१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनसँग इटालीको बदला

पेरिस- जर्जियो चिलियानी र ग्राजियानो पेलेको गोलमा इटालीले स्पेनमाथि २-० को विजयी नतिजा निकाल्दै दुई पटकको साविक विजेताको युरोपियन च्याम्पियनसिप यात्रा अन्तिम १६ मा पूर्णविराम लगाएको छ।

चिलियानीले ३३ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा इन्जुरी समयमा पेलेले गोल थप्दै पेलेले इटालीको जित पक्का गरेका थिए। अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लिन सफल इटाली जितपछि क्वार्टरफाइनल पुग्न सफल भएको छ। क्वार्टरफाइनलमा इटालीले विश्व च्याम्पियन जर्मनीको सामना गर्नेछ। भिसेन्टे डेल बोस्कीको स्पेन भने पराजयपछि घर फर्किएको छ।

इडरको लो फ्रि–किक स्पेनका गोलकिपर डेविड डी जियाले बचाए पनि रिबाउन्डमा आएको मौकाको चिलियानीले उपयोग गरेका थिए। डाइभ गर्दै डी जियाले फर्काएको बल टिम सहयात्रीले फ्िलक गरेपछि चिलियानीले बललाई गोलको दिशा दिएका थिए।

पहिलो हाफसम्म खेलमा नियन्त्रण राखे पनि मध्यान्तरपछि स्पेनले गति बढाएको थियो। स्पेन स्वभाविक लयमा फर्किएपछि दोस्रो हाफ इटालीले पूरा दबाबमा खेल्नुपर्‍यो। स्पेनको …टिकी टाका' शैली सफल हुँदा दोस्रो हाफमा एकसमय साविक विजेताले बल पोसेसन ७५ प्रतिसत आफ्नो पक्षमा राख्न सफल भयो। समग्रमा भने बल पोसेसन स्पेनको पक्षमा ५५ प्रतिसतको रहयो। स्पेनले अन्तिम समयमा विपक्षी पोस्टमा निरन्तर धावा बोलिरहँदा इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन निकै व्यस्त भएका थिए। उनले दुई पटक विपक्षीका खतरनाक प्रहार जोगाएर इटालीको विजयआधार कायम राखेका थिए। आन्द्रियास इनियस्टाले लामो दुरीबाट प्रहार गरेको कडा सट र जेरार्ड पिकेले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार बुफोनले उत्कृष्ट ढंगमा जोगाएका थिए।

दोस्रो हाफमा स्पेन आक्रामक रुपमा प्रस्तुत हुँदा एन्टोनियो कोन्टेको इटालीले भने रक्षात्मक रणनीति अपनाएको थियो। बुफोनसहितको रक्षापंक्ति अत्यन्त व्यस्त भइरहेका बेला काउन्टर अट्याकमा गोल गर्दै पेलेले इटालीको जित पक्का गरेका थिए। पेलेले गोल गरेपछि केही वेरअघिमात्र गोलको सुनौलो मौकामा चुकेका स्पेनका पिकेको आँखा आँसुले भरिएको थियो। वैकल्पिक खेलाडी माटियो डर्मियानले पेनाल्टी बक्सभित्र मिलाइदिएको बललाई पेलेले गोलमा परिणत गरेका थिए।

चार वर्षअघि पोल्यान्ड र युक्रेनले संयुक्त रुपमा युरोपियन च्याम्पियनसिपको अघिल्लो संस्करण आयोजना गर्दा स्पेनले फाइनलमा इटालीलाई ४–० को एकतर्फी नतिजामा हराउँदै उपाधि रक्षा गरेको थियो।

सोमबारको हारपछि स्पेनिस फुटबलको स्वर्णिम पुश्ताका उपलब्धीहरुमा पनि पूर्णविराम लागेको छ। २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपमा लगातार उपाधि उचालेको टोलीले २०१० मा भएको विश्वकपमा पनि उपाधि जितेको थियो। तर दुई वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५–१ ले पराजित टोलीले दोस्रो खेलमा पनि चिलीलाई २–० ले नतिजा सुम्पिएको थियो। अन्तिम खेलमा अस्ट्रेलियामाथि ३–० को विजय हासिल गर्दै स्पेन पहिलो चरणबाटै बाहिरिएको थियो।

ब्राजिल विश्वकपमा इटाली पनि पहिलो चरणबाटै वाहिरिएको थियो। समुह चरणमा इङल्यान्डमाथि २–१ को विजय हासिल गर्दै प्रतियोगिता सुरुआत गरे पनि त्यसपछि कोस्टारिका र  उरुग्वेलाई १–० को समान अन्तरमा नतिजा सुम्पँदै टोली पहिलो चरणबाटै घर फर्किएको थियो।

प्रकाशित: १४ असार २०७३ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App