१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

रसुवा – पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक वर्ष ०७५/७६ सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो।

यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र थप अध्ययन गर्ने योजना थियो। तर दुवै काम सुरु नै भएन। नेपाली सेनामार्फत गर्ने योजना अघि सारेको भए पनि समय अभावका कारण काम हुन नसकेको प्रदेश ३ अन्तर्गत रहेका पर्यटन विकास आयोजनाले जनाएको छ।

सेनासँग समन्वय गरेको भए पनि ढिलो भएपछि प्रक्रिया अघि नबढेको आयोजना प्रमुख राजु क्षेत्रीले बताए। आयोजनाको डिपिआर बन्न नसक्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ। यो वर्ष काम हुन नसके पनि प्रदेश सरकारले आगामी आव ०७६/७७ का लागि फेरि तीन करोड विनियोजन गरेको छ।

‘यसका लागि पर्याप्त बजेट विनियोजन भएको थियो,’ उनले भने, अन्योलबीच रकम खर्च हुन सकेन।’ आयोजनाअन्तर्गत सञ्चालन गर्न लागिएको अन्य ४२ योजनाको भने डिपिआर तयार भएको छ।

पासलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि ५० करोड लाग्ने अनुमान छ। पहिलो चरणमा अध्ययन गरिने उनले बताए। अध्ययनपछि पासको अवस्था हेरेर अप्ठेरो ठाउँमा डोरी टाङ्ने, रड राख्नेलगायतको काम गरिने छ। यो बहुवर्षीय योजनामा राखिएको छ। पहिलो चरणमा वारपार गर्न सकिने गरी अस्थायी किसिमको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

यस क्षेत्रमा बाह्रै महिना हिउँ जम्ने भएकाले काम गर्न सहज नहुने होटल व्यवसायी निशान गजुरेलले बताए। भूकम्पका कारण पहिरोले क्षति गरेपछि गन्जला पास गर्न सकिएको छैन। रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ।

गन्जला पास पार गर्न चाहनेले खाना र बासको व्यवस्थापन आफैंले गर्नुपर्ने हुन्छ। गन्जला पास पाँच हजार दुई सय मिटर उचाइमा पर्छ। लाङटाङ जाने एक हजार पर्यटक मध्ये १५ जना गन्जला पास गर्ने होटल व्यवसायी गजुरेलको भनाइ छ। 

गन्जला पास गर्दा समूहमा जानुपर्छ। जोखिमपूर्ण यात्रा भएकाले एक्लै जान नहुने पर्यटन व्यवसायी बताउँछन्। प्रदेश ३ सरकारले आगामी आवका लागि पनि रसुवाको पर्यटनको विकास र प्रवद्र्धनका लागि विभिन्न योजना अघि सारेको छ।

प्रकाशित: १६ असार २०७६ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App