१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

ईन्दुशंकर चिनी उद्योग छेउमै गरिएको परवल खेती । तस्बिर : टंक/नागरिक

सर्लाही– सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग छेउछाउका अधिकांश जमिन परवल खेतीले भरिभराउ छ। छेउमै चिनी उद्योग रहेपनि विगत केही वर्षयता क्रमशः उखु मास्दै किसानहरु परवल खेतीतर्फ आकर्षित बन्दै गएका छन्। केहीवर्ष अघिसम्म वरिपरीका जमिनमा उखु खेतीले घेराउ हुने ईन्दुशंकर केही वर्षयता परवलको लहराले जेलिन थालेको छ।

चिनी उद्योगलाई उखु दिँदा भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने र लागतको तुलनामा न्यून मुल्य पाइने भएपछि किसानहरु क्रमशः उखु खेती छाडेर परवल खेतीतर्फ आकर्षित भएका हुन्। त्यस्तै उखुको तुलनामा परवल खेतीबाट निकै बढी आम्दानी हुने भएपछि उक्त खेतीतर्फ किसानको लगाव बढ्दै गएको छ। 

किसानले उखुको मुल्य तय गर्न संघर्ष गर्नुपर्ने, भुक्तानीका लागि बर्षौं कुर्नुपर्ने लगायत समस्या खेप्नु परिरहेको छ। उखु खेती गरेर वर्षौं भुक्तानी रोकिने लगायत समस्या खेप्नु भन्दा परवल खेतीमा हप्तै पिच्छे नगद पाइने भएपछि उक्त खेतीतर्फ आकर्षण बढेको किसानहरुले बताएका छन्। 

उत्तरी क्षेत्रका अधिकांश किसानहरुले उखु खर्चिलो र झन्झटिलो खेती भएकाले पनि परवल खेतीमा आकर्षण बढेको बताएका छन्। किसानहरुका अनुसार बैशाख देखि कात्तिक सम्म प्रत्येक हप्ता परवल बेचेर विगहाको २५ हजार नगद आम्दानी हुने गरेको छ। ‘उखु खेती झन्झटिलो र खर्चिलो छ, उखु बेचेको पैसा पनि किसानले समयमा पाउँदैनन्, तर परवलमा यो समस्या छैन’, हरिवन नगरपालिका–११ चिनिमेलको पूर्वी गेटमै घर भएका शम्भु भण्डारीले भने, ‘उखुको मुल्य तय गर्न संघर्ष गर्नुपर्ने अनि मुल्य तय भएपनि भुक्तानीका लागि बर्षौं कुर्नु भन्दा परवल खेतीमा हप्तै पिच्छे नगद पाइरहेका छौं।’ 

किसानले उब्जाएको फसल व्यापारीले खरिद गर्न खेतमै पुग्न थाले पछि यस क्षेत्रका किसान परवल खेतीमा थप आकर्षित भएका छन्। अन्य खेतीमा खर्च र मजदुर बढी लाग्ने तर परवल खेतीमा घरका महिलाले पनि गर्न सक्ने भएकाले यो खेती सजिलो भएको स्थानीय याङ्ग्रमाया लामाले बताइन्। ‘अन्य खेतीमा पटक पटक खन जोत गर्नु पर्दा महिलालाई समस्या हुन्छ तर साउन–भदौमा लगाएको परवल समान्य गोडमेल गरेर बैशाखदेखि टिप्न सुरु गर्छु’, उनले भनिन्, ‘परवल खरिद गर्ने ब्यापारी खेतमै आउने गरेकाले बेच्न कुनै समस्या हँुदैन, हामी घरका महिलाले पनि यो सबै कामहरु गर्न सक्छौं।’ बैशाख देखि मंसिर सम्म आम्दानी लिन सकिने भएकोले परवल खेति दिन दिनै फस्टाउदै गएको उनले बताइन्। 

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली पनि क्रमशः उखु खेतीबाट किसान विस्थापित हुँदै गएको बताउँछन्। ‘मुल्य तयमै किचलो हुने तथा भुक्तानी लिन वर्षौं कुर्नुपर्ने भएपछि किसानले उखु खेतीको विकल्प खोज्न थालेका छन्’, उनले भने, ‘उत्तरी क्षेत्रमा परवल लगायत तरकारी खेती तथा दक्षिणी क्षेत्रमा धान, मकै लगायत खेतीतर्फ किसान आकर्षित भएका छन्।’ 

राजमार्ग आसपासका बलौटे दोमट माटोमा अन्य बाली भन्दा परवल सप्रिन थाले पछि एक दशक यता परवल खेती गर्नेको संख्या दिनप्रतिदिन बढदै गएको छ। सर्लाहीको उत्तरी क्षेत्र परवल खेतीको लागि उपयुक्त मानिएको छ। जिल्लाको हरिवन, लालवन्दी, बरहथवा, बागमती लगायतका ठाउूमा अन्य खेति छोडेर किसानहरु परवल खेतीमा केन्द्रित हुन थालेका छन्। यस अतिरिक्त जिल्लाको लखनदेहि, चापिनि खोला र बागमती नदीको उत्तर देखि दक्षिण क्षेत्रसम्मको वगरमा परवल खेति हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

यस क्षेत्रमा उत्पादन भएको परवल काठमाडौं, पोखरा, बुटवल, बिरगञ्ज, जनकपुर, बिराटनगर खपत हुदै आएको छ। व्यापारीहरुले खेतमा नै गएर परवल खरिद गर्न थाले पछि किसानलाई बजारको चिन्ता छैन। हरिवन, नवलपुर, लालबन्दी, बयलवास र बरहथवामा  खुद्रारुपमा पनि परवल बिक्री हुने गर्छ। जिल्लामा पछिल्लो समय झण्डै ५०० विगाह भन्दा बढी क्षेत्रफलमा परवल खेती हुने गरेको जानकारहरु बताउँछन्।

प्रकाशित: १८ असार २०७६ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App