१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साहिन साह अफ्रिदीको आशालाग्दो बलिङ

लिड्स – पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्। तर जे जतिमा उनले अवसर पाए, त्यसमा आफूलाई प्रमाणित गर्न सफल भए। यस विश्वकपमा साहिन साह अफ्रिदीले खेलेका तीनै खेलमा विकेटविहीन हुनु परेन।

१९ वर्षे तीव्र गतिका बलर अफ्रिदी हरेक पटक टोलीले दिएको जिम्मेवारीमा खरो उत्रिए छन्। पाकिस्तानले शनिबार आठौं खेलअन्तर्गत अफगानिस्तानसँग खेल्दै छ। उक्त खेलमा पाकिस्तानको तीव्र गतिको बलिङ जिम्मेवारी मोहम्मद आमिरसँगै उनीमा पनि थपिनेछ। गत खेलमा आमिर विकेट लिए पनि महंगा साबित हुँदा अफ्रिदीले निकै किफायती बलिङ गर्दै खर्चिलो रनलाई परिपुर्ती गरेका थिए।

अफ्रिदीकै उत्कृष्ट प्रदर्शनप्रेरित पाकिस्तानले अपराजित बनिरहेको न्युजिल्यान्डलाई यस विश्वकपमा पहिलो हार चखाएको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका अफ्रिदीले महत्वपूर्ण तीन विकेट निकालेका थिए। त्यस क्रममा उनले न्युजिल्यान्डका ओपनर कोलिन मुनरोका साथै रोस टेलर र टम लाथमलाई सस्तैमा पवेलियनको बाटो देखाए।

१० ओभर बलिङ गरेका अफ्रिदीले तीन मेडन राख्दै २८ रन मात्र खर्चिंदा न्यजिल्यान्ड कम योगफलमा समेटिएको थियो। त्यसअघिका दुई खेलमा पनि उनले विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध उनले एक विकेट निकाल्दा पाकिस्तानले जित रच्यो। उक्त खेलमा डेविड मिलरलाई क्लिन बोल्ड गरेका अफ्रिदीले आठ ओभरमा ५४ रन खर्चिएका थिए।

अस्ट्रेलियासँगको खेलमा १० ओभर बलिङ गरेका अफ्रिदीले २ विकेट लिएका थिए। उक्त खेलमा भने उनी महंगा साबित भए। इङ्ल्यान्ड र भारतसँगको खेलमा भने उनी टोलीमा पर्न असफल भए। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन। अफ्रिदीले सन् २०१८ को एसिया कपमा अफगानिस्तानविरुद्धकै खेलबाट डेब्यु गरेका थिए।

उक्त खेलमा उनले दुई विकेट लिएका थिए। यस बीच १७ एकदिवसीय क्रिकेट खेलेका अफ्रिदीले ३० विकेट लिँदै आफूलाई उदीयमान बलरको रूपमा स्थापित गरेका छन्। शनिबार पनि अफगानिस्तानसँगको खेलमा अफ्रिदीले पुरानै लयलाई निरन्तरता दिँदै उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन्।

प्रकाशित: १४ असार २०७६ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App