१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भएका गायक राईलाई बुधबार दिक्तेलमा आयोजित दोस्रो नगर दिवसको अवसरमा एक लाख राशीको नगर वर्ष व्यक्ती पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो। 

नगरपालिकाभित्रै जन्मिएर गीत÷संगीतका माध्यमबाट स्वदेश तथा बिदेशमा नगरपालिकाको नाम र प्रतिष्ठा फैलाउनमा योगदान पु¥याएकामा गायक राईलाई पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। गायक राईको अनुपस्थिति भएका कारण अन्य अवसर पारेर सम्मान प्रदान गरिने नगरपालिकाले जनाएको छ। ‘नगर दिवसमै उहाँ (राजेशपायल)लाई सम्मान प्रदान गर्ने भनेका थियौँ। तर कार्यव्यस्तताका कारण उहाँ आउन सक्नु भएन’, मेयर रिजालले भने, ‘नगरपालिकाको अन्य महत्वपूर्ण कार्यक्रमको अवसर पारेर यो पुरस्कार प्रदान गर्ने छौं।’ 

सामाजिक, शैक्षिक, कला, साहित्य, संगीत लगायतका क्षेत्रमा विशेष योगदान पु-याउने एक व्यक्तिलाई हरेक नगर दिवसमा प्रदान गर्ने गरी नगरपालिकाले २०७५ सालमा नगर वर्ष व्यक्ति पुरस्कार स्थापना गरेको हो। पहिलो नगर दिवसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका शिक्षासेबी इमानसिं राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गरिएको थियो। 

यसैबीच, १५ वडा रहेको नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायीक बिद्यालयलाई प्रदान गरिने ५० हजार राशीको उत्कृष्ट विद्यालयको पुरस्कार पञ्च माबि दिक्तेललाई, ५० हजार राशीकै उत्कृष्ट प्रअको पुरस्कार सरस्वती माबि दिक्तेलका प्रअ ध्यानबहादुर राईलाई, ५० हजार राशीकै उत्कृष्ट कर्मचारी पुरस्कार अधिकृत छैठौं मोहनप्रसाद आचार्यलाई प्रदान गरेको छ। यस्तै, २५ हजार राशीको उत्कृष्ट उद्यमी पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाचिउरीडाँडाका दुनोट उद्योगी अशोक राईलाई, २५ हजार राशीकै उत्कृष्ट उपभोक्ता समिति पुरस्कार साप्सुधाप पर्यटन प्रवद्र्धन उपभोक्ता समिति निर्मलीडाँडालाई, २५ हजार राशीकै उत्कृष्ट टोल विकास समिति पुरस्कार टोल बिकास समिति बैंकचोक दिक्तेललाई प्रदान गरिएको छ। 

यस्तै, नगरपालिकाभित्रका सामुदायीक बिद्यालयमध्येबाट एसइईमा ३.५ जिपिए ल्याएर उत्तिर्ण हुने सरस्वती माबि दिक्तेलकी छात्रा सारा राई र सोही बिद्यालयबाट ३.४ जिपिए ल्याएर उत्तिर्ण हुने सरोज दाहाल, कृषितर्फ एसइईमा ३.६ जिपिए ल्याएर उत्तिर्ण भएका पञ्च माबि दिक्तेलका विनोद आचार्य र भुवन ढकाललाई जनही ५÷५ हजार रकमका साथमा पुरस्कृत गरिएको छ। यस्तै, कक्षा ८ को नगरस्तरिय परिक्षामा उत्कृष्ट अंक ल्याउने सरस्वती माबिकी छात्रा सुम्निमा राई र पञ्च माबिका छात्र प्रज्वल आचार्यलाई पनि जनही ५ हजारले पुरस्कृत गरिएको छ। पुरस्कार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, पुर्वसभाषद पिके राई, समिता कार्की, नेकपाका प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी धिरेन, नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, नेकपा नेता कुमार आचार्य, कांग्रेस नेता सुमनबाबु आचार्य, समाजबादीका टिकाराम राई लगायतले हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा उपमेयर बिणादेबी राईले आर्थिक वर्ष २०७५÷०७६ को प्रगति र उपलब्धिका बारेमा जानकारी दिएकी थिइन्। 

प्रकाशित: १८ असार २०७६ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App