१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गमा १२ पुल थप्नुपर्ने

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार खोलामा निर्माणाधीन पक्की पुल। तस्बिरः नागरिक

उदयपुर – साविक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक लोकमार्ग भई हाल मदन भण्डारी लोकमार्गमा परिणत राष्ट्रिय गौरवको आयोजनामा १२ वटा पुल थप्नुपर्ने भएको छ। उदयपुर खण्डमा मात्र चारवटा नयाँ पुल बनाउनुपर्ने छ भने धरान–चतारा खण्डमा एक र उदयपुरको बसाहा–सिन्धुलीको भीमान खण्डमा ११ वटा थप्नुपर्ने भएको छ।

सडक निर्माण गर्दैै जाँदा सुरुको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छुट्न गएको गाईघाट–बेलटार खण्डका विभिन्न खोला खहरेमा १२ वटा थप पुल निर्माण गर्नुपर्ने देखिएको हो। उदयपुर खण्डमा भने त्रियुगा नगरपालिका–११, गाईघाटदेखि छिमेकी चौदण्डीगढी नगरपालिका–४, बसाहासम्मको ३० किलोमिटर खण्डमा चारवटा आरसिसी पुल थप बनाउन लोकमार्ग कार्यालयले सम्बन्धित निकायसँग माग गरेको छ।

सुरुको सर्भेमा पुल आवश्यक नदेखिएकाले डिपिआरमा नपरेका चौदण्डीगढी–४ को लामा खोला, चौदण्डीगढी–९ का ज्यामिरे र खैराहाझोडा तथा त्रियुगा–१३ को असारी खोलामा थप पुल बनाउनुपर्ने भएको हो। ती ठाउँमा कम्तीमा ५० मिटरदेखि एक सय ५० मिटरसम्म लामो पुल बनाउनुपर्ने भएकाले मन्त्रालयसँग आवश्यक कागजसहित प्रक्रिया अघि बढाइएको लोकमार्ग कार्यालय प्रमुख ललिजन खनालले बताए। सडक निर्माणाधीन क्रममा पुल नबनाई नहुने देखिएपछि थप पुल बनाउन विभाग हुँदै मन्त्रालयमा आवश्यक प्रक्रिया अघि बढाइएको छ।

सडक निर्माण गर्दैै जाँदा सुरुको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छुट्न गएको गाईघाट–बेलटार खण्डका विभिन्न खोला खहरेमा १२ वटा थप पुल निर्माण गर्नुपर्ने देखिएको हो।

हेर्दा सामान्य लाग्ने खहरेहरू वर्षायाममा आउने बाढीले आवागमन अवरुद्ध हुने हुँदा ती खहरेमा पक्की पुल बनाउनैपर्ने बाध्यता आइलागेको लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर गोविन्द दुमरुले बताए। १० वर्षअघि वैकल्पिक लोकमार्ग बनाउन सर्भे गर्दा सामान्य ठानिएका खहरेहरूमा वर्षायाममा सडकै अवरुद्ध हुने गरी बाढी आउने भएकाले पुल बनाउनुपर्ने भएको उनले बताए। उनका अनुसार सडक कालोपत्रे गर्न थालेपछि मात्र ती खहरेहरूमा पुल बनाउनुपर्ने आवश्यकता महसुस भएपछि कार्यालयले विभाग र मन्त्रालयमा पुल थप्न माग गरेको हो।

चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले सुरुमै पुल बनाउने गरी इस्टिमेट गर्नुपर्नेमा त्यसबेला सम्बन्धित निकायको ध्यान नजाँदा अहिले आएर पुल थप्नुपर्ने अवस्था आएको बताए। उनले सडक धमाधम कालोपत्रे गर्दै लाँदा चारवटा खहरेमा पुल थप्नुपर्ने देखेर सडक विभागलाई थप पुलका लागि आग्रह गरेको बताए।

