२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

काठमाडौं—भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि सरकारले तामझामका साथ तयारी गरेको छ। तीन दिने नेपाल भ्रमणमा केही समयपछि आइपुग्न लागेका भारतीय राष्ट्र प्रमुखको स्वागतमासरकारले बुधबार सार्वजनिक विदा समेत घोषणा गरेको छ।

सरकारले स्वागतको भव्य तयारी गरे पनि सर्वसाधारणले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा स्वागत छैन भन्ने सन्देश सामाजिक सञ्जालमा फैलाइरहेका छन्। बुधबार बिहान ११ नबज्दै ट्विटरमा ‘भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत छैन’  ह्यासट्याग ट्रेन्डिङ गरिरहेको छ।

कतिपयले कालो झन्डाभित्र 'लम्पसारदिवस' राखेका छन्। कतिपयले ब्याकअफ इन्डियाको पोष्टर पोष्ट गरेका छन्।

नाकाबन्दी सम्झेर विरोध

सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘आजीवन सताएर एक दिन असल छिमेकी बनेको नाटक गर्ने भारतीय कुटनीति’ भन्दै चर्को आलोचना गरेका छन्। विरोध गर्ने अधिकांशले ट्विटर र फेसबुकमा भारतले नेपाली राजनीतिमा गर्दैआएको हस्तक्षेप तथा गत वर्ष लगाएको नाकाबन्दीलाई सम्झेका छन्।

लेनिन बन्जाडे ट्विटरमा लेख्छन्, ‘हाम्रा नेता अधिकारबिहीन राष्ट्रपति सामु त यसरी लम्पसार पर्छन, एशिया हाँक्न खोज्ने मोदीसाुम कति लत्रिँदा हुन्।’

खिम बिक्रम पन्थी आफूलाई भारतीय र चिनियाँ राष्ट्रपति दुवैलाई स्वागत गर्न मन नभएको बताउँछन्। ‘पहिले माओवादी समर्थक थिएँ भन्न लाज लाग्यो। भो मलाई भारतीय र चिनियाँ राष्ट्रपतिहरुलाई स्वागत गर्नु छैन’, उनले लेखेका छन्।

कतिपयले नाकाबन्दीका कारण तेल अभाव हुँदाको सवारी साधनको लाइन तथा रित्ता सिलिन्डर समेत ट्विटरमा पोष्ट गर्दै राष्ट्रपति मुखर्जीलाई स्वागत नरहेको उल्लेख गरेका छन्।

राजनीतिक सामाजिक विषयमा ट्विट गर्ने जादु२४ ह्यान्डलले लेखेको छ,  ‘पाहुनाको स्वागत गर्न म छ। तर हामीलाई भूकम्पले सिध्याउँदा उल्टो नाकाबन्दी लगाउनेलाई कसरी स्वागत गरौं।’

सुजनचन्द्र पौडेल लेख्छन्, ‘भूकम्पले भत्किएका घरहरु पुननिर्माण हुनेछन् तर नाकाबन्दीले कुडिएका मनहरु फर्किने छैनन्।’

कतिपयले भारतीय राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर ह्यान्डललाई मेन्सन गरेरै विरोध जनाएका छन्।

मूलधारका मिडियाको विरोध

सामाजिक सञ्जाल प्रयोगकर्ताले मूलधारका मिडिया समेत भारतसँगको सम्बन्धलाई लिएर राष्ट्रवादी हुन नसकेको भन्दै विरोध जनाएका छन्। राष्ट्रिय स्वाभिमानबारे मिडिया चुप रहेको भन्दै उनीहरुले आलोचना गरेका हुन्। ‘मिडियावालाहरुले नाकाबन्दीको क्षतिपूर्ति पाइसके जस्तो लाग्यो। मुखर्जीको खुबै गुणगान गरेको देखियो’, एकजना ट्विटर प्रयोगकर्ता हिप्पी कान्छाले लेखेका छन्।

भारतीय राष्ट्रपति अाउने दिन सार्वजनिक विदा दिने निर्णयकै सामाजिक सञ्जालबाट चर्को अालोचना भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा विरोध हुँदैमा निर्णय परिवर्तन नहुने बताएका थिए। परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले सामाजिक सञ्जालमा विरोध गर्नु अनुपयुक्त भनेका थिए।

प्रकाशित: १७ कार्तिक २०७३ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App