१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गर या मरको अवस्थामा श्रीलंका

लन्डन – सेमिफाइलन प्रवेशको गणितीय सम्भावनाका लागि भए पनि गर या मरको अवस्थामा रहेको श्रीलंकाले शुक्रबार प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा हुनेछ। दक्षिण अफ्रिका सुखद नतिजा निकाल्दै प्रतियोगितामा बाँकी खेल अन्त्य गर्न चाहन्छ।

६ खेल खेल्दा २ मा जित, २ मा पराजय र दुई खेल वर्षाका कारण अंक बाँडको श्रीलंका आफ्ना पाका र अनुभवी खेलाडीसहित बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग जितको खोजीमा हुनेछ। जित निकाल्दा सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई गणितीय आशा हुनेछ। त्यसैले श्रीलंकालाई प्रतियोगिताबाट बाहिरिएको दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्ने रणनीतिको विकल्प छैन।

आफ्नो छैटाैं खेलमा आयोजक इङ्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै मनोबल बटुलेको श्रीलंका शुक्रबारको खेलमा पनि निरन्तरता दिने योजनामा छ। बलियो दक्षिण अफ्रिकासामु श्रीलंकाको बलिङ मुख्य हतियार हुनेछ। यसका अलावा ब्याटिङ पनि अघिल्लो खेल इङ्ल्यान्डविरुद्ध गरेजस्तै दोहो-याएको खण्डमा श्रीलंकाको जित असम्भव छैन। एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, डेभिड डी सिल्भाजस्ता अनुभवी ब्याट्सम्यानले श्रीलंकन टोली मजबुत छ। उनीहरूले जिम्मेवार प्रदर्शन गरे दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्न सहज हुनेछ। यद्यपि दक्षिण अफ्रिकाका बलरको चुनौती सामना गर्नु श्रीलंकन ब्याट्सम्यानलाई कठिन हुनेछ। इमरान ताहिर, क्रिस मोरिस, कागिसो राबाडाजस्ता बलरको बलिङ जारी विश्वकपमा निकै किफायती देखिएको छ।

दक्षिण अफ्रिका पनि श्रीलंकासँग कुनै दबाबबिना मैदान उत्रिनेछ। सेमिफाइनल यात्राबाट बाहिरिसकेको दक्षिण अफ्रिका प्रतिष्ठाका लागि भिड्दा जितको खोजीमा हुनेछ। सात खेलमध्ये १ खेलमा जित र ५ खेल गुमाएको दक्षिण अफ्रिकाले एक खेल वर्षाका कारण अंक बाँडेको थियो। जारी विश्वकपमा दुई खेल मात्र बाँकी रहँदा दुवै खेलमा सुखद अन्त्यको खोजीमा छ। त्यसका लागि दक्षिण अफ्रिका आक्रामक शैलीमा खेल्ने निश्चित प्राय छ।

भारतको सबैभन्दा प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) मा चम्किने  खेलाडीले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न नसके पनि शुक्रबार भने राम्रो प्रदर्शन गर्न दबाब हुनेछ। सुखद अन्त्य दक्षिण अफ्रिकाका लागि अपरिहार्य छ। अघिल्लो खेलमा बेहोरेको हारलाई मेटाउन पनि जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिकाका लागि हासिम अमला, फाप डु प्लेसिस, क्विटन डी कक, अलराउन्डर जेपी डुमिनीजस्ता ब्याट्सम्यानलाई रोक्नु श्रीलंकाका पाका खेलाडीलाई निकै चुनौती छ। इङ्ल्यान्डसँगको खेलमा १० ओभर बलिङ गर्दै सर्वाधिक ४ विकेट लिएका लासिथ मालिङ्गाको उत्कृष्ट लयको आशा शुक्रबार पनि श्रीलंकन टोलीमा रहनेछ। लासिथपछि श्रीलंकन टोलीका लागि सुरंगा लकमल, नुवान प्रदीप, जेफ्रे भान्डरसेजस्ता बलरलाई सामना गर्नु दक्षिण अफ्रिकालाई त्यति सहज छैन। पाका र अनुभवी खेलाडी भएकाले उनीहरूले विपक्षी दक्षिण अफ्रिकाका खेलाडीलाई झुक्याउन सहज र किफायती बलिङ गर्न सहज हुनेछ।

विश्वकप इतिहासमा श्रीलंका र दक्षिण अफ्रिकाले ५ पटक प्रतिस्पर्धा गरेका छन्। सर्वाधिक ३ पटक दक्षिण अफ्रिकाले जित निकाल्दा एक खेलमा श्रीलंकाले बाजी मारेको छ। एक खेल बराबरीमा सकिएको छ। १९९२ मा मात्र जित निकालेको श्रीलंकाले त्यसयताका कुनै पनि भेटमा दक्षिण अफ्रिकालाई हराउन सकेको छैन। त्यसैले श्रीलंका अघिल्लो चरणको यात्रालाई जीवन्त र दक्षिण अफ्रिकासँगको हारको अन्तरलाई कम गराउन जितको खोजीमा हुनेछ।

प्रकाशित: १३ असार २०७६ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App