थप पुल बनाउन चालू आर्थिक वर्षमा सर्भे मात्र गरिने र आगामी वर्ष मात्र लागत इस्टिमेट तयार गरी निर्माण प्रक्रिया अघि बढाइने लोकमार्ग कार्यालय प्रमुख खनालले बताए। गाईघाट–बेलटार २० किलोमिटर खण्डभित्र तीनवटा र बेलटारदेखि बसाहासम्मको १० किलोमिटरभित्रको लामा खोलामा अर्को एउटा पक्की पुल बनाउने गरी आगामी वर्षको बजेट माग गर्ने कार्यालयले जनाएको छ। ती चार ठाउँमा पुलका लागि २६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

सुनसरीको धरानदेखि उदयपुर सिमाना चतारास्थित सप्तकोसी हुँदै गाईघाट–कटारी–सिन्धुली–हेटौंडा तीन सय ११ किलोमिटर लामो तत्कालीन वैकल्पिक लोकमार्ग निर्माणाधीन छ। चालू आर्थिक वर्ष ‘मदन भण्डारी लोकमार्ग’मा परिणत भएको सो योजनाअन्तर्गत बनाउनुपर्ने ४३ पुलमध्ये ३४ वटा सम्पन्न भइसकेका छन्। बाँकी ९ वटा निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर दुमरुले जानकारी दिए। उनका अनुसार तीन अर्ब ८५ करोड ९० लाख रुपैयाँ लागतमा पुल बनाउने जिम्मा कोभेक–खिम्ती–रसुवा जेभीले लिएको र जेभीमध्ये रसुवाले पुल बनाउने काम गरिरहेको छ। निर्माणाधीन र सम्पन्न गरी पुलको काम ७६ प्रतिशत सकिएको र दुई अर्ब ९० करोड भुक्तानी भइसकेको दुमरुले बताए।

असारभित्रै बाँकी पुलमध्ये पाँचवटा सकिनेछन् भने चारवटा केही समयपछि मात्र सकिने छ। कटारी नगरपालिका–६, रिस्कुस्थित वैद्यनाथ खोला, रिस्कुकै तावा, त्रियुगा नगरपालिका–९ का शाही र सरस्वती खोला र त्रियुगा–१३ को भातीखर्कको पुल अन्तिम चरणमा पुगेको छ। चौदण्डीगढी–३ को बसाहा र ९ को देवधारका दुई पुल भने भर्खर पिल्लर गाडिसकिएको कार्यालयले जनाएको छ। वैकल्पिक लोकमार्ग मदन भण्डारीमा परिणत भएसँगै पूर्वतर्फ झापाको बाहुनडाँगीदेखि पश्चिम डडेल्धुरासम्म विस्तार हुन लागेको छ।

मदन भण्डारी लोकमार्ग निर्देशनालय ललितपुरका सुपरिटेण्डेन्ट इन्जिनियर उमेशविन्दु श्रेष्ठले धरान–हेटौंडा तीन सय ११ किलोमिटर लम्बाइबाट एक हजार दुई सय किलोमिटरमा विस्तार हुन लागेको बताए। झापा बाहुनडाँगीदेखि डडेल्धुराको रुपालसम्म जोड्ने लोकमार्गको थप कामको सर्भे अन्तिम चरणमा पुगेको उनले बताए।

लोकमार्गको धरानदेखि ४३ किलोमिटर पश्चिम बसाहासम्म अघिल्लो वर्ष कालिका कन्स्ट्रक्सनले कालोपत्रे गरिसकेको छ भने बसाहादेखि ९ किलोमिटर पश्चिम बेलटार–गाईघाट–कटारी खण्डमा चालू वर्ष कालोपत्रेको काम हुँदैछ।

उदयपुर खण्डको एक सय १३ किलोमिटरमध्ये यो वर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिइएको निर्माणको जिम्मा पाएको जेडआइइसी÷शर्मा÷लामा जेभीले जनाएको छ। ६ अर्ब रुपैयाँ लागतमा निर्माण सुरु काम २०७७ कात्तिक मसान्तभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको जेभीका परियोजना उपप्र्रबन्धक (डिपिएम) सीताराम दाहालले बताए। दाहालका अनुसार हालसम्म सडकको ६० प्रतिशत काम सम्पन्न भइसकेको र तीन अर्ब भुक्तानीसमेत लिइसकिएको छ।

प्रकाशित: १० असार २०७६ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App