१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निजी क्याम्पसका विद्यार्थीको रजिस्ट्रेसन गरियो

चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय। तस्बिर:सविता/नागरिक

चितवन - कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले निजी क्याम्पसमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन गरेको छ। निजी क्याम्पसको सम्बन्धनबारे उत्पन्न विवादका कारण रजिस्ट्रेसनबारे अन्योल पैदा भएको थियो। विश्वविद्यालयले १ सय ३५ जना विद्यार्थीको रजिस्ट्रेशन गरेको रजिस्ट्रार मनराज कोलाक्षपतिले जानकारी दिए।

विश्वविद्यालयद्वारा अस्थायी सम्बन्धन दिइएका आठ क्याम्पसमध्ये सात क्याम्पसमा चारदेखि ३५ जनासम्म भर्ना भएकाले उनीहरूको रजिस्ट्रेसन गरिएको कोलाक्षपति बताउँछन्। गत वर्षको असारमा बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले सात जिल्लाका आठ निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो। जसमा झापाको पूर्वाञ्चल कृषि क्याम्पस, इटहरीको जीविका कृषि उद्यान कलेज, ललितपुरको भ्याली कृषि क्याम्पस, नवलपरासीको रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज, कोहलपुरको गोर्खा युनाईटेड पब्लिक स्कुल, सुर्खेतको ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस र नवलपुरको हिमछाया क्याम्पस पर्दछन्।

निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए। गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो। मन्त्रिपरिषद्बाट गरिएको सम्बन्धन खारेजीको निर्णयविरुद्ध निजी कलेज सञ्चालकहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए। मुद्दा अदालती प्रक्रियामै छ। विश्वविद्यालयले निजी क्याम्पसलाई अस्थायी सम्बन्धन दिइसकेपछि आन्दोलन, मन्त्रिपरिषद्को बैठकबाट सम्बन्धन खारेज भए पनि निजी क्याम्पसहरू अदालत गएपछि भएको अन्तरिम आदेशको विश्वविद्यालले पालन गरेको रजिस्ट्रार कोलाक्षपति बताउँछन्।

‘सम्बन्धनको निर्णय यथास्थितिमा राखी पहिलेकै अवस्थामा आउनू भन्ने अन्तरिम आदेश जारी भए पनि हामीले विद्यार्थी भर्ना गर्न दिएका थिएनौं,’ उनी भन्छन्, ‘विश्वविद्यालय र आंगिक क्याम्पसका लागि लिइएको प्रवेश परीक्षाका मेरिट लिस्टबाट विद्यार्थी भर्ना गरेर पढाइ सञ्चालन गरेका थिए।’

निजी क्याम्पसका लागि समेत भनेर विश्वविद्यालयले प्रवेश परीक्षा लिएको थिएन। क्याम्पसमा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेसन गराई पाऊँ भनेर निजीका सञ्चालकहरू अदालतमा पुगेपछि वैशाख १७ गते अदालतबाट भएको अन्तरिम आदेशअनुसार विद्यार्थीको रजिस्ट्रेसन गरिएको उनको भनाइ छ। अदालतको आदेशबाट भर्ना गरिएका विद्यार्थीको शैक्षिक क्रियाकलापमा कुनै अवरोध सिर्जना नगर्नू÷नगराउनू भन्ने आशयको आदेश आएको हुँदा सोहीअनुसार विश्वविद्यालय अघि बढेको उनको भनाइ छ। गैंडाकोटको हिमछायाले भने विद्यार्थी भर्ना नगरेको बताइएको छ।

विश्वविद्यालयका उपप्राध्यपक एवं नेपाल राष्ट्रिय प्राध्यापक संघ, रामपुर एकाइका कोषाध्यक्ष होमनाथ गिरी सम्बन्धन दिने सम्बन्धमा सुदेखि नै आमविद्यार्थी, प्राध्यापक विरोधमै रहेको बताउँछन्। सम्बन्धन दिँदा नै प्रक्रिया मिचेर दिएकाले विद्यार्थी र प्राध्यापकको विश्वविद्यालयको निर्णयप्रति विरोध कायम रहेको उनको भनाइ छ। ‘विश्वविद्यालयले गलत गरिराखेको छ, सुरुमा भर्ना खुलाउँदा निजी क्याम्पसलाई पनि भर्ना लिस्टबाट गरिनेछ भन्ने सूचना निकालिएको थियो,’ उनी भन्छन्, ‘सम्बन्धनको प्रक्रिया नटुंगिँदै, मुद्दाको किनारा नलाग्दै निकालिएको सूचनालाई अर्को सूचना निकाले रद्द गरियो अनि विश्वविद्यालय र आंगिक क्याम्पसका लागि मात्र भर्ना खुलाइयो।’

यसरी विश्वविद्यालय पटकपटक निर्णयबाट पछि हट्दै अगाडि जाने गरेको उनको आरोप छ। निजी क्याम्पसहरूमा कुनलाई कति विद्यार्थी भर्ना गर्न पाउने अनि कक्षा सञ्चालनका लागि विश्वविद्यालयबाट स्वीकृति नदिँदै विश्वविद्यालयहरूले आफूखुसी भर्ना गरेको उनको भनाइ छ। विश्वविद्यालयले आधिकारिक होइन भन्ने धारणा पनि सार्वजनिक गरिसकेको उनी बताउँछन्।

प्रकाशित: २१ असार २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App