१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लोकबाजा संग्रहालय भत्काइँदै

काठमाडौं - त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको सत्तल काठको टेको लगाएर अड्याइएको छ। हेर्दा दयनीय देखिने सत्तलमा झुण्डाइएको बोर्डमा लेखिएको छ, ‘नेपाली लोकबाजा संग्रहालय’। नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ६५० प्रकारका बाजाहरूको अध्ययनको लागि महत्वपूर्ण मानिने संग्रहालय गुठी संस्थानले भत्काउने भएको छ।

२५ वर्षको लागि गुठीले काठमाडौं विश्वविद्यालयलाई मन्दिर परिसरको सत्तल क्षेत्र भाडामा दिएपछि संग्रहालय भत्काइने भएको छ। गुठी संस्थानमातहत रहेको उक्त सत्तल संग्रहालयले विसं.२०७१ सालमा सम्झौता गरेर पाँच वर्षको लागि लिजमा लिएको थियो। गुठीले संग्रहालयसँग गरेको सम्झौतालाई वेवास्ता गरेर विसं.२०७२ सालमा काठमाडौं विश्वविद्यालयसँग २५ वर्षे लिजको सम्झौता गरेको थियो। गुठी संस्थान र बाजा संग्रहालयबीच केही वर्षयता सत्तल छाड्ने कि भाडा करार थप्ने भन्ने विवाद भइरहेको थियो ।

नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कडेंलका अनुसार गुठी संस्थानले आफूलाई थाहै नदिई संग्रहालय भएको सत्तलसहितको क्षेत्र काठमाडौं विश्वविद्यालयलाई २५ वर्षको लागि लिजमा दिएको बताए। ‘संग्रहालयले गरेको लिज सम्झौतालाई वेवास्ता गरेर गुठी संस्थानले हामीलाई जानकारी नगराईकन काठमाडौं विश्वविद्यालयलाई यो क्षेत्र लिजमा दिएको रहेछ, ’ उनले भने,‘ नेपाल प्रहरीले लोक बाजा हटाउनुपर्ने दवाव दिएपछि संग्रहालय बन्द हुने अवस्थामा पुगेको हो।’ संग्रहालयले गुठी संस्थाानलाई विसं २०६४ सालबाट मासिक ६५ सय रुपैयाँ भाडा तिर्दै आएको जानकारी उनले गराए।

गुठीले काठमाडौं विश्वविद्यालयलाई लिजमा सत्तल क्षेत्र दिने सम्झौता गरेलगत्तै संग्रहालयले २०७४ मा काठमाडौं जिल्ला अदालतमा करार थप्नको लागि मुद्दा दर्ता गरिएको थियो । गत महिना अदालतले प्रमाण अपुग ठहर गरेको थियो । संग्रहालयमा पाँच मुखे बाजा, सनहाई र ४० हजार घण्टाभन्दा बढीको ‘एनालग रेकर्डिङ’ राखिएका छन्।  संग्रहालयले नेपालको विभिन्न समुदायहरूको सांस्कृतिक गीतहरू समेटिएर सीडी समेत निकालेको थियो।

संग्रहालयले हरेक वर्ष लोकसंगीत अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गरिरहेको थियो। उनका अनुसार गुठी संस्थान र नेपाल प्रहरीले पटक–पटक आएर सत्तलको छानो झिक्ने भन्दै हस्तक्षेप गरिरहेको बताए। ‘गुठी संस्थान विश्वविद्यालय र प्रहरीको आडमा आएर हामी र हाम्रा गतिविधिहरूमा हस्तक्षेप गरिरहेको छ। संग्रहालयमा भएका बाजाहरू व्यवस्थापन गर्न असहज भइरहेको छ,’उनले भने।

संग्रहालयमा नेपाली बाजासम्बन्धी विभिन्न समुदायको प्रतिनिधित्व गर्ने बाजाहरू, पुस्तक, अडियो र भिडियोहरू सुरक्षित राखिएका छन्। नेपाल सरकारले आउँदो वर्षको बजेटमा नेपाली लोकबाजाको संरक्षणको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ। उनका अनुसार नाचघर, त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय संग्रहालय बाजाहरू राख्न पहल भइरहेको बताए।

गुठी संस्थानका सूचना अधिकारी सरोज थपलियाका अनुसार संग्रहालयलाई लिजमा लिएको म्याद गत वैशाखमा सकिएपछि जीर्ण सत्तल मर्मतको कारण खाली गर्न भनेपनि सम्बन्धितहरूले वेवास्ता गरेको बताउँछन्। ‘संग्रहालयलाई दिएको पाँच वर्षको म्याद गत वैशाखमा सकिएको हो। जीर्ण अवस्थामा रहेको सत्तल मर्मत गर्नुपर्ने भएकाले हामीले पटक–पटक संग्रहालय सार्न आग्रह गरिरहेका छौं,’उनले भने, ‘काठमाडौं विश्वविद्यालयले लिजमा लिएर सत्तल पुननिर्माण गरिदिने भएको हो।’

 

प्रकाशित: १९ असार २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App