । उनले अझ बिल क्लिन्टन त पूर्व राष्ट्रपति समेत भएकाले उनको पहिचान टुंग्याउने गाह्रो हुने बताएकी थिइन् ।
तर मंगलबार बिल क्लिन्टनले हिलारीले चुनाव नजितेसम्म यो विषयमा टाउको नदुखाउन समर्थकलाई आग्रह गरेका थिए । ‘यदि उनले चुनाव जितिन् भने म उनले भेटन्े ज्याला तिर्नु नपर्ने गज्जबको मजदुर हुनेछ,’ बिलले भनेका छन् ।
निर्दोष ठहरिने हिलारी आस

डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइको जारी अनुसन्धानले आफूलाई निर्दोष साबित गर्नेमा विश्वस्त रहेको बताएकी छन् ।

यसअघि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसले क्लिन्टनका इमेलमाथि गरिरहेको अनुसन्धान चुनाव प्रभावित पार्ने उद्देश्यले भएको भन्ने विश्वास आफूलाई नलागेको प्रतिक्रिया दिएको थियो । गएको जुलाईमा एफबीआइका निर्देशक जेम्स कोमीले क्लिन्टनले एकदमै हेलचेक्र्याइँ गरेको देखिए पनि उनीविरुद्ध फौजदारी मुद्दा लगाउने आधार नरहेको निष्कर्ष निकालेका थिए ।

तर शुक्रबार संसदलाई जानकारी गराउँदै उनले थप इमेलहरु प्राप्त भएकाले एफबीआइको जाँच पुनः शुरु गरिएको बताएका थिए । एउटा ¥यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति उम्मेदवार क्लिन्टनले गएको जुलाईमा आफूले कुनै फौजदारी कसुर नगरेको निष्कर्षमा पुगेको एफबीआइ अब पनि त्यस्तै निचोडमा पुग्ने बताएकी हुन् ।

यसअघि गएको शुक्रबार एफबीआइले निजी सर्भरबाट पठाइएका उनका थप इमेलहरुबारे अनुसन्धान गरिरहेको घोषणा गरेको थियो । अघिल्लो वर्षको मार्च महिनामा क्लिन्टनले सन् २००९ देखि २०१३ सम्म निजी इमेल सर्भरको प्रयोग गरि संघीय कानुन तोडेको विषय सतहमा आएको थियो ।

ह्वाइट हाउसले एफबीआइका प्रमुखको नियतमा शङ्का नलागेको प्रतिक्रिया दिएको छ । उनका वकिलले कामसँग सम्बन्धित ३० हजार इमेल अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध गराए पनि चुनावी अभियानले ३३ हजार इमेल हटाइदिएको थियो ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App