१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

यान (चीन) - नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटीबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजित एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख काइहुइ सङले संयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरा प्रमुख नरुलालले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराए। साथै उनले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको र अझै यस क्षेत्रमा काम गर्न बाँकी रहेको बताए। यान सिटी र घोराही उपमहानगर बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उनले अपेक्षा राखे। 'हामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछ', उनले भने।

कार्यक्रममा यान सिटिका मेयर जिन जाउले यान सिटीको विशेषता बताए। उनले पानी, माछा, चिया, पाण्डाका लागि यान प्रसिद्ध रहेको बताए। यहाँको विशेषतः पर्यावरण राम्रो रहेको भन्दै उनले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताए। उनले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता जनाए। उनले प्रदेश ५ र घोराहीको पर्यटकीय भिजिट गर्न सक्ने बताए। 

नेपाल भिजिट गर्न निमन्त्रणा

यसैबीच कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चीनसँग बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताए। आजभन्दा ७ सय वर्ष पहिले चिनिया मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उनले चीनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने बताए।

उनले चीन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने समेत बताए। नेपाल र चीनको दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने मुख्यमन्त्री पोख्रेलले अपेक्षा गरे। नेपालका प्रधानमन्त्री केपी ओलीले पनि यहीँ मान्यता राखेको भन्दै उनले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिए।

सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ तथा प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायतको सहभागिता छ।

मंगलबार प्रदेश नम्बर ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो। भ्रमण टोली सिचुवानपछि गोइझाउ प्रान्तको भ्रमण गरेर स्वदेश फर्कनेछ।

प्रकाशित: १९ असार २०७६ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App