१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘कर्णालीकी बुहारी’ र ‘इन्द्रधनुष’ सार्वजनिक

काठमाडौं - लेखक बसन्ती शाहीद्वारा लिखित ‘कर्णालीकी बुहारी’ निबन्धसंग्रह शनिबार विमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका हुन्। विमोचित पुस्तकमा कर्णाली प्रदेशका महिलाले भोग्नुपरेका दुःख, पीडालाई यथार्थ रूपमा चित्रण गरिएको समीक्षकहरूले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले आफूले ५०औं वर्षपछि कर्णालीको विषयमा लेखिएको यथार्थमा आधारित नयाँ पुस्तक पढ्न पाएकोमा खुसी व्यक्त गरे। आफू वर्र्षौं पहिला कर्णाली जाँदा देखेका र अनुभूत गरेका कुरा पनि पुस्तकमा समेटिएको बताउँदै उनले सत्यतथ्यमा आधारित पुस्तक प्रचारप्रसारमा आउनु सबल पक्ष रहेको बताए।

सोही कार्यक्रममा सञ्चारकर्मी मैनालीले अन्य प्रकाशित पुस्तकमा नपाइने विचार, दृष्टिकोण यस पुस्तकमा रहेको बताए। उनका अनुसार पुस्तकमा लेखक स्वयं आफैंले भोगेका दुःख, पीडा र गरिब तथा निमुखा वर्गले पाएको दुःखको समेत चित्रण गरिएको छ। त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य भुसालले कर्णाली क्षेत्रको रहनसहनका साथै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि पुस्तकमा समेटिएको बताइन्।

लेखक शाहीले विमोचित कृति उनको जिन्दगीको गराइ, देखाइ र भोगाइमा आधारित रहेको बताइन्। सोही कार्यक्रममा प्रमुख अतिथि जोशीलाई स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्लाले दोसल्ला ओढाएर सम्मान गरेको थियो।  

यसैगरी, बालाजुस्थित सिद्धार्थ बनस्थली इनस्च्यिुटमा कवि डा. रामप्रसाद ज्ञवालीको गीत, कविताको गायन, वाचन तथा कवितासङ्ग्रह ‘इन्द्रधनुष’ पनि विमोचन गरिएको छ। ५२ वर्षिय लेखक ज्ञवालीको यो १०७औं कृति हो भने साहित्यिक पुस्तकका रूपमा ४७औं कृति हो। उक्त कवितासङ्ग्रह भुँडीपुराणबाट प्रकाशन गरिएको छ।
कहिले समालोचक कहिले शिक्षक त कहिले साहित्यकारका रुपमा विभिन्न क्षेत्रमा देखिने उनले रातीको समयमा गीत, कविताको रचना गर्ने गर्छन्। ‘बौलाहा कुकुरलाई मार्नैपर्छ’ उनको चर्चित कविता हो।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका सद्धार्थ बनस्थली इनस्च्यिुटका अध्यक्ष लक्ष्मणराज जोशीले कविहरूको सम्मेलनमा गीत र कविता सुन्न पाउँदा आभार प्रकट गरे। लेखक ज्ञवालीले आफैले रचना गरेको गायनप्रस्तुतिबाट कार्यक्रममा उपस्थित महानुभावको स्वागत गरेका थिए। साथसाथै सोही विद्यालयका छात्रछात्राले नृत्य समेत प्रदशन गरेका थिए। कार्यक्रममा नेता, सांसद, साहित्यकार र शिक्षकहरूको उपस्थिति थियो।

प्रकाशित: २३ असार २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App